४ वैशाख २०८१ मंगलबार
खेल

गैरआवासीय २४ खेलाडी सहभागी हुने

काठमाडौं- आठौं राष्ट्रिय खेलकुदमा पहिलो पटक सहभागिता पाएको गैरआवासीय नेपाली संघबाट विमला तामाङले खेल्ने भएकी छन्। उनले  दक्षिण कोरियामा सम्पन्न १६औं एसियाडमा नेपाललाई एक मात्र पदक दिलाएकी थिइन्। बालुवाटारस्थित गैरआवासीय नेपाल संघको कार्यालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा एनआरएनएका तर्फका विमलासँगै कुल आठ खेलका २४ खेलाडीले प्रतिस्पर्धा गर्ने जानकारी दिइएको हो। यसअघि राष्ट्रिय खेलकुद परिषद्सँग गैरआवासीय खेलाडीलाई पनि राष्ट्रिय खेलकुदमा समावेश गर्ने सम्झौता भएअनुरूप संघले खेलाडीको नाम सार्वजनिक गरेको हो।

यस पटक ती खेलाडीले प्रतियोगितामा सहभागिता जनाएमा आठौं राष्ट्रिय खेलकुदमा सात प्रदेश, तीन विभाग र एनआरएनएका एक गरी ११ टोलीका खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। सात राष्ट्रबाट विभिन्न ९ खेलमा २२ पुरुष र २ महिला गरी २४ एनआरएनए खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।

आइतबार आयोजित पत्रकार सम्मेलनमा एनआरएनएका अध्यक्ष भवन भट्टले त्यसबारे जानकारी गराएका हुन्। खेलाडीबाहेक एनआरएनएबाट २ प्रशिक्षक र ४ निर्णायक पनि आठौं राष्ट्रिय खेलकुदमा सहभागी हुने एनआरएनए प्राविधिक टोलीका सदस्य रवि साहीले जानकारी दिए। साहीका अनुसार सबैभन्दा बढी करातेमा १२ खेलाडीले काता, टिम काता र फाइटमा प्रतिस्पर्धा गर्नेछन्। पुरुषतर्फ करातेमा युएईबाट विजय तामाङ, लक्ष्मण मगर, उत्तम गुरुङ, कुमार भुसाल, लोकबहादुर श्रेष्ठ र रामबहादुर तामाङ, मकाउबाट नानबहादुर थापा र लोकमानसिंह श्रेष्ठ, अमेरिकाबाट जनकसिंह खड्का तथा मलेसियाबाट नोर्बु तामाङले प्रतिस्पर्धा गर्ने भएका छन्। करातेमै भाग लिने दुई महिला खेलाडीमा शान्तिदेवी अधिकारीले मकाउ तथा विमला तामाङले अमेरिकाबाट खेल्नेछन्।

फुल कन्ट्याक्टमा जापानबाट अविरल घिमिरे, जुडोमा अस्ट्रेलियाबाट मोहन बम, बक्सिङमा जापानबाट प्रचण्ड केसी, लन टेनिसमा अस्ट्रेलियाबाट अमृत पौडेल र संरक्षकभूषण वज्राचार्य, गल्फमा हङकङबाट लवकुमार गुरुङ, ब्याडमिन्टनमा युएईका विक्की बुढा, सूर्य गिरी र हीरालाल श्रेष्ठ, एथलेटिक्सको म्याराथनमा मकाउबाट नारी चन्द तथा तेक्वान्दोमा युएईबाट नवीन श्रेष्ठ र अमेरिकाबाट पुष्प थापामगरले सहभागिता जनाउने प्राविधिक टोलीका सदस्य रवि साहीले जानकारी दिए।

निर्णायकमा रवि शाही, योगेन्द्र कोइराला, शान्त थोकर र राजेश कर्माचार्य तथा टिम प्रशिक्षकमा ११औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत करातेका स्वर्णधारी सुनील लामा र परशुराम घिमिरे छन्। पौडीका खेलाडी गौरिका सिंहको सहभागिताका लागि प्रयास भए पनि परीक्षा भएका कारण उनी सहभागी नहुने बताइयो। 

 

प्रकाशित: ११ चैत्र २०७५ ०६:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App