coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पूर्वाधार निर्माण तीव्र

पोखरा रंगशालाको निर्माणाधीन फुटबल मैदान। यतिबेला फुटबल मैदानको जमिन सम्याउने काम चलिरहेको छ। यहाँ सुविधायुक्त प्यारापिटसहित फुटबल मैदान बनाउन थालिएको छ। तस्बिरः उमेश/नागरिक

पोखरा–पोखरा रंगशालाभित्र फुटबल मैदान बन्दै छ। एथलेटिक्सका लागि सिन्थेटिक ट्र्याकसमेत निर्माण गरिने भएको छ। फुटबल मैदान र एथलेटिक ट्र्याक असारभित्र बनिसक्ने जनाइएको छ। कागजी सम्झौताले त्यही भनेको छ। व्यवहारतः भने फरक पाटो रह्यो।

भलिबलका लागि बहुउद्देश्यीय कभर्डहल छँदै छ। फुटबल मैदान, एथलेटिक ट्र्याक र कभर्डहलमा अर्को वर्षको पुसमा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका खेलहरू सञ्चालन गरिनेछन्। फुटबलसहित एथलेटिक ट्र्याक भने खास गरी साग गेम्सका लागि निर्माण गरिँदै छ। कभर्डहल पनि साग गेम्सकै खेल सञ्चालन गर्ने गरी बनाइएको हो।

सागका लागि बनाइएको पूर्वाधारले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका इभेन्टहरू खेलाउन सहज हुने विश्वास छ। नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि आठौंमा झैं ३५ खेल समावेश गरिनेछ। आयोजकले नयाँ खेल प्रस्ताव गर्न पाउने अधिकारसमेत रहन्छ।

फुटबल मैदान र एथलेटिक ट्र्याकका लागि एक अर्ब २७ करोडमा निर्माण सम्पन्न गर्ने गरी जिम्मेवारी दिइसकिएको छ। नेपाली र भारतीय कम्पनीले संयुक्त रूपमा काम गरिरहेका छन्। बहुउद्देश्यीय कभर्डहल पनि १६ करोडभन्दा बढीको लागतमा तयार गरिएको हो। खाली बनाउन बाँकी साउन्ड सिस्टम, सिट र पार्केटिङ हाल्ने काम छ।

त्यसका लागि राष्ट्रिय खेलकुद परिषद्ले व्यवस्थापन गर्दै आएको छ। फुटबल मैदानका लागि युवा तथा खेलुकद मन्त्रालयमार्फत परिषद्ले अनुगमन गरिरहेको छ। ती पूर्वाधारबाहेक नवौं राष्ट्रिय खेलकुदका लागि पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले ५१ करोड ३० लाख रुपैयाँको प्रारम्भिक बजेट प्रस्ताव गरेको छ।

‘पूर्वाधार बनाउनुपर्ने र भएका पूर्वाधारलाई मर्मत–सम्भार तथा स्तरोन्नति गर्नका लागि ५१ करोड ३० लाखको बजेट प्रस्ताव गरेका छौं,’ पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले भने, ‘प्रस्ताव गरिएको बजेटले काम गर्दै जाँदा नपुग्न पनि सक्छ। यो त केवल सामान्य रूपमा अनुमानकै भरमा गरिएको प्रस्तावित बजेट हो।’ निर्माण गर्नुपर्ने केही पूर्वाधारलाई आगामी आर्थिक वर्षदेखि बजेट निकासा भए काम सुरु गर्ने समितिको योजना छ। प्रस्ताव गरिएको बजेटमा सबैभन्दा बढी स्विमिङ पुलका लागि छ।

पूर्वाधार बनाउनुपर्ने र भएका पूर्वाधारलाई मर्मत–सम्भार तथा स्तरोन्नति गर्नका लागि ५१ करोड ३० लाखको बजेट प्रस्ताव गरिएको छ।


स्विमिङ पुल बनाउन ४० प्रस्ताव पेस गरिएका छन्। पोखरा रंगशालाभित्रै निर्माणका लागि पोखरा रंगशाला गुरुयोजना बनाउँदा नै जग्गा छुट्ट्याइएको छ। आगामी आर्थिक वर्षको साउनमै बजेट निकासा नभए निर्माण पूरा गर्न कठिनाइ हुने उनको भनाइ छ। ‘टेन्डर आह्वान गरी, कम्पनी छनोट गरेर टुग्याउँदा समय गएको मेसो नै हुँदैन,’ उनले भने, ‘त्यसैले अर्को आर्थिक वर्षभित्रमा निर्माण पूरा गर्न सकिए खेलाडीले प्रशिक्षणसमेत त्यही स्विमिङमा गर्ने अवसर पाउँथे।’

ब्याडमिन्टन कभर्डहलका लागि दुई करोड प्रस्ताव गरिएको छ। ब्याडमिन्टनको हल भने पोखराभन्दा बाहिर अन्य जिल्लामा निर्माण गरिनेछ। स्क्वासका लागि एक करोड ५० लाख छ। पोखरा रंगशालाभित्रै स्क्वासको कोर्ट निर्माणाधीन छ। त्यसलाई पूरा गरेर राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्ने योजना खेलकुद विकास समितिको छ।

क्रिकेटका लागि ९५ लाख, सुटिङका लागि ९० लाख, आर्चरीका लागि ९० लाख रुपैयाँ प्रस्ताव गरिएको छ। बक्सिङ र तेक्वान्दोका लागि क्रमशः ३५ र ४० लाख रुपैयाँ प्रस्ताव गरिएको छ। बक्सिङका लागि रिङ र तेक्वान्दोका लागि एरिना  म्याट राखेर) निर्माण गर्नुपर्ने हुन्छ। कराँतेका लागि पनि ३५ लाख नै छ। टेबल टेनिसका लागि ३० लाख रुपैयाँ छ। पोखरामा टेबल टेनिस बोर्डको अभाव छ। आठौं छनोट चरणका खेल सञ्चालनमा भने परिषद्भन्दा निजी संस्थाका बोर्ड प्रयोग गरिएको थियो। बास्केटबलका लागि पनि खेलकुदले ३० लाख रुपैयाँ नै प्रस्ताव गरेको छ।

सेपाक ताक्रोका लागि ४० लाख रुपैयाँ बजेट प्रस्ताव गरिएको छ। खो खोका लागि ३० लाख, जुडो, आइटिएफ तेक्वान्दो, हक्की, प्याराग्लाइडिङ र ट्रायथलनका लागि २०/२० लाख रुपैयाँ प्रस्ताव गरिएको समितिले जनाएको छ।

त्यस्तै, भारोत्तोलन, उसु, लन टेनिस र गल्फका लागि १५/१५ लाख रुपैयाँ प्रस्ताव गरिएको समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले जानकारी दिए। कबड्डी, कुस्ती, बुद्धिचाल, ह्याण्डबल, जिमन्यास्टिक, साइक्लिङ, फेन्सिङका खेलहरूलाई भने १०÷१० लाख रुपैयाँ रहेको छ। गल्फको भने पोखरामा आवश्यक पूर्वाधार छ। पोखरा रंगशालाभित्रै ब्याडमिन्टनको कभर्डहल पनि संघकै पहलमा निर्माणाधीन छ। तर त्यसका लागि भने बजेट छुट्ट्याइएको छैन। परिषद्ले एक करोड १० लाख रुपैयाँ ब्याडमिन्टन हलका लागि उपलब्ध गराइसकेको छ।

लन टेनिसका लागि पनि परिषद्ले गत वर्ष नै टेन्डर आह्वान गरी भौतिक पूवार्धारसहित हार्ड कोर्ट, क्ले कोर्ट निर्माण अघि बढाएको थियो। तर अहिले भने काम रोकिएको छ। चेन्जिङ रुम, फिडब्याक रुम, शौचालयसहितको भौतिक संरचना निर्माणकै क्रममा स्थगित हुन पुगेको छ। बर्सेनि सामानको मूल्यमा हुने वृद्धिले पूर्वाधार निर्माणमा लगानी अझ बढ्न सक्ने अनुमान गरिएको छ।

प्रकाशित: २७ वैशाख २०७६ ०७:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App