७ वैशाख २०८१ शुक्रबार
खेल

बजेट र कार्यप्रगतिको जानकारी माग

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि निर्माणाधीन नेपालगन्ज रंगशाला। तस्बिर: नागरिक

नेपालगन्ज– नेपालगन्जमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी भइरहेका बेला पूर्वाधार निर्माणका लागि छुट्याइएको बजेट र निर्माण कार्यको प्रगतिबारे सत्यतथ्य जानकारी दिनुपर्ने माग गरिएको छ। जिल्ला प्रशासन कार्यालय बाँकेमार्फत सोमबार युवा तथा खेलकुद मन्त्रालयलाई ध्यानाकर्षण पत्र बुझाउँदै यहाँका वकिल, प्राध्यापक, पूर्वखेलाडी, अधिकारकर्मीलगायतले यस्तो माग गरेका हुन्। आसन्न प्रतियोगिता सम्पन्न गर्नमा आफूहरूको पूर्ण प्रतिबद्धता रहेको बताउँदै बजेट तथा निर्माण कार्यको प्रगतिका बारेमा जिल्लावासीलाई जानकारी दिने आयोजकको जिम्मेवारी हुँदाहँुदै पनि अहिलेसम्म जानकारी नगराएको उनीहरूको गुनासो छ।

ध्यानाकर्षण पत्रमा आठौं राष्ट्रिय खेलकुदको लागि निर्माणाधीन साइटमा सबै विवरणहरू खोलाई रंगीन फोटो, बजेट, काम सम्पन्न अवधिसमेत समावेश हुने सूचना बोर्ड तत्काल राख्नुपर्ने, प्रतियोगिता सम्पन्न हुनुपूर्व सम्पूर्ण भौतिक पूर्वाधारहरूको निर्माण हुनुपर्ने, प्रतियोगिताका लागि सम्पूर्ण गुणस्तरयुक्त संरचना वातावरणमैत्री, लैंगिक मैत्री, अपांगमैत्री तरिकाले निर्माण गर्नुपर्ने, नेपालगन्ज रंगशाला कभर्डहल परिसरमा अवस्थित हनुमान्जीको मन्दिरको प्राणप्रतिष्ठा गरी पूजापाठको व्यवस्थापन गर्नुपर्ने माग गरिएको छ।

यस्तै प्रतियोगितामा दर्शक, खेलाडी, खेलप्रेमीलगायत अन्य अतिथिको व्यवस्थापन, उचित सुरक्षा पार्किङको व्यवस्थापन गर्नुपर्ने, नेपालगन्ज रंगशालामा दीर्घकालीन खेलकुद कार्ययोजना बनाउनुपर्ने, दर्शक, अतिथि तथा खेलाडीलाई पुग्ने पर्याप्त शौचालय निर्माण हुनुपर्ने र खेलाडी तथा दर्शकको आपत्कालीन सुरक्षा व्यवस्थाको प्लानबारे जानकारी दिनुपर्ने माग उनीहरूले राखेका छन्।

ध्यानाकर्षण पत्रमा सुशासनका लागि नागरिक सञ्जालका तर्फबाट पूर्वप्राध्यापक चोलराज शर्मा, अधिवक्ताहरू विश्वजित तिवारी, बलबहादुर चन्द, सुदीपकुमार भट्टराई, प्रभाकर भट्टराई र वसन्तकुमार श्रेष्ठ, पूर्वखेलाडी लोकेन्द्र शाह, मोहम्मद अहमद अन्सारी, सुभाष सिंह श्रेष्ठ, सुनील मल्ल, सोम गुरुङ, राकेश मिश्र, शैलेन्द्रकुमार वैश्य, कृष्णप्रसाद अधिकारी र राजेश श्रेष्ठले हस्ताक्षर गरेका छन्।

प्रकाशित: २६ चैत्र २०७५ ०४:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App