coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

प्राथमिक उपचारको पनि व्यवस्था छैन

उद्घाटन कार्यक्रममा संघकी अध्यक्ष तुलसा थापालगायत । तस्बिर: निर्मल घिमिरे

बाँसगढी - जिल्लाको तीन ठाउँमा जारी आठौं राष्ट्रिय खेलकुदअन्तर्गतका खेलहरूको व्यवस्थापन पक्ष फितलो भएको छ । ग्रामीण क्षेत्रमा जारी कबड्डी प्रतिस्पर्धाको व्यवस्थापन फितलो भएको पाइएको हो । जिल्लाको बाँसगढी नगरपालिका–४ मगरपुरस्थित सामुदायिक वन फाँटमा निर्माणाधीन कभर्डहलमा आठौं राष्ट्रिय खेलकुदअन्तर्गत शनिबारदेखि कबड्डी प्रतिस्पर्धा जारी छ । शनिबार सुरु भएको उद्घाटन खेलमा विभागीय टोली पुलिसकी संगीता गौतम खुट्टामा चोट लागेर घाइते भइन् ।

पुलिसकै रितु गुरुङको हात भाँचियो । अर्को विभागीय टोली एपिएफका पदमबहादुर विष्टको आंैलामा गम्भीर चोट लाग्यो । चोटकै कारण विष्टको दाहिने हातको माझी औंला तल धसिएको छ । उनीहरूको उपचारका लागि आयोजकले कुनै तयारी  नगरेको खेलाडीको आरोप छ ।
आयोजकले प्राथामिक उपचारको व्यवस्थापन नगरेका कारण रेडक्रसका कर्मचारीले एम्बुलेन्सको व्यवस्था गरेर घाइतेलाई उपचारका लागि पठाए । पहिला जानकारी नभएकाले प्राथमिक उपचार हुन नसकेको रेडक्रसका स्थानीय सभापति गोविन्द शर्माले बताए । ‘हामीसँग पहिला कसैले समन्वयन गरेनन्,’ उनले भने, ‘समन्वय नभएका कारण पनि प्राथामिक उपचारसमेत ढिला भयो ।’

त्यति बेला उपचारका लागि बाहिर लैजान एम्बुलेन्स पनि थिएन । घटनाको जानकारी पाउनासाथ रेडक्रसका स्वयंसेवकले सवारीसाधन खोजेर उनीहरूलाई नेपालगन्ज पठाएका थिए । चर्को गर्मीमा पानी पर्याप्त नुहँदा खेलाडीलाई समस्या छ । यस्तै बाँसगढी बजारदेखि करिब ३ किलोमिटर दूरीमा रहेको कभर्डहलवरपर कुनै होटल, लज र स्वास्थ्य केन्द्र नै छैनन् । बिहान खेल सुरु गरेपछि उद्घाटन कार्यक्रम राखिएको खेलाडीले तीव्र असन्तुष्टि पोखेका थिए । अपराह्न ५ बजे विधिवत् खेलको उद्घाटनका क्रममा भने कबड्डी संघलगायतका पदाधिकारीको जमघट थियो । अधिकांश खेलाडीका अनुसार यातायात, बसोबासलगायत अत्यावश्यकीय पक्षमा राम्रो व्यवस्थापन छैन ।
आयोजकले सवारीसाधनको समेत राम्रो व्यवस्थापन नगरेको आरोप छ । खेलाडीलाई ल्याउन लैजानका लागि दुईवटा बस सेवा पर्याप्त नभएको खेलाडीको भनाइ छ । जसका कारण खेलाडीको अतिरिक्त खर्च भइरहेको छ । व्यवस्थापन र यातायात दृष्टिले दुर्गम मानिएको खेलस्थलमा कबड्डी खेल हेर्ने दर्शक संख्या पनि न्यून छ ।

कबड्डी संघकी अध्यक्ष तुलसा थापाले व्यवस्थापनमा कमजोरी भएको स्विकारिन् । ‘समिति र उपसमिति निर्माण गरेर व्यवस्थापन गरे पनि जिम्मेवारी कसले लिएको भन्ने जानकारी नहुँदा समस्या उत्पन्न भएको छ,’ उनले भनिन् । राष्ट्रिय खेलकुद परिषद्का सदस्य विनोद मैनालीले उद्घाटन खेलमा कमजोरी भएको बताए । कबड्डीका लागि सातवटै प्रदेश र विभागीय टोलीसहित २ सय ४० खेलाडी सहभागी छन् । शनिबार तीनवटा विभागीय टोली र प्रदेश–५,२ र ३ को प्रतिस्पर्धा भएको थियो ।

प्रकाशित: २ वैशाख २०७६ ०१:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App