८ वैशाख २०८१ शनिबार
खेल

पूजाको उत्कृष्ट प्रदर्शनमा एपिएफ विजयी

काठमाडौं –  युवा स्पाइकर पूजा चौधरीको उत्कृष्ट प्रदर्शनप्रेरित आयोजक एपिएफ क्लबले सशस्त्र प्रहरी महानिरीक्षक छैटौं राष्ट्रिय खुला महिला भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ।

सशस्त्र प्रहरीको मुख्यालय हलचोकस्थित भलिबल कोर्टमा आइतबार भएको दोस्रो खेलमा एपिएफले विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मीमाथि सोझो सेटमा जित निकाल्दै विजयी सुरुआत गरेको हो। भरपर्दा स्पाइकर सरस्वती चौधरी पहिलो सेटको सुरुआतमै घाइते भएपछि अवसर पाएकी पूजाले उत्कृष्ट प्रदर्शन गर्दै एपिएफलाई महत्वपूर्ण जित दिलाइन्।

सरस्वती आर्मीकी अलराउन्डर संगम महतोसँग ठोक्किँदै पहिलो सेटमा घाइते हुँदै बाहिरिएकी थिइन्। यद्यपि, एपिएफले युवा खेलाडी पूजाको साथ पाएपछि पहिलो सेटमा आर्मीमाथि २५–१७ को जित निकाल्दै दबाब कम गर्याे। एपिएफले दोस्रो सेट पनि २५–१३ ले सहजै आफ्नो बनाउँदै दुई सेटको अग्रता बनाएको थियो। 

तर, तेस्रो सेटको अन्तिमतिर आर्मीले लगातार चुनौती दिएपछि एपिएफले सरस्वतीलाई मैदान प्रवेश गराउँदै २५–२० को जित निकाल्यो। एपिएफको जितमा १२ अंक दिलाउँदा तीन नेगेटिभ अंक खर्चिएकी पूजा वुमन अफ दी म्याच घोषित भइन्। नेविका चौधरीले १५ अंक दिलाउँदा दुई अंकको क्षति बेहोरिन्। तीन टोली रहेको समूह ‘ए’ मा एपिएफले अंक जोडेको छ। सोही समूहमा ढोरपाटन क्लब छ।

यसअघि भएको उद्घाटन खेलमा समूह ‘बी’ को न्यु डायमन्ड एकेडेमीले विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–१ ले हराउँदै विजयी सुरुआत गरेको छ। न्यु डायमन्डले पहिलो सेट आफ्नो बनाउँदै अग्रता बनाए पनि पुलिसले दोस्रो सेटमार्पmत पुनरागमन गर्दै सेटमा १–१ को बराबरी गरेको थियो। 

यद्यपि, स्पाइकर प्रतिभा माली एक्लैले २९ अंक दिलाएपछि न्यु डायमन्डले चौथो सेट पार गर्न दिएन। त्यस क्रममा प्रतिभाले ३ नेगेटिभ अंक खर्चिएकी थिइन्। निकै प्रतिस्पर्धात्मक पहिलो सेट न्यु डायमन्डले २५–२३ ले आफ्नो बनाउँदै पुलिसविरुद्ध बलियो आत्मबल बनाएको थियो। तर, दोस्रो सेट २५–१४ ले आफ्नो बनाउँदै पुलिस खेलमा फर्कियो। 

यद्यपि, न्यु डायमन्डले तेस्रो सेट २५–१५ र चौथो सेट २५–१५ ले आफ्नो बनाउँदै पुलिसमाथि ३–१ को जित निकाल्न सफल भयो।  समूह ‘बी’ मा डायमन्ड, पुलिस र जाउलाखेल भलिबल ट्रेनिङ सेन्टर छन्। लिग कम नकआउटका आधारमा हुने प्रतियोगितामा समूहका शीर्ष दुईमा रहने टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। 

आगामी चैत १५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले २ लाख ५० हजार, उपविजेताले १ लाख ७५ हजार र तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले एउटा स्कुटरसमेत जित्नेछन्। विधागत उत्कृष्टअन्तर्गत स्पाइकर, ब्लकर, सेटर, सर्भर, डिफेन्स र प्रशिक्षकले जनही पाँच हजार नगद पुरस्कार पाउनेछन्। 

 

प्रकाशित: १२ चैत्र २०७५ ०४:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App