coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

महिला साफ च्याम्पियनसिप : पहिलो हाफमा नेपाल ३–० ले अघि

बंगलादेशविरुद्ध गोल गरेपछि नेपालकी सावित्रा भण्डारी ।

काठमाडौं – पाँचौ महिला साफ च्याम्पियनसिप फुटबलमा अहिले नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा भइरहेको छ। विराटनगरको शहीद रंगशालामा जारी खेलको पहिलो हाफ सकिँदा नेपालले ३–० को अग्रता लिएको छ।

सुरुवातबाटै निकै आक्रामक फुटबल खेलिरहेको नेपालले खेलको छैटौं मिनेटमा बंगलादेशकी डिफेन्डर मासुरा पार्भिनको गोलमार्फत अग्रता लियो। पाँचौं मिनेटमा स्ट्राइकर सावित्रा भण्डारी वान भर्सेस वानमा गोल गर्न चुके पनि लगत्तै आत्माघाति गोलले नेपालले अग्रता बनाएको थियो।

२३ औ मिनेटमा नेपालले सावित्राको गोलमा अग्रता दोब्बर बनायो। बाँया भागबाट बल अघि बढाउँदै गोलकिपरलाई विट गर्दै उनले उत्कृष्ट गोल गरेकी थिइन्। योसँगै सावित्राको अन्तर्राष्ट्रिय गोल संख्या २४ पुगेको छ। लगत्तै २८ औं मिनेटमा सावित्राकै पासमा मञ्जली कुमारी योञ्जनले गोल गर्दै नेपाललाई ३–० को अग्रता दिलाएकी छिन्। कप्तान निरु थापाले वान भर्सेस वानमा पाएको अर्को सुन्दर अवसर खेर फाल्दा नेपालले अग्रता बढाउने मौका गुमायो।

नेपाल र बंगलादेश समूह विजेताका बन्ने लक्ष्यका साथ मैदान उत्रिएका हुन्। दुवै टोली यसअघि नै सेमिफाइनलमा प्रवेश गरिसकेका छन्। नेपाल र बंगलादेशसँग भुटान पराजित भएपछि दुवै टिम एक खेल अगावै अन्तिम ४ मा प्रवेश गरेका हुन्। भुटान नेपालसँग ३–० र बंगलादेशसँग २–० ले पराजित भएको थियो।

नेपाललाई समूह विजेता बन्न यो खेलमा बराबरी गरे पनि पुग्नेछ भने बंगलादेशलाई जित्नैपर्ने दबाब छ। आजको खेलमा मुख्य प्रशिक्षक हरि खड्काले प्लेइङ ११ मा एक खेलाडी परिवर्तन गरेका छन्। डिफेन्डर अमृता जैशीको स्थानमा पुनम जर्घामगरलाई मुख्य प्रशिक्षक खड्काले समावेश गरेका छन्।

 

प्रकाशित: २ चैत्र २०७५ ०९:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App