coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

भलिबल प्रतियोगिता आयोजना गरिने

म्याङलुङ नगरपालिकाको निर्माणाधीन रिङरोड। तस्बिरः भगिश्वर/नागरिक

इलाम–सदरमुकामको ठूलो टुँडिखेलमा डेढ लाख रुपैयाँ पुरस्कार राशिको भलिबल प्रतियोगिता आयोजना गरिने भएको छ। आउँदो २६ देखि २९ गतेसम्म पूर्वमै ताप्लेजुङपछि ठूलो पुरस्कार राशि भएको प्रतियोगिता सञ्चालन गर्न लागिएको हो।

जिल्ला भलिबल संघले आयोजना गर्ने प्रतियोगितामा १० टिम सहभागी हुनेछन्। यीमध्ये ८ टिमको प्रतियोगितामा आउने निधो भइसकेको र २ टिमको सहभागिता निश्चित हुन बाँकी रहेको आयोजकले जनाएको छ। आयोजक संघले शनिबार सदरमुकाममा पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगिताबारे जानकारी दिएको छ। ‘प्रतियोगिताको तयारी धमाधम भइरहेको छ,’ संघ अध्यक्ष डाकप्रसाद गौतमले भने, ‘आयोजनाका लागि रकम संकलन, मैदान, होटल व्यवस्थापन, टिमसँग सम्पर्कलगायतका काम भइरहेका छन्।’

प्रतियोगितामा १ नम्बर प्रदेशस्तरीय टिम, नेपाल प्रहरी, बिर्तामोड, झापा, ताप्लेजुङ, पश्चिमाञ्चल, आयोजक र भारत सिलिगुडीको टिमसमेत सहभागी हुने निश्चित भएको छ। ‘नेपाली सेना र सशस्त्र प्रहरीसँग कुरा भइरहेको छ, उनीहरूको सहभागिता निश्चित हुन बाँकी छ,’ संघका सचिव माधव सुवेदीले भने, ‘टिममा राष्ट्रिय टिमका खेलाडीसमेत सहभागी हुने भएकाले प्रतियोगिता निकै रोचक र आकर्षक हुने आशा छ।’ प्रतियोगिताका विजयी टिमले नगद १ लाख ५१ हजार र उपविजेताले ८१ हजार रुपैयाँ पाउनेछन्।

फुटबल, क्रिकेट र बुद्धिचालजस्ता प्रतियोगिता सदरमुकाम र गाउँ–गाउँमा आयोजना भइरहेपनि भलिबलका ठूला प्रतियोगिता शून्यजस्तै छन्। भलिबल खेलको विकासका लागि प्रतियोगिता आयोजना गर्न पनि निकै चुनौती रहेको उनले बताए। ‘फुटबल, क्रिकेटजस्ता प्रतियोगिताबारे सबैलाई चासो छ, दाताहरूसमेत भलिबल भनेपछि अलि चासो नगर्नेखालका हुँदारहेछन्,’ अध्यक्ष गौतमले भने, ‘तर, भलिबल खेलको विकास गर्नु जरुरी भएकाले हामी प्रतियोगिता सञ्चालन गर्न प्रतिबद्ध छौं।’ उनले प्रतियोगिताका लागि दाताहरूलाई अनुरोध गर्दा पनि दर्शक कम हुने भन्दै उनीहरूले धेरै चासो नदिएको गुनासोसमेत गरे।

बेस्ट अफ् फाइभमा खेलाइने खेलका लागि राष्ट्रिय निर्णायक ल्याउने आयोजकले जनाएको छ। सहभागी खेलाडीलाई प्रतियोगिता अवधिभर खाने–बस्ने व्यवस्था गरेपनि अन्य खर्च आयोजकले नगर्ने संघले जनाएको छ। ‘प्रतियोगितामा १४ लाख रुपैयाँ खर्च हुने अनुमान छ,’ संघका सचिव सुवेदीले भने, ‘पहिलो पटक आयोजना गर्न लागिएको प्रतियोगिता भएकाले बाहिरी जिल्लाका खेलाडी र टिमलाई खाने–बस्नेबाहेक अन्य सुविधा दिन नसक्ने अवस्था छ।’ उनले भलिबलप्रति जिल्लाबासीलाई जागरुक गर्न प्रतियोगिता आयोजना गर्नुपरेको बताए।

विजेताको पुरस्कार इलाम नगरपालिकास्थित नगर खेलकुद विकास प्रतिष्ठान र उपविजेताको पुरस्कार रकम सन्दकपुर गाउँपालिकाले उपलब्ध गराउने उनले जनाए। प्रतियोगिताको उद्घाटन आउँदो २६ गते इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले गर्ने र २९ गते फाइनल हुने आयोजकले जनाएको छ। खेल तालिका चाहिँ आउँदो २४ गते मात्र सार्वजनिक गर्ने अध्यक्ष गौतमले बताए।

प्रकाशित: २२ वैशाख २०७६ ०५:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App