८ वैशाख २०८१ शनिबार
खेल

दुवै प्रहरी समूहविजेता

काठमाडौं–  विभागीय टोलीद्वय सशस्त्र प्रहरी बलको एपिएफ र नेपाल पुलिस क्लब जारी पाँचौं केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगितामा समूह विजेताका रूपमा सेमिफाइनलमा स्थान बनाउन सफल भएका छन्।

शेरबहादुर खड्का स्मृति प्रतिष्ठानद्वारा लगनखेलस्थित नेपाली सेनाको तालिम तथा प्रशिक्षण केन्द्रको कभर्डहलमा आयोजित प्रतियोगितामा समूहका दुई खेल नै जित्दै एपिएफ  ‘ए’ को  र पुलिस ‘बी’ को विजेताको रूपमा आइतबार सेमिफाइनलमा पुग्न सफल भएका हुन्। त्रिभुवन आर्मी क्लब ‘ए’ को र होङ्गान्जी न्यु डायमन्ड क्लब ‘बी’ को उपविजेता हुँदै सेमिफाइनलमा स्थान बनाउन सफल भए।

सोमबार हुने पहिलो सेमिफाइनलमा समूह ‘ए’ को विजेता एपिएफले समूह ‘बी’ को उपविजेता न्यु डायमन्डसँग तथा दोस्रो सेमिफाइनलमा समूह ‘बी’ को विजेता पुलिसले  ‘ए’ को उपविजेता आर्मीसँग प्रतिस्पर्धा गर्नेछ। एपिएफले आइतबार नै समूहका दुवै खेल जित्दै शतप्रतिशत नतिजा निकाल्ने क्रममा आर्मी र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई हराएको थियो। सरस्वती चौधरीले उत्कृष्ट प्रदर्शन गरेपछि एपिएफले आफ्नो पहिलो खेलमा आर्मीमाथि ३–२ को संघर्षपूर्ण जित निकाल्यो।

पहिलो सेट एपिएफले २५–१४ ले सहजै आफ्नो बनाए पनि दोस्रो सेटमा आर्मीले २५–२२ ले बाजी मार्दै बराबरीको स्थितिमा ल्यायो। निकै रोमाञ्चक बनेको तेस्रो सेटमा एपिएफले २५–२३ ले पुनः अग्रता बनायो। तर, आर्मीले चौथो सेट २५–२० ले सहजै आफ्नो बनाउँदै निर्णायक सेटतर्फ धकेल्यो।

यद्यपि, पाँचौं सेटमा आर्मीले १५–१५ ले हार बेहोरेपछि एपिएफलाई नतिजा सुम्पियो। दोस्रो खेलमा नेबिका चौधरीको १४ र पूजा चौधरीको १३ स्कोरको मद्दतमा एपिएफले जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमाथि ३–० को सोझो सेटमा जित निकाल्दै समूहमा शतप्रतिशत जित निकाल्यो। एपिएफले २५–५,२५–१२ र २५–१३ को सोझो सेटमा हरायो।

त्यस्तै समूह ‘बी’ को अन्तिम खेलमा पश्चिमाञ्चललाई २५–१६,२५–८ र २५–२२ को सोझो सेटमा हराउँदै पुलिस समूहविजेता बन्यो। साबिक विजेता एपिएफ, आर्मी र जावलाखेल भलिबल प्रशिक्षण केन्द्र समूह ‘ए’ मा तथा नेपाल पुलिस, होङ्गान्जी न्यु डायमन्ड र पश्चिमाञ्चल समूह ‘बी’ मा छन्। प्रतियोगिताको विजेताले २ लाख, उपविजेताले १ लाख, तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ नगद प्राप्त गर्नेछन्।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडी र शेरबहादुर खड्का स्पेसल अवार्ड विजेताले जनही १५/१५ हजार प्राप्त गर्नेछन्। विधागत उत्कृष्टतर्फ स्पाइकर, सेटर, ब्लक, डिफेन्स, क्विकर, सर्भर र कोचले जनही ५ हजार रुपैयाँ नगद प्राप्त गर्नेछन्। वुमन अफ दी म्याचलाई नगद ५ हजार रुपैयाँसहित आकर्षक ट्रफीले पुरस्कृत गर्ने आयोजकले जनाएको छ।

प्रतियोगितामा शीर्ष तीन स्थान प्राप्त गर्ने टोलीका खेलाडी, प्रशिक्षक, व्यवस्थापक र अन्य ३ टिमका प्रशिक्षक, कप्तान र व्यवस्थापकका लागि फाइनल खेलपश्चात् अन्नपूर्ण होटलले रात्रिभोजको सौजन्य गरेको छ। खेलाडीलाई प्रोत्साहनस्वरूप प्रतियोगिताको सर्वोकृष्ट खेलाडी र शेरबहादुर खड्का स्मृति स्पेसल अवार्ड विजेतालाई सुलक्स सेन्टरबाट ३० हजार रुपैयाँबराबरको टिसट घडी प्रदान गरिनेछ।

दरबार मार्गस्थित द रिगल इंकले प्रथम हुने टिमका सम्पूर्ण सदस्यलाई करिब ५ लाखबराबरको १५ थान सुट पिस प्रायोजन गरेको छ। प्रतियोगिताको उदीयमान खेलाडी तथा शेरबहादुर खड्का स्पेसल अवार्ड विजेता खेलाडीद्वयले बुद्ध एयरबाट सौजन्य गरिएको माउन्टेन फ्लाइट टिकट प्राप्त गर्नेछन्।

एपिएफले आइतबार नै समूहका दुवै खेल जित्दै शतप्रतिशत नतिजा निकाल्ने क्रममा आर्मी र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई हराएको थियो।

प्रकाशित: १६ वैशाख २०७६ ०४:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App