coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

जर्सी फेरियो लक्ष्य फेरिएन

बाँके - खजुराको निर्माणाधीन भलिबल कोर्ट। जहाँ आठौं राष्ट्रिय महिला भलिबलमा प्रतिस्पर्धा गर्न त्रिभुवन आर्मी र प्रदेश नम्बर ३ का खेलाडी तयारी गर्दै थिए। खेल्नुअघि कोर्टबाहिर केहीबेर अभ्यास चल्यो। अभ्यासका बेला एउटा खेलाडी दर्शकका आँखामा छाइरहेकी थिइन्। दर्शकको ध्यान तानेको थियो उनको केटाकै जस्तो छोटो कपालले। अन्य खेलाडीलाई स्पाइक गर्न हौसला दिइरहने उनी हुन्, कृपा अधिकारी।

पहेंलो रंगको ४ नम्बर जर्सी लगाएकी कृपाका लागि शनिबारको खेल करियरकै पृथक् थियो। उनले खेल्ने जर्सीको रंग फेरियो। आफूले रोजेको मन पर्ने जर्सी नम्बर पनि फेरियो। पहिलो घरेलु भलिबलमा न्यु डायमन्ड एकेडेमीबाट खेल्दा उनले २ नम्बर जर्सीमा खेल्थिन्। तर अहिले उनको रोजाइमा ४ नम्बर जर्सी परेको छ।

कुनै बेला सँगै खेल्ने साथी अहिले विपक्षी हुन् उनका। उनलाई भलिबल उठाउन, हान्न सिकाउने प्रशिक्षक पनि फेरिए। कृपाका प्रिय प्रशिक्षक कुमार राई विपक्षी कोर्टको नेतृत्वकर्ता हुनेछन्। अबको साथमा हुनेछन् घरेलु भलिबलमा सर्वाधिक उपाधि जित्ने कपिलकिशोर श्रेष्ठ।
शनिबार कृपा आफ्ना पुराना साथीविरुद्ध खेल्दै थिइन्। तर खेल्नुअघि उनले विपक्षी कोर्टका आफ्ना साथी प्रतिभा माली, पनमिका राई, कप्तान दिदी ललिता नाथसँग खुसी हुँदै कुरा गरिन्। कहिलेकाहीं आफू डायमन्डमै भएको जस्तो लाग्ने बताउँछिन् कृपा। उनले भनिन्,‘वर्षौंदेखि आफू खेलेको टिम। कोर्ट खेल्दा उतै छु जस्तो लाग्छ। यहाँ सबै नयाँ साथी छन्। उनीहरूको खेल्ने शैली थाहा पाउन केही समय लाग्छ। तर जुन टिमबाट खेल्यो त्यहींबाट जित्ने कोसिस गर्नुपर्छ।’

खेल सुरु भइसकेपछि भने कृपा आफ्नो टिमलाई जिताउने रणनीतिमा लागिन्। उनले भनिन्, ‘अब मेरो टिम आर्मी हो। आर्मीलाई जतिसक्दो छिटो च्याम्पियन बनाउने हो। खेल कोर्टमा हुन्छ। प्रतिस्पर्धा पनि कोर्टमा। कोर्टबाहिर त सबै मेरा साथी।’ नेपाली राष्ट्रिय टोलीकी कृपा ८ वर्षे न्यु डायमन्ड एकेडेमीको यात्रा टुङ्ग्याउँदै आर्मीमा आबद्ध भएकी हुन्। नेपाली राष्ट्रिय टोलीमा ‘कुल सेटर’ को परिचय बनाएकी छिन् उनले। व्यावसायिक धरातल कमजोर भएको घरेलु भलिबलमा कृपाले करियर सुरक्षित गर्न आर्मी क्लब रोजेकी हुन्। नेपाली भलिबलमा अभूतपूर्व यात्रा जारी राखेको न्यु डायमन्डकै अधिकांश खेलाडीले प्रदेश नम्बर ३ को नेतृत्व गर्दै आएका छन्। जहाँ कृपाले बाल्यकादेखि खेलेका साथी छन्। अब घरेलु भलिबलमा तिनै साथी कृपाका नियमित प्रतिद्वन्द्वी हुनेछन्।

कृपाले आफ्नो बाल्यकालको टोलीविरुद्ध दोस्रो पटक खेलेकी हुन्। गत वर्षदेखि सुरु भएको महिला लिग भलिबलमा डायमन्डले आर्मीलाई बेस्ट अफ फाइफमा (३–२ को सेट) हराएको थियो। शनिबार प्रदेश नम्बर ३ ले आर्मीलाई सहजै २५–२०, २५–२१,२५–१० ले पराजित ग¥यो।
समन्वय र अनुभवको कमीले आर्मीले सोचेजस्तो सफलता हासिल गर्न असफल भएको बुझाइ छ कृपाको। उनले थपिन्, ‘समन्वय अलि मिलेको छैन। अनुभवकको कमीले पनि होला। हाम्रो प्रशिक्षण राम्रो भइरहेको छ।

गुरुले मिहिनेत गरिरहनुभएको छ। अब छिटै राम्रो नतिजा आउँछ।’ न्यु डायमन्ड टोली घरेलु भलिबलमा विभागीय टोली नेपाल पुलिस क्लब, आर्मी र एपिएफलाई कडा चुनौती दिने एक मात्र टोली हो। न्यु डायमन्ड जहाँ जान्छ त्यहाँ घरेलु टोलीको साथ पाउँछ। नेपाली टोलीकी स्टार स्पाइकर प्रतिभा, क्विक स्पाइकर ललिता, कृपा, पनमिका मिल्ने साथी हुन्। उनको जीवनका अमूल्य यादहरू डायमन्डसँग जोडिएका छन्। डायमन्डको सफलतामा पनि उनको योगदान दरिलो छ। खेलसँगै पढाइमा अब्बल कृपाले करियरमा जति सफलता हासिल गरेकी छिन् ती सबै डायमन्डको जर्सीमा थिए। अब आर्मीको जर्सीमा च्याम्पियन बन्ने लक्ष्य छ उनको।

उनको सामु थपिएको छ नयाँ चुनौती। फेरिएको छ सहायक सेनानीको जिम्मेवारी। सपना नयाँ छन् कृपाका, करियरसँगै आर्मीलाई घरेलु भलिबलको च्याम्पियन बनाउने। कृपा भन्छिन्, ‘खेल्ने टोलीको जर्सी मात्र फेरिएको छ। च्याम्पियन हुने लक्ष्य बदलिएको छैन। म सधैं आफू खेल्ने टोलीलाई च्याम्पियन बनाउने कोसिस गर्छु।’

प्रकाशित: ९ वैशाख २०७६ ०२:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App