८ वैशाख २०८१ शनिबार
खेल

महिला साफ च्याम्पियनसिप : नेपालको विजयी सुरुवात, भुटान ३–० ले पराजित

भुटानविरुद्ध बल अघि बढाउने प्रयासमा नेपालकी सावित्रा भण्डारी (रातो) । तस्बिरः नागरिक

विराटनगर – पाहुना टोली भुटानसँगको खेलइतिहासलाई कायम राख्दै नेपालले साफ महिला च्याम्पियनसिपअन्तर्गत मंगलबार विराटनगरस्थित सहिद रंगशालामा भएको उद्घाटन खेलमा विजयी सुरुआत गरेको छ। 

यसअघि भएका साफ खेलमा समेत नेपालले भुटानलाई धेरै गोलअन्तरमा पराजित गर्दै आएको थियो। नेपालमा पहिलो पटक आयोजना गरिएको महिला फुटबलको अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले भुटानविरुद्ध ३–० को जित निकालेको हो। 

नेपालका प्रशिक्षक हरि खड्काका लागि भुटानसँगको खेल एक विशेष थियो।  मंगलबार खड्काका लागि विशेष दिन परेको थियो। उनलाई भुटानसँगको खेल जित्नका लागि त दबाब थियो नै, जन्मदिनका दिन प्राप्त जितले दिने खुसीयाली त झनै विशेष। उनको इच्छा नेपाली खेलाडीले पूरा गरिदिएका छन्। 

पाहुना टोली भुटानलाई पूरै समय आफ्नो दबाबमा राख्दै नेपालले खेले पनि गोलसंख्या बढाउन सकेन। नेपाली खेलाडीले पाएका राम्रा अवसरलाई सदुपयोग गर्न सकेको भए ६ गोल बढी हुने थियो। नेपालले शनिबार बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ। 

प्रशिक्षक हरि खड्कालाई भुटानसँगको खेल जित्नका लागि त दबाब थियो नै, जन्मदिनका दिन प्राप्त जितले दिने खुसीयाली त झनै विशेष। उनको इच्छा नेपाली खेलाडीले पूरा गरिदिएका छन्। 

भुटानसँगको खेलमा नेपालका लागि मन्जलीकुमारी योन्जन, कप्तान निरु थापा र सावित्रा भण्डारीले गोल गरेका थिए। खेलअवधिमा नेपालकी गोलरक्षक अन्जिला सुब्बालाई बल समाउन वा बचाउन कुनै दबाब रहेन।  

खेलको  १३औं मिनेट नेपालकी मन्जलीकुमार योन्जनले बक्सभित्र पाएको बललाई सदुपयोग गर्दै गोल गरिन्। निरु थापाले गरेको प्रहार भुटानका खेलाडीले राम्रोसँग क्लियर गर्न नसक्दाको फाइदा योन्जनले उठाएकी थिइन्। नेपाली महिला टोलीको गोल मेसिन भनेर चिनिने सावित्रा भण्डारीले १६औं मिनेटमा गोल थपिन्। दीपा राईले बक्सभित्र मिलाइदिएको पासमा उनले गोल गरिन्। २५औं मिनेटमा सावित्राले ट्याकल गर्दै लगेको बल बक्सभित्र भुटानका डिफेन्सले क्लियर गरिदिए। लगत्तै सावित्राले गरेको क्रस पासमा अनमार्क कोही नहुँदा गोल हुन सकेन। 

नेपालकी हीराकुमार भुजेलले ३६औं मिनेटमा दिएको क्रस पासमा सावित्राले हेडिङ गर्न नसक्दा गोल गर्न चुकिन्। त्यसलगत्तै अनिता बस्नेत गरेको क्रस बलमा सावित्राले गरेको हेडिङ बललाई भुटानकी गोलरक्षक संगीता मगरले सहजै समात्न सफल भइन्। ४५औं मिनेटमा नेपालकी सावित्राले कर्नर लाइनबाट दिएको क्रसमा अनिता बस्नेतले गरेको प्रहार पोलमा लाग्दै बाहिरियो।

अनिता बस्नेतलाई ५०औं मिनेटमा डी बक्सअगाडिको लाइनमा लडाएर पाएको फाउलमा सावित्राले गरेको प्रहार गोलरक्षकले सहजै समातिन्। ५३औं मिनेट अनिता बस्नेतले बक्सभित्रबाट गरेको बल गोल हुन सकेन। लगत्तै हीराकुमारी भुजेलले कर्नर लाइनबाट गरेको क्रस पासमा सावित्राको हेडिङ बल रिबाउन्ड हुँदा निरु थापाले गोल थपेकी हुन्। ५७औं मिनेटमा मन्जलीकुमारी योन्जनको पासमा निरु थापाले गरेको हेड बल पोलनजिकैबाट बाहिरियो। अनिता बस्नेतले ८८औं मिनेटमा ट्याकल गर्दै लगेको बल बक्सभित्रैबाट गरेको प्रहारलाई गोलरक्षकले उत्कृष्ट पन्च गर्दै गोल संकट टारिन्। 

नेपालका प्रशिक्षक हरि खड्काले भने खेलाडीले उत्कृष्ट प्रदर्शन गरे पनि सोचेअनुरूपको गोलसंख्या निकाल्न सकेनन्। हरिले बढी गर्मी भएर पनि खेलाडीले थकान महसुस गरेको बताए। उनले भने, ‘६ गोलको अपेक्षा थियो। पाएका धेरै अवसरलाई सदुपयोग गर्न नसक्दा गोलअन्तर पनि कम भयो।’

भुटानका प्रशिक्षक सङ जाइ लीले नयाँ मैदान र गर्मीले खेलाडी थाक्दा हार बेहोर्नुपरेको बताए। ‘नेपाल बलियो टोली भएकाले पनि हामीलाई पराजयको नतिजा हात लाग्यो,’ उनले बताए। उनले होटलदेखि मैदानसम्मको व्यवस्थापन चित्त बुझ्दो नभएको गुनासो गरे।

प्रकाशित: २८ फाल्गुन २०७५ ११:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App