coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

एएफसी यु–२३ च्याम्पियनसिप छनोट : ओमानसँग नेपाल स्तब्ध

काठमाडौं – नेपाल एएफसी यु–२३ च्याम्पियनसिपको छनोटअन्तर्गतको पहिलो खेलमा ओमनसँग १–० ले स्तब्ध भएको छ। शुक्रबार कतारको दोहा स्पोर्ट्स सिटीको एस्पायर–४ मैदानमा समूह ‘ए’ को नेपालले ओमनसँगको हारबाट छनोट चरणको सुरुआत गरेको छ।

चार राष्ट्र सम्मिलित समूह ‘ए’ मा हार बेहोरेसँगै बाँकी खेलमा नेपालमाथि दबाब पर्नेछ। उक्त समूहमा कतार र अफगानिस्तान छन्।  सोही समूहबाट छनोट हुन नेपालले बाँकी खेलमा शतप्रतिसत जित नतिजा निकाल्नुपर्ने हुन्छ।

यद्यपि, एक बराबरी र जित निकाले अन्य टोलीको नतिजामा भर पर्नुपर्ने हुन्छ। सन् २०२० को जनवरी ८ देखि २६ सम्म थाइल्यान्डमा हुने प्रतियोगिताका लागि छनोट चरणमा ११ समूह छन्। ११ समूहबाट समूह विजेता र उत्कृष्ट पाँच उपविजेता गरी १५ टोली तथा आयोजक थाइल्यान्डले एएफसी यु–२३ फाइनल चरणमा प्रतिस्पर्धा गर्नेछन्। 

त्यसैले समूह विजेता बन्नका लागि नेपालले कतार र अफगानिस्तानविरुद्ध यादगार प्रदर्शन गर्नुपर्ने हुन्छ। शुक्रबारको ओमनविरुद्धको खेलमा नेपालले ओमनविरुद्ध रक्षात्मक रणनीति अपनाए पनि पूर्ण रूपमा सफल हुन सकेन। खेलको सुरुआतमै खेलाडी घाइते भएपछि नेपालले दबाब बेहोरेको थियो। 

नेपालका गोलकिपर अर्पण कार्कीले पाँच पटक उत्कृष्ट बचाउ गरे पनि खेलको १३औं मिनेटमा ओमनका युसुफ अल मल्कीले पेनाल्टीक्षेत्रबाटै गरेको प्रहार भने बचाउन सकेनन्। त्यो गोल नै ओमनलाई ३ अंक दिलाउन पर्याप्त रह्यो। 

खेलको पाँचौं मिनेटमा नै हेमन्त थापामगर घाइते हुँदै बाहिरिएपछि नेपालले दबाबको महसुस गर्याे। ओमनले नेपालविरुद्ध ६३ प्रतिशत बल पोजिसन आफ्नो नियन्त्रणमा राख्दै सुरुआतीदेखि नै दबाब बनाएको थियो। त्यसक्रममा ओमनका लागि खेलाडीले एक पछि अर्को आक्रामण बुने पनि नेपालका गोलकिपर अर्पण कार्कीले पाँच पटक उत्कृष्ट बचाउ गरेका थिए।

तर, खेलको १३औं मिनेटमा भने अर्पणले ओमनको आक्रमणलाई बचाउन सकेनन्। नेपालको रक्षापक्तिमा तालमेल नमिल्दा युसुफ अल मल्कीले पेनाल्टीक्षेत्रबाटै गोल गर्दै अग्रता दिलाएका थिए। त्यसपछि पहिलो हाफमा ओमनले कयौं आक्रामण बुने पनि नेपालका रक्षापक्ति र गोलकिपर अर्पण कार्कीले सफल हुन दिएनन्। त्यससँगै पहिलो हाफमा ओमन १–० ले अगाडि रह्यो। 

दोस्रो हाफमा नेपालले गोलका लागि केही प्रयास गरे पनि सफल हुन सकेन। नेपालले खेलअवधिभर एक मात्र सट पोस्टका दिशामा राख्न सफल भएको थियो। यद्यपि, पूर्णरूपमा ओमनलाई हाबी हुने अवसर भने दिएन। हारपछि नेपालका प्रशिक्षक बालगोपाल महर्जनले बलियो टोली ओमनविरुद्ध सन्तोसजनक प्रदर्शन गरेको बताएका थिए।

नेपालका प्रशिक्षक महर्जनले आफ्ना गोलकिपर अर्पण कार्कीको प्रदर्शन तारिफयोग्य रहेको प्रतिक्रिया दिएका छन्। ‘आजको प्रदर्शन सन्तोसजनक छ। यद्यपि, हारको सामना गुर्नपरेको छ,’ प्रशिक्षक महर्जनले भने,‘हामीले तुलनात्मकमा रूपमा बलियो टोलीविरुद्ध राम्रै खेल्यौं। रक्षात्मक रणनीति अपनाएका थियौं। सोहीअनुरूप खेलेकाले नतिजा निकै दुःखलाग्दो छैन। कतार र अफगानिस्ताको खेल हेरेपछि आगामी खेलका लागि रणनीति बनाउनेछौं। ’

प्रकाशित: ९ चैत्र २०७५ ०४:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App