coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

महिला साफ च्याम्पियनसिप : चौथो पटक भारत नै फाइनल प्रतिद्वन्द्वी

विराटनगर - नेपालमा जारी पाँचाैँ साफ महिला च्याम्पियनसिपको उपाधिका लागि नेपालले चौथो पटक अन्तिम दुईमा स्थान बनाउँदा साबिक विजेता भारत नै प्रतिद्वन्द्वी पाएको छ।

विराटनगरस्थित सहिद रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनलमा साफको आयोजक नेपालले पाहुना टोली श्रीलंकालाई ४–० ले पराजित गर्दा दिनको दोस्रो खेलमा भारतले बंगलादेशलाई ४–० ले पराजित गर्दै नेपालसँग भेट पक्का गरेको हो। सम्पन्न सबै संस्करणको विजेता भारत र नेपालबीच यससँगै साफ महिला च्याम्पियनसिपको उपाधिका लागि यो चौथो भेट हुनेछ।

लिगका दुवै खेलमा सहज जित निकाल्दै अन्तिम चारमा स्थान बनाएको नेपालले सुरुआतबाट नै आक्रामक खेलेको थियो। चौथो मिनेटमा अनिता बस्नेतको प्रहारबाट नेपालले आक्रमण सुरु ग-यो। नवाैँ मिनेटमा अनिता बस्नेतले मैदानको मध्यभागबाट अगाडि बढाएको बल कप्तान निरु थापालाई उपलब्ध गराए पनि उनी सफल भइनन्। त्यसको अर्को मिनेटमा अनिताको कर्नर बल निरुले नै हेडरमार्फत गोलका लागि प्रयास गरे पनि माथिल्लो बारबाट बाहिरिएको थियो।

सुरुबाट नै आक्रामक खेलेको नेपालविरुद्ध पाहुना टोली श्रीलंकाले केही अवसर सिर्जना गरे पनि नेपालको बलियो रक्षापंक्तिले विफल पारेको थियो। १३औं मिनेटमा स्ट्राइकर सावित्रा भण्डारीले मन्जलीकुमारी योन्जनको पासलाई सदुपयोग गर्ने प्रयास गरे पनि पेनाल्टी बक्सबाट श्रीलंकाको रक्षापंक्तिले उत्कृष्ट बचाउ गर्याे। निरन्तर काउन्टरमा रहेको नेपालले १६औं मिनेट अर्को अवसर खेर फाल्यो।

अनिता केसीले दिएको पासलाई  सावित्रा पुनः सदुपयोग गर्न असफल भइन्। पेनाल्टी बक्सभित्रबाट सदुपयोग गर्न खोजेको उक्त प्रयास सोझै श्रीलंकाकी गोलकिपर आयोमी विजराथनको हातमा पुगेको थियो। २२औं मिनेटमा दीपा राईले दिएको एयर बलमा सावित्राको हेड अवसर खेर गयो। सुरुआती अग्रता लिएर दबाब दिँदै खेल्ने नेपालको रणनीति श्रीलंकाको बलियो रक्षापंक्तिले सफल हुन दिएन।

उत्कृष्ट डिफेन्सिभ खेलेको श्रीलंकाले नेपालका केही राम्रा अवसरलाई विफल पारेको थियो। ३४औं मिनेटमा मनमाया लिम्बुले हानेको कर्नर बल गीता रानाले गोलका लागि प्रयास गरे पनि सफल भएन। लगत्तै २० यार्ड टाढाबाट मन्जलीले प्रयास गरेको लामो प्रहार श्रीलंकाकी गोलकिपर मायोमीले सजिलै नियन्त्रणमा लिएकी थिइन्। यसअघि ३६ औं मिनेटमा श्रीलंकाकी इरान्दी लियाङ्गीले काउन्टरमा नेपालको पोस्टमा गोलका प्रयास गरे मुख्य रक्षक पुनम जर्घामगरले उत्कृष्ट बचाउ गरिन्।

सुरुआतबाट अग्रता लिने रणनीति ४२औं मिनेटमा मात्र पूरा भयो। गीता रानामगरले प्रहार गरेको लामो फ्रिकिकलाई पेनाल्टी बक्सभित्र निरु थापाले बाइसाइकलमार्फत साम्बालाई पास दिइन्। साम्बाले हेड गर्दै उपलब्ध गराएको अवसरमा पुनमसफल भइन्। यो पुनमको पहिलो अन्तर्राष्ट्रिय गोल हो। अघिल्लो खेलमा गोल गर्दै आएकी सावित्राले पाएका राम्रा अवसर खेर गए।

लिगको अन्तिम खेलमा भारतसँग निरीह बनेको श्रीलंकाले दोस्रो हाफमा रक्षापंक्तिको मजबुतीलाई निरन्तरता दियो। यद्यपि नेपालको काउन्टरलाई खेपिरहेको श्रीलंकाविरुद्ध ५३औं मिनेटमा अनिताको क्रस बलमा सावित्रा चुकिन्। गर्मीका बावजुद पनि टोलीको हौसला दिन रंगशालामा उपस्थित भएका दर्शकको साथ पाएको नेपालीले टोलीले दोस्रो हाफमा पनि काउन्टर एट्याकलाई निरन्तरता दियो। ६०औं मिनेटमा अनिताले मैदानको दायाँ भागबाट प्रहार गरेको बल श्रीलंकाकी गोलकिपर मायोमीले पन्च गर्दै बाहिर पठाउँदा नेपालले अग्रता दोब्बर पार्ने अवसर गुमाएको थियो। ७३औं मिनेटमा अनिताले गोल गर्दै नेपाललाई २–० को अवस्थामा पुर्याइन्। थ्रो बलमा रक्षक मनमायाले प्रहार गरेको एयर बल पेनाल्टी बक्सभित्र रुमलिँदै गर्दा अनिताले प्रहार गरेको सट जाली चुम्न पुगेको हो।

२–० को अग्रतापछि उच्च मनोबलमा रहेको नेपालले त्यसपछि पनि काउन्टरलाई जारी राख्यो। ८२औं मिनेटमा नेपालले पुनः गोल गर्न सफल भयो। सावित्रा भण्डारीले गोल गर्दै नेपाललाई बलियो अवस्थामा पुर्याइन्। पहिलो हाफमा पाएका अवसरलाई खेर फालेकी सावित्राले हेडर गोल गर्दै नेपाललाई ३–० को अवस्थामा  पुर्याइन्। यससँगै सावित्राले जमुना गुरुङले बनाएको दोस्रो उच्च गोलसँग बराबरी गरेकी छिन्। उता कप्तान निरुको स्थानमा वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरेकी रेखा पौडेलले नेपाललाई ८६औं मिनेटमा चौथो सफलता दिलाइन्। अनिताको पासमा उनले पहिलो अन्तर्राष्ट्रिय गोल गर्न सफल भएकी हुन्। जारी प्रतियोगितामा भुटानविरुद्ध अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेकी रेखाको श्रीलंकाविरुद्ध पहिलो अन्तर्राष्ट्रिय गोल भएको हो। त्यसपछिको बाँकी समयमा श्रीलंकाले खेलमा फर्किन प्रयास गरे पनि सफल हुन सकेन।

खेलाडीको मिहिनेतले जित सम्भव भएको नेपाली टोलीका प्रशिक्षक हरि खड्काले बताए। ‘पहिलो हाफमा स्कोर ननिस्किए पनि दोस्रो हाफमा रणनीति सफल भयो। सबै खेलाडीले मिहिनेतसाथ खेले,’ प्रशिक्षक खड्काले भने, ‘पहिलो हाफमा काउन्टर मिडबाट भयो। दायाँ र बायाँ भागबाट स्कोरका लागि प्रयास गर्ने रणनीति थियो। त्यसका लागि केही तालमेल मिलेन।’

नेपालविरुद्ध पहिलो हाफमा रक्षात्मक बन्दै गलाएको श्रीलंकाका प्रशिक्षक गोलम रोब्बानी छोटनले टोलीको प्रदर्शनमा सन्तुष्ट रहेको प्रतिक्रिया दिए। ‘भारतविरुद्धको खेलमा फराकिलो अन्तरले पराजित भएपछि नेपालविरुद्ध पनि रक्षात्मक बन्दै खेल्ने रणनीति बुनेका थियौं। त्यो पहिलो हाफमा सफल भए पनि दोस्रो हाफमा सफल हुन सकेन,’ प्रशिक्षक रोब्बानीले भने, ‘नेपालमा आयोजना भएको खेलमा श्रीलंकाको वास्तिवक खेल देखिएको छ। भारत र नेपालमध्ये को बलियो भन्ने फाइनल भिडन्तपछि मात्र थाहा हुन्छ।’

यससँगै श्रीलंका प्रतियोगिताबाट बाहिरिएको छ। यसअघि लिगको पहिलो खेलमा श्रीलंकाले माल्दिभ्सलाई हराएको थियो भने दोस्रो खेलमा भारतसँग ५–० ले पराजित भएको थियो। यता फाइनलमा स्थान बनाउन सफल नेपालले भने लिगका सबै खेल जित्दै अन्तिम चारको ढोका खोलेको थियो। साबिक विजेता भारतले बुधबार नै सम्पन्न अर्को सेमिफाइनलमा बंगलादेशलाई ४–० ले पराजित गर्दै नेपालमा जारी साफ महिला च्याम्पियनसिपमा आयोजक राष्ट्र नेपालसँगको भेट पक्का गरेको छ।

विराटनगरस्थित सहिद रंगशालामा बुधबारै सम्पन्न दिनको दोस्रो सेमिफाइनलमा भारत लगातार पाँचांैपल्ट उपाधि जित्ने लक्ष्यनजिक पुगेको हो। लिगका सबै खेलमा स्पष्ट जित निकाल्दै एक खेलअघि नै सेमिफाइनलमा स्थान बनाएको भारतले खेलको सुरुआतबाट नै बंगलादेशलाई दबाबमा राखेको थियो। त्यसो त लिगका दुई खेलमध्ये एक खेलमा जित हात पारेर अर्काे खेलमा नतिजा सुम्पँदै बंगलादेशले पनि अन्तिम चारमा स्थान सुरक्षित गरेको थियो। सुरुआतबाट दबाबमा रहे पनि काउन्टरमा रहेको बंगलादेशले खेलको आठौं मिनेटमा सुन्दर अवसर सिर्जन गरे पनि मोसामत सिरात जहान सोपानले नियन्त्रणमा लिएको उक्त बललाई लाइन्स रेफ्रीले अफसाइडको इसारा दिएका थिए। १८औं मिनेटमा डालिमा छिब्बरले गोल गर्दै भारतलाई सुरुआती अग्रता दिलाइन्।

सन्जुले कर्नरबाट प्रहार गरेको बल पेनाल्टी बक्समा ल्यान्डिङ गरेलत्तै डालिमा जाली चुमाउन सफल भइन्। त्यसको पाँच मिनेटपछि सन्जुको पासमा इन्दुमती कथिरेसानले भारतका लागि दोस्रो गोल गरिन्। २८औं मिनेटमा रतनबाला देवीले दिलाएको पासलाई सन्जुले गोलका लागि प्रयास गरे पनि उक्त प्रयासलाई बंगलादेशकी अदिति चौहानले उत्कृष्ट बचाउ गरिन्। ३७औं मिनेटमा सन्ध्या रंगनाथनको पासमा इन्दुमतीले व्यक्तिगत दोस्रो गोल गर्दै भारतको अग्रता फराकिलो पारिन्। मैदानको बायाँ भागमा ४०औं मिनेटमा रतनबालाको ह्यान्ड भएपछि पाएको फ्रिकिकमा बंगलादेशले भारतको अग्रता कम बनाउने अवसर गुमायो। मसुरा प्रविनले प्रहार गरेको उक्त बल साइड बारनजिकैबाट बाहिरिएको थियो। पहिलो हाफको अन्तिमतिर पछि परेको बंगलादेशले खेलमा फर्किन निकै प्रयास गरे पनि भारतको बलियो रक्षांपंक्तिको अगाडि खुलेर खेल्न सकेन।

पहिलो हाफको तुलनामा सुधारिएको खेल प्रदर्शन गरेको बंगलादेशले दोस्रो हाफको सुरुआतमा खेलमा फर्कने प्रयास गरे पनि फिनिसिङ गर्न सकेन। दोस्रो हाफका सुरुआती २० मिनेट अग्रता लिएको टोलीलाई दबाबमा राखे पनि त्यसपछि भारतले बंगलादेशलाई दबाबमा राखेको थियो। वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरेकी अन्जु तामाङले ७७औं मिनेटमा भारतलाई अग्रता दिलाउन अवसर खेर फालिन्। वान भर्सेस वानको अवस्थामा उनले प्रहार गरेको माथिल्लो बारनजिकैबाट बाहिरिएको थियो।

अग्रता लिए पनि दोस्रो हाफमा गोल थप्न असफल रहेको भारतले अतिरिक्त समयमा चौथो गोल थप्यो। मनीषाले भारतका लागि चौथो गोल थपेकी थिइन्। बाँकी समयमा दुवै टोलीले गोलका लागि संघर्ष गरे पनि सफल हुन सकेनन् र भारतले पाँचांैपल्ट उपाधि नजिक पुगेको हो। दक्षिण एसियाका छ देशको सहभागिता रहेको प्रतियोगिताको फाइनल  शुक्रबार हुनेछ।

प्रकाशित: ७ चैत्र २०७५ ०३:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App