१६ चैत्र २०८० शुक्रबार
खेल

चौतारा साँगाचोकगढी मेयर कप : भगवती क्लब अन्तिम चारमा

चौताराको टुँडिखेलमा सेमिफाइलन प्रवेशका लागि शुक्रबार प्रतिस्पर्धा गर्दै ए डिभिजन क्लव भगवती (निलो) र सिन्धुपाल्चोक युथ क्लब।

सिन्धुपाल्चोक - श्री भगवती क्लब टोखा सिन्धुपाल्चोकको सर्वाधिक पुरस्कार राशिको दोस्रो चौतारा साँगाचोकगढी मेयरकप फुटबल प्रतियोगिताको अन्तिम चारमा स्थान बनाउन सफल भएको छ। 

सदरमुकाम चौताराको टुँडिखेलमा शुक्रबार भएको पहिलो क्वार्टरफाइनलमा घरेलु टोली सिन्धुपाल्चोक युथ क्लवलाई ट्राइवे्रकरमा ३–५ गोलले पाखा लगाउँदै भगवती सेमिफाइनल प्रवेश गरेको हो। निर्धारित समय १–१ गोलको बराबरीमा टुंगिएपछि खेल सीधै ट्राइब्रेकरमा पुगेको थियो। प्रतिस्पर्धात्मक खेलको दुवै गोल मध्यान्तरअघि भएको थियो। 

भगवतीका गोलरक्षक खेलको नायक बने। उनले सिन्धुका पेमानोर्बु लामाको पेनाल्टी रोक्दै टोलीलाई अन्तिम चारसम्म डोहो-याए। भगवतीका विदेशी खेलाडी केट्रिक अबा, उत्तमकुमार गुरुङ, मोहनबहादुर थापामगर, देब गुरुङ र साजन डंगोलले पेनाल्टीमा गोल गरे। सिन्धुका ईश्वर तामाङ, भीमबहादुर गुरुङ र मुस्कान घलेले मात्र गोल गर्न सके। 

प्रतिस्पर्धात्मक खेलको २० औँ मिनेटमा आत्माघाती गोलबाट भगवतीले अग्रता लिएको थियो। डिबक्स भित्र पुगेको बल क्लियर गर्न खोज्दा सिन्धुका भीमबहादुर गुरुङले आफ्नै पोस्टमा गोल छिराए। लगत्तै २५ औँ मिनेटमा बराबरी गोल फर्काउँदै इश्वर तामाङले सिन्धुलाई खेलमा फर्काउने प्रयास गरेका थिए। निर्धारित समयमा पटक–पटक गोल गर्ने अवसर चुकाउँदा दुबै टोलीले अग्रता बढाउने मौका गुमाएका थिए। 

खचाखच घरेलु दर्शकको साथमा मध्यान्तरपछि अझ सुधारिएको प्रर्दशन गरेको सिन्धु खेलको अन्तिम १० मिनेट १० खेलाडीमा समेटियो। दोहोरो पहेँलो कार्डको सामना गर्दै खेलको ७४ औँ मिनेटमा मनोज राई मैदानबाट बाहिरिएपछि सिन्धु दबाबमा परेको थियो। विपक्षी खेलाडीलाई फल गरेबापत पहेँलो कार्ड पाएका उनले सोही विषयमा म्याच रेफ्रीसँग बादबिवाद गरेका थिए। राष्ट्रिय यु–२३ का सदस्यसमेत रहेका म्यान अफ द म्याच नितिन थापा मगरले नगद तीन हजार पुरस्कार र ट्रफी पाए। ए डिभिजन क्वलको हैसियतमा सीधै बाई पाएर भगवती क्वार्टर फाइलन पुगेको थियो।

ए डिभिजन क्लव रानीपोखरी कर्नर टीम तथा विभागीय टोली त्रिभुवन आर्मी र सशस्त्र प्रहरीले सीधै बाई पाएर अन्तिम आठमा स्थान सुरक्षित गरिसकेका छन्। त्यस्तै बी डिभिजन क्लव क्षमादेवी प्लानिङ ब्याइज पेप्सीकोला, सामाजिक विकास कोटेश्वर र मध्यपुर युथ एसोसियसनले क्वाटर फाइनल यात्रा तय गरिसकेका छन्।

चौतारा साँगाचोकगढी नगरपालिकाको आर्थिक सहयोग र तोप–२१ चौताराको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिताको बिजेताले ट्रफीका साथमा नगद पाँच लाख पाँच हजार रुपैयाँ पुरस्कार पाउने छ। साथै विजेता टोलीका खेलाडहरुलाई मायाबीच रिसोर्ट सुकुटेको प्रायोजनमा एक रात बासको प्याकेजसहित सुनकोसी नदीमा ¥याफ्टिङ गराउने आयोजकले बताएका छन्। उपविजेताले नगद दुई लाख पाँच हजार रुपैयाँ हात पार्ने छ। 

प्रकाशित: २२ चैत्र २०७५ १३:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App