७ वैशाख २०८१ शुक्रबार
खेल

भाजपाविरुद्ध मत हाल्न छ सय बढी कलाकारकाे आग्रह

संयुक्त विज्ञप्तिमा हस्ताक्षर गर्नेमध्येका कलकार नसिरुद्दिन शाह र रत्ना पाठक शाह । तस्बिर : एजेन्सी

नयाँ दिल्ली– आसन्न लोकसभा निर्वाचनका लागि भारतभरबाट विभिन्न खबर आइरहेका छन्।

यसैबीच बिहीबार छ सयभन्दा बढी कलाकारले एउटा संयुक्त विज्ञप्ति जारी गर्दै सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)लाई मत नदिन भनेको विषयले यतिबेला भारत मात्रै नभई विश्वको ध्यान खिचेको छ।

कुल ६१६ जना कलाकारले हस्ताक्षर गरेको सो विज्ञप्तिमा हस्ताक्षर गर्नेमा अमोल पालेकर, अनुराग कश्यप, डोली थाकोर, लिलिते डुबे, नसिरुद्दिन शाह, अभिषेक मजुमदार, अनमिका हक्सार, नाभतेज जोहर, एमे राइना, महेश दत्तानी, कोनकोना सेन शर्मा, रत्ना पाठक शाह र सन्जना कपुरलगायतका रहेका छन्।

उनीहरु अराष्ट्रवाद, घृणा र सरोकार नराख्ने व्यक्तिलाई शक्तिबाट बाहिर निकाल्ने गरी मतदान गर्न आममतदातालाई संयुक्त विज्ञप्तिमार्फत् अपिल गरेका छन्।

विज्ञप्तिमा ‘भाजपा र उसको गठबन्धनविरुद्ध मतदान गर्न’ मतदातासमक्ष आग्रह गरिएको  । कलाकारहरुले निरपेक्ष, प्रजातान्त्रिक र समावेशी भारतका लागि मतदान गर्न समेत आग्रह गरेका छन्। ‘कमजोरलाई सशक्तिकरण गर्न, स्वतन्त्रता संरक्षण गर्न , वातावरण संरक्षण गर्न र वैज्ञानिक सोचाइलाई बढाउनका लागि मतदान गर्न’ विज्ञप्तिमा भनिएको छ।

छ सय बढी कलाकारले जारी गरेको विज्ञप्ति विभिन्न १२ भाषामा प्रकाशित गरिएको छ।

संयुक्त विज्ञप्तिमा आसन्न मतदानहरु स्वतन्त्र भारतको इतिहासमै सबैभन्दा चुनौतीपूर्ण रहेको बताइएको छ। विकास दिन्छौं भनेर शक्तिमा आएको भारतीय जनता पार्टीले घृणा र हिंसाको राजनीति घुसाएर ‘हिन्दूत्वको ग्याङस्टारका लागि स्वतन्त्र शासन’ दिएको कलाकारले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ। ‘पाँच वर्षअघि देशको रक्षकका रूपमा दर्शाइएका व्यक्तिले उनको नीतिमार्फत् लाखौं मानिसका जीवन बर्बाद पारेका छन्,’ विज्ञप्तिमा भनिएको छ।

‘भारत भन्ने विचार’ अहिले संकटमा परेको कलाकारहरुको संयुक्त विज्ञप्तिमा भनिएको छ। ‘आज, गीत, नृत्य, हाँसो पनि संकटमा परेका छन्,’ कलाकारको विज्ञप्तिमा उल्लेख गरिएको छ। ‘आज हामीले सम्मान गर्ने संविधान पनि संकटमा छ। विचार र वादविवादलाई संरक्षण गर्नुपर्ने संस्थाहरु पनि अहिले मृत प्रायः छन्। झुटविरुद्ध बोल्दा र सत्य बोल्दा त्यसलाई अराष्ट्रवादीको संज्ञा दिने गरिएको विज्ञप्तिले भनेको छ।

कलाकारहरुले जनतालाई देशको संविधान रक्षा गर्न, भारतको धार्मिक स्वतन्त्रता रक्षा गर्न र अध्याँरो तथा जंगली प्रवृत्तिलाई पराजित गर्नका लागि मतदान गर्न पनि जनतासमक्ष विज्ञप्तिमार्फत् आह्वान गरेका छन्।

फिल्म निर्माता एवं लेखकहरुले पनि यस्तै खालको विज्ञप्तिहरु जारी गर्दै नागरिकलाई भाजपालाई शक्तिबाट बाहिर निकाल्न र घृणाको राजनीतिलाई हटाउनका लागि मतदान गर्न आह्वान गरेका छन्।

प्रकाशित: २४ चैत्र २०७५ ०५:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App