१५ चैत्र २०८० बिहीबार
खेल

बंगलादेशलाई हराउँदै समूह विजेता बन्ने नेपालको लक्ष्य

शुक्रबार अभ्यास गर्दै नेपालको पहिलो रोजाईकी गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बा (बीच)।    तस्बिरः चुमन/नागरिक

विराटनगर – एक खेल अगावै अन्तिम चारमा स्थान बनाएको साफ च्याम्पियनसिप महिला फुटबलको आयोजक देश नेपालले आज(शनिबार) बंगलादेशसँग समूह विजेताको छिनोफानोका लागि प्रतिस्पर्धा गर्दै छ। विराटनगरकाे शहीद रंगशालामा हुने खेल दिउँसाे २:४५ बाट सुरू हुनेछ। यसअघिका संस्करणमा नेपाल बंगलादेशविरुद्ध अपराजित हुँदै आएको छ।

बंगलादेशविरुद्धको कुल पाँच भेटमा नेपालले चार खेल आफ्नो पक्षमा बनाउँदा एक बराबरीको नतिजा आत्मसात गरेको छ। बंगलादेशमा आयोजना भएको पहिलो संस्करणको सेमिफाइनल भेटमा नेपालले बंगलादेशलाई ३–० हराएको थियो। त्यसपछि २०१२ मा श्रीलंकाकमा भएको दोस्रो संस्करणमा भने बंगलादेश समूह चरणबाट नै बाहिरिएको थियो।

भारतमा सम्पन्न तेस्रो संस्करणमा पनि नेपालले बंगलादेशलाई १–०ले हराउँदै आयोजक भारतसँग उपाधि भिडन्त पक्का गरेको थियो। तर, ०१६ को संस्करणमा भने नेपाल सेमिफाइनलबाटै बाहिरिँदा आयोजक भारतसँग स्तब्ध भयो। सोही संस्करणमा फाइनल प्रवेश गरेको बंगलादेशको साफ च्याम्पियनसिपको सबैभन्दा सफल यात्रा रह्यो।  

नेपालविरुद्ध आक्रामक खेल प्रस्तुत गर्ने बंगलादेश शनिबार हुने खेलमा सुखद नतिजा निकाल्दै जितको यात्रालाई निरन्तरता दिन चाहन्छ। यता, नेपालले पनि बंगालदेशविरुद्ध पूरानै नजिता दोहोर्याउन कुनै कसर बाँकी राख्ने छैन। समूहको पहिलो खेलमा भुटानलाई ३–० ले पराजित गर्दै विजयी सुरुआत गरेको नेपालले एक खेल अगावै अन्तिम चारमा प्रवेश गरेकाले उच्च मनोबलका साथ मैदान उत्रिदै छ। 

अघिल्लो महिना भारतमा सम्पन्न हिरो गोल्डकपमा उपविजेता बन्दै घर फर्किएको नेपालले त्यहाँ भएका कमिकमजोरीलाई सुधार गर्नेछ। साफ च्याम्पियनसिपमा भारतले राख्दै आएको एकलौटी उपाधि हत्याउने लयलाई भंग गर्ने उद्देश्यमा नेपाली टोली स्तरीय खेल प्रदर्शनका लागि मैदान उत्रिनेछ। त्यसका लागि शनिबार बंगलादेशविरुद्ध हुने खेलमा नेपालका लागि सुखद् नजिता आवश्यक हुन्छ।

विजेता बन्दै सेमिफाइनलमा प्रवेश गर्दा सम्भवत नेपालको भेट भारतसँग फाइनलमा हुनेछ। जुन खेलमा नेपाललाई घरेलु मैदानको फाइदा उठाउँदै भारतको उपाधि हत्याउने निरन्तरतालाई भंग गर्ने मौका पाउनेछ। 

शनिबार बंगलादेशविरुद्ध दुई खेलाडी परिवर्तन गर्दै आक्रामक रणनीतिका साथ मैदान उत्रिने नेपाली टोलीका मुख्य प्रशिक्षक हरि खड्काले बताए। विराटनगरको सहिद मैदानमा बंगलादेशविरुद्ध हुने खेलअघि शुक्रबार पत्रकारसँग कुरा गर्दै प्रशिक्षक खड्काले समूहको विजेता बन्नका लागि नेपाल पूर्णरूपमा तयार रहेको बताए। 

‘बंगलादेशविरुद्व जित निकाल्न आक्रामक रणनीति अपनाउनेछौं, ‘प्रशिक्षक खड्काले भने, ‘बंगलादेश पछिल्लो समय बलियो टोलीको रूपमा उदाउँदै आएको छ। साफ प्रतियोगितामा स्थापित टोली पनि हो। यसअघिका संस्करणमा फाइनल प्रवेश गरिसकेकाले नेपाल पनि स्थापित टोली हो। भारत सदाबहार टिम हो।’ 

प्रशिक्षक खड्काले विपक्षीको बलियो र कमजोर पक्ष पत्ता लगाइसकेको बताए। सोही क्रममा उनले नेपालको फरवार्ड लाइन दक्षिण एसियाकै उत्कृष्ट रहेको समेत दाबी गरे। साथै रक्षापंक्तिको परीक्षा भने बंगलादेशविरुद्धको हुने प्रशिक्षक खड्काको भनाइ छ। भुटानविरुद्ध तेस्रो गोल गर्दै नेपाललाई जित सुनिश्चित गराएकी नेपाली टिमकी कप्तान निरु थापाले बंगलादेशविरुद्व सुधारिएको प्रर्दशन गर्ने बताइन्। 

‘पहिलो सफलतापछि हामीमा हौसला बढेको छ। सबै खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गर्दै बलियो टोलीका रूपमा स्थापित गरेका छन्,’ कप्तान निरुले भनिन, ‘टिममा विशेष गरि हाम्रो रक्षापंत्ति र फरवार्ड लाइन बलियो छ। मिडफिल्डलाई सन्तुलित बनाउन प्रशिक्षकको निर्देशनलाई राम्रोसँग पालना गर्नेछौ। नतिजा अवस्य नेपालको पक्षमा आउनेछ।’

सुरुआती तीन संस्करणमा फाइनल यात्रा तय गरेको नेपाल भारतसँग पराजित हुँदै उपविजेतामा खुम्चिनुपर्दा २०१६ को संस्करणमा भने सेमिफाइनलबाट नै बाहिरिएको थियो। साबिकको उपविजेता बंगालदेश पनि ०१६ मा भारतसँग फाइनलमा खेपेको हारको बदला लिने  उद्देश्यलाई जीवितै राख्न घरेलु टोली नेपालविरुद्ध जितको खोजीमा मैदान उत्रिनेछ। 

यसपटक बंगलादेशले समूहको पहिलो खेलमा भुटानलाई २–० ले हराउँदै नेपालले जस्तै एक खेल अगावै अन्तिमा चारमा स्थान बनाएको थियो। तुलनात्मक हिसाबले कमजोर आंकलन गरिएको भुटानले बिहीबार भएको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै पहिलो हाफमा बंगालदेशलाई रोक्न सफल भएको थियो। दोस्रो हाफमा पनि लयलाई निरन्तरता दिन नसक्दा हार बेहोर्दै भुटान समूह चरणबाटै बाहिरियो। 

नेपालविरुद्ध आक्रामक खेल प्रस्तुत गर्ने बंगलादेश शनिबार हुने खेलमा सुखद नतिजा निकाल्दै जितको यात्रालाई निरन्तरता दिन चाहन्छ। यता, नेपालले पनि बंगालदेशविरुद्धको कुल पाँच भेटमा अपराजित नजिता दोहोर्याउन कुनै कसर बाँकी राख्ने छैन। 

प्रकाशित: २ चैत्र २०७५ ०४:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App