१६ चैत्र २०८० शुक्रबार
खेल

महिला साफ च्याम्पियनसिप : उपाधिका लागि नेपाल र भारत भिड्दै

पाँचौं संस्करणको साफ महिला फुटबलअन्तर्गत फाइनल खेलको पूर्वसन्ध्यामा बिहीबार आयोजित पत्रकार सम्मनेलमा नेपाल र भारतका कप्तान ट्रफीका साथ ।    तस्बिरः चुमन/नागरिक

विराटनगर - पाँचाैं संस्करणकाे महिला साफ च्याम्पियनसिप फुटबलकाे उपाधिका लागि शुक्रबार (आज) घरेलु टाेली नेपाल र भातरबीच प्रतिस्पर्धा हुँदैछ। फाइनल खेल विराटनगरस्थित सहिद रंगशालामा दिउँसो ३ बजे हुनेछ। 

चौथो पटक उपाधिका लागि पाहुना टोली भारतविरुद्ध प्रतिस्पर्धा गर्दा नेपालको लक्ष्य उपाधि घरमै राख्ने हुनेछ। घरेलु दर्शक र मैदानको साथ पाएको नेपाल यसअघिका सबै संस्करणको उपाधि विजेता भारतलाई हराउँदै इतिहास रच्ने उद्देश्यमा हुनेछ।

उपाधिमा सधैँ बाधक बन्दै आएको भारतलाई पराजित गर्दै उपाधि जित्नेमा नेपाली टोलीका प्रशिक्षक हरि खड्का विश्वस्त छन्। बिहीबार फाइनल प्रतिस्पर्धाअघिको पत्रकार सम्मेलनमा टोलीका प्रशिक्षक  खड्काले आयोजक र घरेलु मैदानको फाइदा उठाउँदै पाँचाैं संस्करणको उपाधि नेपालको पोल्टामा पर्ने बताए।

‘भारतको दबदबालाई तोड्न टोली तयार छ। विराटनगरमा उपाधि जित्न नेपाल आतुर छ। तर मिहिनेत आवश्यक छ,’ नेपाली टोलीका प्रशिक्षक खड्काले भने, ‘त्यसका लागि खेलाडी तयार छन्। भोलिको दिन हाम्रो होे। इतिहास रच्ने दिन हो।’ साफ च्याम्पियनसिपअन्तर्गत यसअघिका तीन भेटमा नेपालले भारतलाई नतिजा सुम्पिएको थियो। तर यसपालि भने घरेलु दर्शक र मैदानको फाइदा उठाउँदै भारतको दबदबालाई भंग गर्ने रणनीति नेपाली टोलीका प्रशिक्षक हरि खड्काले अपनाउँदै छन्।

त्यसो त नेपालले भारतसँगका पछिल्ला दुई भेटमा सफल नतिजा निकाल्दै आत्मबल पनि विकास गरेको छ। मनोकांक्षा बढेको छ। गत कात्तिकमा म्यानमारमा भएको ओलम्पिक छनोटमा नेपाल र भारतले १–१ को बराबरी खेले। गत महिना भारतमै भएको हिरो गोल्डकपमा भने नेपाल भारतलाई २–१ ले पराजित गरेर म्यानमारसँग पराजित हुँदै उपविजेताका रूपमा घर फर्किएको थियो । हिरो गोल्ड कपमा हात पारेको जित नै नेपालले भारतलाई हराएको पहिलो विजयी नतिजा हो। उक्त खेलपछि नेपालमा जारी प्रतियोगितामा यी दुई टोली आमनेसामने हुन लागेका हुन् ।

‘भारतको दबदबालाई तोड्न टोली तयार छ। विराटनगरमा उपाधि जित्न नेपाल आतुर छ। तर मिहिनेत आवश्यक छ। त्यसका लागि खेलाडी तयार छन्। भोलिको दिन हाम्रो होे। इतिहास रच्ने दिन हो।’

दक्षिण एसियामा बलियो मानिँदै आएको भारतविरुद्ध नेपाली टोलीका प्रशिक्षक खड्काले भने संयमित भएर टोलीलाई मैदान उतार्नेछन्। ‘भारत दक्षिण एसियाको बलियो प्रतिद्वन्द्वी हो। पूर्वाधारदेखि सबै पक्षमा हामीभन्दा अब्बल छ। तर नेपालमा आयोजनामा भएको यो प्रतियोगितामा नेपालले अघिल्ला तीन भेटमा भोगेको पराजयको बदला लिने अवसर पनि छ,’ प्रशिक्षक खड्काले भने, ‘टेक्निकल्ली र फिजिकल्ली उनीहरू हामीभन्दा माथि छन्, हामीले उनीहरूविरुद्ध जित निकाल्ने भनेको मिहिनेत गरेरै हो।’

तुलनात्मक हिसाबमा अघिल्ला संस्करणमा भन्दा बलियो आकलन गरिएको नेपाली टोलीले दबाबविहीन भएर भारतविरुद्ध मैदान उत्रिने खड्काले बताए। ‘च्याम्पियनसिपमा समूहचरण र सेमिफाइनलभन्दा फाइनलमा कम दबाब महसुस भएको छ। किनभने भारतले जितको खोजीमा काउन्टर खेल्नेछ,’ प्रशिक्षक खड्काले भने, ‘कुनै पनि खेलमा कुनै पनि टोलीले रक्षात्मक खेल्यो भने नतिजा हात पार्न कठिन हुन्छ । यस्तोमा जसले मौकाको सदुपयोग गर्न सक्छ त्यो टोली विजयी हुन्छ।’

‘भारतका चार खेलाडीलाई निगरानीमा राख्दै हामीले हाम्रा खेललाई चलाखीपूर्ण तरिकाले खेल्नुपर्छ। उनीहरूको विङ्गर बलियो छ। प्ले मेकेर खेलाडी र मिडफिल्डरले राम्रो बल निकाल्नछन्। उनीहरूलाई रोक्दै हामीले खेल खेल्याैं भने हामीलाई उपाधि हात लाग्नेछ,’ खड्काले थपे, ‘घरेलु मैदानमा जित निकाल्नका लागि स्वाभाविक दबाब त हुन्छ नै। यद्यपि भारतसँग खेल्न भने दबाब हुने छैन। उत्साहित भएर खेल्नेछौं। फाइनल हो, समर्थकको दबाब हुन्छ। पास मिस गर्दा आउने नकारात्मक हुटिङप्रति खेलाडी मानसिक रूपमा तयार छन्। रणनीतिक हिसाबले खेलेपछि बलियो टोलीलाई हराउन सक्छौं भनेर प्रमाणित गरिसकेकाले जित्नेमा म पूर्ण विश्वस्त छु।’

उता समूहचरणका खेलमा स्कोर गर्दै नेपाललाई सुखद नतिजा दिलाएकी सावित्रा भण्डारीले फाइनलमा खुलेर खेल्ने मौका पाउने प्रशिक्षक खड्काले बताए। ‘घरेलु मैदान र दर्शकको साथ पाएको नेपालविरुद्ध भारत पनि आक्रामक खेल्छ। त्यही भएर सावित्राले खुलेर खेल्ने मौका पाउनेछिन्,’ खड्काले भने, ‘यसअघि उनलाई रोक्ने रणनीति योजना बनाउँदै प्रतिद्वन्द्वी मैदान उत्रिन्थे। त्यसैले उनलाई स्कोर गर्न अलि कठिन भएको हो।’ उता नेपाली टोलीकी कप्तान निरू थापाले घरेलु मैदानमा उपाधि जित्ने अवसर खेर नफाल्ने बताइन्।

‘सबै किसिमको मिहिनेतलाई फाइनलमा अपनाउनेछौं। फाइनल जसरी पनि जित्न कोसिस गर्नेछौं। यस्तो अवसर सधंै आउँदैन। हामी त्यसका लागि तयार छौं,’ कप्तान निरु थापाले भनिन्, ‘पछिल्लो पटक भएको दुई खेलमा हामीले भारतविरुद्ध सुखद नतिजा निकाल्न सफल भएका छौं। त्यही कारणले गर्दा टोली आत्मविश्वासी छ।’ उनले अगाडि भनिन्, ‘भारत भन्दा अतालिहाल्ने समस्या थियो। पछिल्ला खेलको नतिजाले आफूहरूमा आत्मविश्वास बढेको छ। मिहिनेतका साथ खेल्नेछौं।’

भारतकी प्रशिक्षक मायामोल रक्कीले पाँचौं उपाधिका लागि आफू तयार रहेको बताइन्। ‘यसअघि नेपालसँग जस्तो नतिजा रहे पनि फाइनलमा त्यसलाई बिर्सेर खेल्नेछौं। पछिल्लो समय नेपाली टोली बलियो प्रतिद्वन्द्वीका रूपमा उदाउँदै आएको छ,’ भारतीय प्रशिक्षक रक्कीले भनिन्, ‘पछिल्ला भेटमा के भयो भन्ने भन्दा पनि उपाधि जित्ने लक्ष्यका लागि मैदान उत्रिने हो। फाइनल रोमाञ्चक हुनेछ।’

‘उपाधिका साथ च्याम्पियसिपको अन्त्य गर्ने लक्ष्य छ। यद्यपि प्रतिद्वन्द्वी नेपालको घरेलु मैदान हो। तर हामीले नेपालजस्तै धेरै स्थानमा गएर खेलिसकेका छौं,’ रक्कीले थपिन्, ‘जुन मैदानमा खेल्यो त्यही मैदानलाई आफ्नो ठान्दै खेल्ने गरेका छौं। त्यसैले हामीलाई केही फरक पर्ने छैन।’यस्तै भारतीय टोलीकी कप्तान आशालता देवीले यसअघिका सबै संस्करणमा उपाधि जितेकाले यो उपाधि पनि जित्नेमा आशावादी रहेको बताइन्।

‘सबै खेलमा स्पष्ट जित निकाल्दै फाइनल प्रवेश गरेकाले हामी दबाबमा छैनौं। फाइनल हो, अलि कठिन हुनेछ,’ आशलताले भनिन्, ‘दबाबरहित हुँदै उत्साहित भएर खेल्नेछौं। उपाधि जित्ने लक्ष्यमा हामीले स्वाभाविक खेल खेल्नेछौं। हामी उपाधिका लागि ढुक्क छौं।’

जारी प्रतियोगितामा नेपालको फाइनल यात्रा
समूह चरण

नेपाल  ३–० भुटान 
नेपाल ३–० बंगलादेश
सेमिफाइनल
नेपाल ४–० श्रीलंका
जारी प्रतियोगितामा भारतको फाइनल यात्रा
भारत ६–० माल्दिभ्स
भारत ५–० श्रीलंका
सेमिफाइनल
भारत ४–० बंगलादेश
साफ च्याम्पियसिपमा  भारतविरुद्ध नेपालको खेल 
२०१० फाइनल १–० ले पराजित
२०१२ फाइनल ३–१ ले पराजित
२०१४ फाइनल ६–० ले पराजित

प्रकाशित: ८ चैत्र २०७५ ०३:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App