१६ चैत्र २०८० शुक्रबार
खेल

सुरु भएको आठ दिनपछि उद्घाटन

नेपालगन्ज – प्रदेश नम्बरको पाँचले आयोजनाको जिम्मा पाएको नेपाली खेलकुदको महाकुम्भ मेला आठौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन बिहीबार नेपालगन्ज रंगशालामा हुँदै छ।

दुई वर्षको अन्तरालपछि बृहत् राष्ट्रिय खेलकुदको आठौं संस्करण बिहीबार औपचारिक रूपले उद्घाटन हुँदै छ। निर्धारित दुई वर्षकै अन्तरालमा पाँचौं पटक राष्ट्रिय खेलकुद हुँदै छ। यसअघि पहिलो तीन संस्करणका साथै सातौं खेलकुद दुई वर्षमै सम्पन्न हुँदा आठौं संस्करणले पनि त्यसको निरन्तरता पायो।

वि.सं.२०३८ सालदेखिको इतिहास बोकेको बृहत् राष्ट्रिय खेलकुदको पछिल्ला संस्करण दुई वर्षकै अन्तरालमा सम्पन्न हुने भए पनि उद्घाटन समारोह खल्लो हुने भएको छ। यस पटकको राष्ट्रिय खेलकुदमा धेरै खेलाडी धमाधम स्वर्ण पदक जितेर घर  फर्किसकेका छन्। अहिलेसम्म २ सय ५१ वटा पदकको छिनोफानो भइसकेको छ।

८८ स्वर्ण, ८८ रजत र १ सय ५६ वटा कांस्य पदक जितेर खेलाडी आआफ्नो गन्तव्यतर्फ लागिसके पछि मात्र औपचारिक उद्घाटन हुँदै छ। कहीं पनि औपचारिक उद्घाटन नभई खेल धमाधम सुरु भएर पदक नै जितेर घर फर्किसक्ने अवस्था हुन्न। तर, यस पटक आठौं राष्ट्रिय खेलकुदमा सीमित खेलबाहेक प्रायः धेरै खेल सम्पन्न भइसकेका छन्।

यद्यपि, विधिवत् उद्घाटन भने खेल सञ्चालन भएको आठ दिनपश्चात् हुँदै छ। बुधबार एक कार्यक्रमको आयोजना गर्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पनि आफ्नो क्षमताअनुरूप तयारी पूरा भएको जनाउँदै भव्यताका साथ उद्घाटन गर्ने दाबी गरेको छ। उक्त समारोहमा अपराह्न ४ बजेदेखि दर्शकका लागि ढोका खुला गरिनेछ भने ५ः३० बजे आयोजना स्थलको सबै ढोका बन्द हुने राखेपले जनाएको छ।

६ बजे नेपाली सेनाले राष्ट्रप्रमुख विद्यादेवी भण्डारीलाई सलामी प्रदान गर्नेछ। त्यसपश्चात् राष्ट्रपतिले औपचारिक रूपमा शुभारम्भ भएको घोषणा गर्नेछिन्। त्यसपछि प्रदेश–१ स्थित विराटनगरबाट सुरु भएको ओलम्पियनसहितको टर्च ¥याली सातै प्रदेशको भ्रमण गरेर बेलुका उद्घाटन स्थल आइपुग्नेछन्। सोही ओलम्पिक टर्चलाई युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनारबाट नेपालगन्जवासीसमेत रहेका ओलम्पियन सुरेन्द्र हमाललाई प्रदान गरिनेछ।

उक्त टर्चलाई ओलम्पियन हमालले ओलम्पिक फ्लेममा प्रज्वलित गराउनेछन्। सोही समय भारतबाट नयाँ प्रविधिको प्रयोग गरी आतिसबाजीसमेत हुनेछ। त्यसपश्चात् यस संस्करणमा सहभागी टोलीका खेलाडीले मार्च पास गर्ने कार्यक्रम छ। २ घण्टा ३२ मिनेटको उद्घाटन समारोहमा नेपाली सेना, प्रहरी र सशस्त्र, स्थानीय विद्यार्थी र सहभागी खेलाडी गरी १५ सय जनाले आआफ्नो प्रस्तुति राख्नेछन्।
उद्घाटन समारोहमा नेपाली सेनाले खुकुरी ड्रिल, ५ सय विद्यार्थीले सामूहिक नृत्य, ३ सय ६० खेलाडीले सामूहिक प्रस्तुत राख्नेछन्। करिब ७ सय जनाले प्रदेश नम्बर–५ को सांस्कृतिक भेषभूषा, संस्कृति झल्कने झाँकी देखाउनेछन्। उक्त समारोह पाँच हजार समर्थकका साथै खेलाडी, प्रशिक्षक, निर्णायक र व्यवस्थापक गरी १० हजारले प्रत्यक्ष हेर्ने राखेपले जनाएको छ।

३५ खेल समावेश गरिएको आठौं खेलकुदमा ५ हजार २ सय ११ खेलाडी, ६ यस ४० प्रशिक्षक, ४ सय ६१ व्यवस्थापक र १३ सय ९३ निर्णायक गरी करिब १० हजारले  प्रत्यक्ष सहभागिता जनाउने आयोजकले दाबी गरेको छ। रंगशालाबाहिर पनि उद्घाटन समारोहको हेर्नका लागि ठूलो स्क्रिन राख्ने तयारी भएको राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव एवं आठौं राष्ट्रिय खेलकुदका प्रमुख केशककुमार विष्टले बताएका छन्।
यस पटक करिब १३ खेलका खेलाडीले उद्घाटन समारोहको प्रत्यक्ष रूपमा सहभागिता जनाउन पाउने छैनन्। राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले गत चैतदेखि खेल सञ्चालन गरेकाले करिब १३ खेलका खेलाडीले उद्घाटन समारोहमा उपस्थित हुने छैनन्। पर्याप्त मात्र आवश्यक

खेल स्थल र उद्घाटन हुने नेपालगञ्जमा रंगशाला निर्माण सम्पन्न नहुँदा उद्घाटनअगावै १३ खेल सकिएका छन्। आयोजनाको जिम्मा पाएको मध्यपश्चिमाञ्चल (हाल प्रदेश–५) मा स्क्वास, गल्फ, ट्रायथलन र प्याराग्लाइडिङ भने स्थान अभावका कारण त्यहाँ हुन सकेनन्। बाँकी ३१ खेल भने प्रदेश–५ कै जिल्ला दाङ, बर्दिया, बाँके र रूपन्देहीमा सञ्चालन भए र हुँदै छन्।

अभैm आवश्यक बजेटको अभाव
आठौं खेलकुदका कयौं खेलहरू सकिँदै उद्घाटन समारोहको दिनसम्म आइपुग्दा पनि बजेट अभाव देखिएको छ। युवा तथा खेलकुद मन्त्रालयले प्रभावकारी ढंगबाट काम नगर्दा उद्घाटन दिनसम्म पनि आठौंले पूर्ण बजेट पाउन नसकेको हो।

यसै कारण पनि कयौं खेलका सकिँदा राम्रो व्यवस्थापनको गुनासो आइरहेको छ। राखेपले पनि बुधबारको पत्रकार सम्मेलनमा बजेट अभाव भएको स्वीकार गरेको छ। राखेप सदस्यसचिव केशवकुमार विष्टले अझै पनि ११ करोड रुपैयाँ विनियोजन नभएको बताए। ‘हामीसँग भएका बजेटअनुरूप सक्दो प्रयास गरेका छौं,’ सदस्यसचिव विष्ट भने,‘बजेट अभाव अभैm विकराल छ। त्यसैले मितव्ययी रूपमा व्यवस्थापन गुर्नपरेको छ। बाँकी रकम पनि छिटै निकास हुने आशामा छौं।’ आठौं राष्ट्रिय खेलकुदका लागि राखेपले खेलकुद मन्त्रालयसँग ४८ करोड बजेट माग गरेको थियो।

तर मन्त्रालयले अर्थ मन्त्रालयसँग ४३ करोड रुपैयाँ बजेट सिफारिस गरेको थियो। प्रतियोगिता आयोजनालाई लिएर अर्थबाट ३२ करोड रुपैयाँ मात्र पास भयो। अर्थबाट अझै ११ करोड रुपैयाँ निकासा हुन बाँकी छ। जसको कारण खेल व्यवस्थापन प्रत्यक्ष असर परिरहेको छ।

कहीं पनि औपचारिक उद्घाटन नभई खेल धमाधम सुरु भएर पदक नै जितेर घर फर्किसक्ने अवस्था हुन्न। तर, यस पटक आठौं राष्ट्रिय खेलकुदमा सीमित खेलबाहेक प्रायः धेरै खेल सम्पन्न भइसकेका छन्।

 

 

प्रकाशित: ५ वैशाख २०७६ ०३:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App