coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

महिला साफ च्याम्पियनसिप : नेपाल फेरि उपविजेतामा सीमित

विराटनगर – पाहुना टोली भारतले पाँचौं पटक साफ महिला च्याम्पियनसिपको उपाधि उचालेको दिन शुक्रबार नेपाल चौथो पटक पनि उपविजेतामा खुम्चिनु परेको छ। घरेलु मैदानमा पहिलो पटक महिला साफ च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यमा रहेको नेपाल भारतसँग ३–१ ले स्तब्ध भएसँगै ट्रफी घरमै राख्ने सपना यसपटक पनि अधुरै रह्यो। 

विराटनगरस्थित सहिद रंगशालामा शुक्रबारको फाइनलमा नेपालले पहिलो हाफमा भारतलाई दबाबमा राखे पनि दोस्रो हाफमा सम्हालिन सकेन। यसअघिका तीन पटकको फाइनल भेटमा पनि भारतसँगै स्तब्ध भएको नेपाल एकपटक सेमिफाइनलमै उसैसँग निरिह बन्न बाध्य भएको थियो। 

यता, भारत भने लगातार पाँच पटकका साफ च्याम्पियनसिपको विजेता बन्यो। १४ हजार घरेलु दर्शकको साथ पाएको नेपालले पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गर्न सफल भए पनि त्यसलाई निरन्तरता दिन नसक्दा मूल्य चुकाउनु पर्याे। 

भारतलाई जित दिलाउन डालिमा छिब्बर, ग्रेस दाङमेइ र अञ्जु तामाङले समान १–१ गोल गरे। एक गोल पछि परेको अवस्थामा नेपालकी सावित्रा भण्डारील घरेलु टोलीलाई खेलमा फर्काएकी थिइन्। प्रतियोगिताको सर्वाधिक गोलकर्ता सावित्राले अन्तर्राष्ट्रिय खेलमा नेपालबाट सबैभन्दा बढी गोल गर्ने दोस्रो खेलाडी बनिन्। सम्पन्न प्रतियोगिताको चार गोलसँगै सावित्राको २६ अन्तर्राष्ट्रिय गोल पूरा गरिन्। 

यसअघि अनु लामाले नेपालका लागि सर्वाधिक ३५ गोल गरेकी छिन्। जमुना गुरुङको नाममा रहेका २५ गोलको रेकर्डलाई भने सावित्राले उछिनिन्। पछिल्ला दुई भेटमा सुखद नतिजा हात पारेको नेपाल घरेलु मैदानमा उच्च मनोबलका साथ खेले पनि सुरुआती अग्रता गुमाएपछि केही दबाबमा पर्याे। 

यद्यपि सम्हालिएर प्रदर्शन गरेको नेपाल सावित्राको गोलबाट खेलमा फर्कियो। नेपालले भारतलाई दबाबमा राख्दै सातौं मिनेटमा आक्रमण ग¥यो। अनिता बस्नेतको कर्नरमा पेनाल्टी बक्सभित्र सावित्रा र दीपा राईले गोलका लागि प्रयास गरे पनि सफल हुन सकेनन्। एकपछि अर्को मौकाको खोजिमा रहेको नेपालले ११औं मिनेटमा घरेलु टोली अफसाइडको शिकार बन्यो। 

रेनुका नगरकोटेको पासमा सावित्रा अफसाइड रहिन्। १३औं मिनेटमा सावित्राको पासमा मञ्जलीकुमारी योञ्जनको प्रहार माथिल्लो बार नजिकैबाट बाहिरिँदा नेपाली टोली चुकचुकाउनु पर्याे। १९औं मिनेटमा नेपालले खेलमा अग्रता लिने सुन्दर मौका खेर फाल्यो। सावित्राले कप्तान निरु थापाको पासमा रक्षकलाई बिट गर्दै बक्सभित्रबाट गरेको कडा प्रहारले पोस्टको दिशा लिन सकेन। 

लगत्तै काउन्टरमा रहेको भारतको १६औं मिनेटको प्रयास नेपाली गोलकिपर एञ्जिला तुम्बापोले बिफल पारिन्। भारतकी सन्जुको प्रहार तुम्बापोले उत्कृष्ट बचाउ गरेकी थिइन्। रक्षकले घेरिएको सावित्राले २३औं मिनेटमा अर्को अवसरलाई सदुपयोग गर्न सकिनन्। सावित्राले अनिताको अर्काे पासलाई खेर फाल्न पुगिन्। 

लगातार दबाबमा झेलेको भारतले खेलको २६औं मिनेटमा डालिमा छिब्बरको फ्रिकिक गोलबाट खाता खोल्दै नेपाललाई ठूला झड्का दियो। डिफेन्डर हीराकुमारी भुजेलले विपक्षी खेलाडीलाई फल गरेपछि प्राप्त फ्रिकिकमा छिब्बरले ३५ यार्ड टाढाबाट प्रहार गरेको बल गोलमा परिणत भयो। तर, ३३औं मिनेटमा डिफेन्डर पुनम जर्घामगरको लामो पासमा सावित्रा भण्डारीले खेल बराबरीमा ल्याइन्। उनको गोलसँगै नेपाल खेलमा फर्किन संकेत देखाएको थियो। 

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा सावित्राले अर्काे सुन्दर मौका खेर फाल्दा नेपालले अग्रता बनाउने अवसर गुमायो। त्यससँगै पहिलो हाफ १–१ को बराबरीमा सकियो। दोस्रो हाफमा भने सुधारिएको प्रदर्शन गर्दै नेपाललाई दबाबमा राखेको भारतले थप २ गोलसहित जित निकाल्यो।

भारतीय टोलीको काउन्टर अगाडि नेपाली डिफेन्स लाइन चल्न सकेन। ६०औं मिनेटमा हीरा कुमारी भुजेलले ग्रेस दाङमेईको प्रहारलाई क्लियर गरिदिए पनि ६३औं मिनेटमा गोल खान पुग्यो। सन्धिया रंगनाथनको पासमा ग्रेस दाङमेईले गोल गरेपछि नेपाल २–१ ले पछि परेको थियो। ७८औं मिनेटमा वैकल्पिक खेलाडी अन्जु तामाङले नेपाली पोस्टमा अर्को गोल थपिन्। 

खेलमा फर्किन संघर्षरत नेपालको आशा तेस्रो गोल पछि समाप्त भएको थियो। तेस्रो गोलसँगै घरेलु दर्शक निरास हुँदै रंगशालाबाट बाहिरिएका थिए। ८२औं मिनेटमा सावित्राले अर्काे मौका खेर फाल्दा नेपालले गोल अन्तर कम गर्ने मौका गुमाएको थियो। खेलको अन्त्यतिर नेपालले केही आक्रमण बुने पनि गोल गर्न नसक्दा भारतसँग ३–१ ले स्तब्ध भयो। 

जितपछि भारतका प्रशिक्षक मायामोल रक्कीले युवा खेलाडीको संयोजनमा टोली उत्कृष्ट प्रदर्शन गर्दै च्याम्पियन बन्न सफल भएको बताइन्। नेपालका प्रशिक्षक हरि खड्काले दोस्रो गोल नै हारको कारण बनेको बताए। ‘खेलाडीहरूले भारतविरुद्ध राम्रो खेलेकै हो। तर, दोस्रो गोल नै हारको कारण बन्यो ,’ प्रशिक्षक खड्काले भने, ‘पछिल्ला समय केही महत्वपूर्ण भ्रमणले नेपाली महिला टोलीमा मनोबलमा बृद्धि गराएको हो। निरन्तर अवसर दिइयो भने भने नेपाली टोली पनि बलियो बन्ने पक्का छ।’

प्रतियोगितामा नेपालकी सावित्रा भण्डारी र भारतकी इन्दुमति खातिरेसन समान ४ गोलसहित सर्वाधिक गोलकर्ता भए। मोस्ट भ्यालुएबल खेलाडी भारतकी डालिमा छिब्बर घोषित भइन्। पछिल्लोपटक नेपालले सन् २०२० मा जापानमा हुने टोकियो ओलम्पिकको लागि एसिया छनोटको पहिलो चरणमा भारतलाई १–१ को बराबरीमा रोक्न सफल हुँदा गत महिना महिला हिरो गोल्डकपमा २–१ को सनसनीपुर्ण जित निकाले पनि त्यसलाई दोहो¥याउन सकेन। जुन नेपालले १०औं खेलमा हात पारेको पहिलो जित थियो। 

प्रकाशित: ८ चैत्र २०७५ १०:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App