८ वैशाख २०८१ शनिबार
खेल

ओमानविरुद्ध नेपालको रक्षात्मक रणनीति

काठमाडौं – नेपालले एएफसी यु–२३ च्याम्पियनसिपको छनोटअन्तर्गत नेपालले शुक्रबार ओमानसँग पहिलो खेल खेल्दै छ। उक्त खेल नेपालको समयअनुसार साँझ ७ः४५ बजेदेखि दोहा स्पोर्ट्स सिटीको एस्पायर–४ मैदानमा सुरु हुनेछ।

सन् २०२० को जनवरी ८ देखि २६ सम्म थाइल्यान्डमा हुने प्रतियोगिताका लागि छनोट चरणमा ११ समूह छन्। समूह ‘ए’ मा नेपालले ओमान, कतार र अफगानिस्तानसँग खेल्नुपर्नेछ। ११ समूहबाट समूह विजेता र उत्कृष्ट पाँच उपविजेता गरी १५ टोली तथा आयोजक थाइल्यान्डले एएफसी यु–२३ फाइनल चरणमा प्रतिस्पर्धा गर्नेछन्।

खेलअघिको पत्रकार सम्मेलनमा नेपालका प्रशिक्षक बालगोपाल महर्जनले बलिया टोलीविरुद्ध नेपालले दबाबरहित भएर खेल्ने बताए। ‘फिफा वरीयता, पूर्वाधार, प्रदर्शन सबै हिसाबले ओमान र कतारजस्ता टोली हामीभन्दा बलिया छन्,’ प्रशिक्षक बालगोपालले भने, ‘हामीले हाम्रो शतप्रतिशत दिएर खेल्नेछौं। सकारात्मक नतिजाको अपेक्षा गर्छाैं।’

प्रशिक्षक महर्जनले खेलाडीहरू स्थानीय नकआउट प्रतियोगितामा व्यस्त रहेका कारण लामो तयारी नभएको जानकारी दिए। प्रतियोगिताका लागि मंगलबार राति कतार आइपुगेको नेपाली टोलीले बुधबार र बिहीबार अभ्यास गरेको छ। प्रशिक्षक महर्जनले २३ मध्येबाट उत्कृष्ट ११ तय गर्न कठिन भएको बताए।

‘अभ्यासमा खेलाडीहरूले एकसे एक प्रदर्शन गरिरहेका छन्,’ प्रशिक्षक महर्जनले भने,‘ मलाई सेट तयार पार्न पनि कठिन भइरहेको छ, जुन सकारात्मक कुरा पनि हो।’ ओमानका प्रशिक्षक हमाद अजानीले टोलीमा नयाँ अनुहारको बाहुल्य रहेको र उनीहरू सकारात्मक नतिजाका लागि उत्साही रहेको बताए।

‘छोटो तयारीका साथ हामी प्रतियोगिताका लागि आएका छौं। हिजो मात्रै हाम्रो राष्ट्रिय टोलीले अफगानिस्तानविरुद्ध ५–० को जित हासिल गरेको छ। टोलीमा धेरैजसो नयाँ अनुहार छन्। तर पनि हाम्रा खेलाडीहरू उत्साही छन,’ उनले भने। प्रशिक्षक अजानीले नेपाललाई कमजोर प्रतिस्पर्धीका रूपमा नलिएको प्रस्ट पारे। 

उनले भने, ‘हामीले एसियन गेम्सका बेला जाकार्तामा नेपालको खेल हेरेका छौं, नेपाल पक्कै पनि कमजोर टोली होइन।’ बलियो टोली ओमानविरुद्ध नेपालले स्वभाविक रूपमा रक्षात्मक खेल्नेछ। काउन्टर एट्याक र सेट पिस गोलको अवसरमा नेपालको ध्यान केन्द्रित छ। फिफा वरीयातामा नेपाल १ सय ६१औं स्थानमा छ।

ओमान नेपालभन्दा ७१ स्थान माथि ९०औं स्थानमा छ। यु–२३ को उमेरसमूहमा नेपाल र ओमान पहिलोपल्ट आमनेसामने हुँदै छन्। सिनियर स्तरमा भने नेपाल र ओमानबीच १० खेल भएकोमा नेपालले एक खेल पनि जित्न सकेको छैन।

 

प्रकाशित: ८ चैत्र २०७५ ०४:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App