१५ चैत्र २०८० बिहीबार
खेल

टेस्ट क्रिकेटमा अफगानिस्तानलाई सफलता

देहरादून – अफगानिस्तानले टेस्ट क्रिकेटमा ऐतिहासिक जित दर्ता गर्ने क्रममा आयरल्यान्डमाथि सात विकेटको विजय हात पारेको छ। टेस्ट क्रिकेटमा सँगसँगै पाइला टेकेको आयरल्यान्डलाई स्तब्ध बनाउँदै अफगानिस्तानले मंगलबार पहिलो पटक टेस्टमा सफलता प्राप्त गर्याे।

सन् २०१७ मा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले अफगानिस्तान र आयरल्यान्डलाई क्रमशः ११औं र १२औं राष्ट्रको रूपमा पूर्ण सदस्यको मान्यता दिँदै लामो फरम्याटको क्रिकेटमा प्रवेश गराएको थियो। यसअघि गत जनवरीमा भारतविरुद्ध पहिलो टेस्टमा इनिङ र २ सय ६६ रनको लज्जास्पद हार बेहोरेको अफगानिस्तानले एक वर्षपछि नै आयरल्यान्डमाथि सफलता निकाल्न सफल भयो। आयरल्यान्डले पनि गत मेमा पाकिस्तानसँगको पहिलो टेस्टमा पाँच विकेटको हार बेहोरेको थियो। जुन हारको शृंखला अफगानिस्तानसँग पनि दोहोर्यायो।

अफगानिस्तानलाई टेस्टमा क्रिकेटमा पहिलो सफलता दिलाउन राहमत साह र इन्सल्लाह जन्नतले बलियो अर्धशतकीय योगदान दिँदा आयरल्यान्डले प्रस्तुत गरेको १ सय ४७ रनको लक्ष्य चौथो दिनको खेलमा पूरा गर्याे। साह र जन्नतले दोस्रो विकेटका लागि १ सय ३९ रनको बलियो साझेदारी  गरेका थिए। त्यस क्रममा साह ७६ रन बनाएर आउट हुँदा डेब्युटेन्ट जन्नत ६५ रनमा अविजित रहे। 

साहले शृंखला जिताउन उत्कृष्ट ब्याटिङ गर्दै दोस्रो अर्धशतक प्रहार गरे। यसअघि पहिलो इनिङमा साह शतकनजिक पुगेर पनि ९८ रनमा आउट हुँदा अफगानिस्तानले ३ सय १४ रनको योगफल खडा गरेको थियो। अफगानिस्तानलाई शृंखला जितका लागि ३ रन आवश्यक हुँदा भरपर्दो ब्याट्सम्यान साह पवेलियन फर्किएलगत्तै मोहम्मद नावी पनि १ रनमै रनआउट भए। 

यद्यपि, त्यसपछि ब्याटिङमा आएका हस्मतउल्लाह साहिदीले पहिलो बलमै चौका प्रहार गर्दै अफगानिस्तानलाई सहज जित दिलाए। अफगानिस्तानलाई सफलता दिलाउन एकदिवसीय क्रिकेटका नम्बर एक स्पिनर रसिद खानले आयरल्यान्डविरुद्ध पाँच विकेट निकालेका थिए। आइतबारकै तेस्रो दिनको खेलमा खानले पाँच विकेट निकाल्दा आयरल्यान्डको दोस्रो इनिङ २ सय ८८ रनमा खुम्चियो।

खानले ५–८२ को करियरको उत्कृष्ट प्रदर्शन गरे पनि आयरल्यान्डका एन्डी बलबिर्नी र केभिन ओब्रायनले अर्धशतक प्रहार गरेका थिए। बलबिर्नीले ८२ रन र ओब्रायनले ५६ रनको योगदान दिँदा अन्तिम विकेटका लागि जेम्स क्यामरुन र टिम मुर्ताघले ५८ रनको साझेदारी गर्दै अफगानिस्तानविरुद्धको लक्ष्य उकास्ने प्रयास गरेका थिए। 

त्यसपछि ब्याटिङ गरेको अफगानिस्तानका ओपनर मोहम्मद साहजादलाई २ रनमै पवेलियन फर्काउँदै आयरल्यान्डका स्पिनर एन्डी म्याकब्रियनले आफ्नो टोलीलाई उत्कृष्ट सुरुआत दिलाएका थिए। यद्यपि, दोस्रो विकेटका लागि साह र जन्नतले महत्वपूर्ण साझेदारी गर्दै जितनजिक पुर्याए। 

 

प्रकाशित: ५ चैत्र २०७५ ०४:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App