७ वैशाख २०८१ शुक्रबार
खेल

जयरामको टोलीलाई उपाधि

फाइल फाेटाे

काठमाडौं – प्रोफेसनल गल्फर जयराम श्रेष्ठको टोलीले शनिबार पाइलट गल्फर एनपिजिए क्लासिक प्रो–एमेच्योरको उपाधि जितेका छन्।

पार–६८ को रोयल नेपाल गल्फ क्लबमा भएको एकदिने प्रो–एम विधामा जयरामको टोलीले १ सय ७१ को स्कोर बटुल्दै उपाधि आफ्नो बनाएको हो। उक्त टोलीमा एमेच्योर गल्फरत्रय ऋषभ आचार्य, झलेन्द्र भट्टराई र हरि थापा थिए। शनिबारको प्रतियोगितामा प्रोफेसनलतर्फ शीर्ष तीन स्थान प्राप्त गल्फर समावेश गर्दै एमेच्योरका शीर्ष तीन गल्फर राखेर टोली बनाइएको थियो।

कुल १८ होलको रोयल नेपाल गल्फ कोर्समा प्रोफेसनल गल्फर जयरामले ३९ स्कोर, एमेच्योर गल्फरत्रय ऋषभले ४६, झलेन्द्रले ४४ र  हरिले ४२ स्कोर बटुलेका थिए। शीर्ष दुईका प्रो. सूर्यप्रसाद शर्माको टोली कुल १ सय ५५ स्कोरसहित दोस्रो स्थानमा रह्यो। सूर्यले ३७ स्कोर बटुल्दा एमेच्योर बलराम चौलागाईंले ४१,  आशिष शेरचनले ३९ र सुबोध थापाले ३८ स्कोर बटुलेका थिए।

प्रोफेसनल गल्फर धन थापा, एमेच्योर गल्फर ताहिर शाह, आङनोर्बु शेर्पा र एमबी कार्की सम्मिलित टोली तेस्रो स्थानमा रहँदा कुल १ सय ४४ स्कोर बटुले। चारैले समान ३६ स्कोर बटुलेका थिए। प्रतियोगितामा मिथुन राईले क्लोजेस्ट टु दी पिन र श्रीहर राणाले लङ्गेस्ट ड्राइभको ट्रफी जित्न सफल भए। स्वर्गीय क्याप्टेन बद्रीकृष्ण श्रेष्ठप्रति समर्पित प्रतियोगितामा कुल ७१ गल्फरले चुनौती प्रस्तुत गरेका थिए। 

प्रो–एमको उक्त विधा स्टेबलफोर्ड फुल ह्यान्डीक्याप फरम्याटमा खेलाइएको थियो। प्रतियोगितामा शीर्ष तीन प्रोफेसनल गल्फरलाई एमेच्योरका शीर्ष ९ खेलाडीमा विभाजित गरी प्रो–एमेच्योरको शीर्ष तीन छुट्याइएको थियो। प्रतियोगिताका विजेतालाई नेपालको पहिलो एयरलाइन्स पाइलट बद्रीकृष्ण श्रेष्ठको छोरी सबिता श्रेष्ठ र रोयल नेपाल गल्फ क्लबका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठलगायतले पुरस्कृत गरेका थिए। 

 

प्रकाशित: १० चैत्र २०७५ ०४:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App