७ वैशाख २०८१ शुक्रबार
खेल

साफ महिला फुटबलको तयारी पूरा, उच्च मनोबलमा नेपाली टोली

साफ महिला प्रतियोगिताका लागि विराटनगरमा नेपाली टोली अभ्यास गर्दै। तस्बिर : चुमन/नागरिक

मोरङ - नेपालमै पहिलो पटक आयोजना हुन लागेको पाँचौं साफ महिला फुटबल प्रतियोगिता मंगलबारदेखि विराटनगरमा सुरु हुँदै छ। प्रतियोगितामा घरेलु नेपाली टोली उच्च मनोबलसहित मैदान ओर्लंदै छ । साफ राष्ट्रमध्ये शक्तिशाली भारतलाई तीन साताअघि उसकै भूमिमा पराजित गरेकाले टोलीको मनोबल उच्च छ।

सहिद रंगशालामा नेपाली टोलीले खरो परीक्षा मात्रै दिँदै छैन, नेपालले सफल आयोजनाको चुनौती पनि सँगै सामना गर्दै छ ।काठमाडौंबाहिर पहिलो पटक हुन लागेको अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको एन्फाले जनाएको छ।

यस प्रतियोगितासँगै प्रदेश १ ले खेलकुदको विकास थालेको खेलसम्बद्ध विभिन्न व्यक्ति बताउँछन् । फागुन २८ देखि चैत ८ गतेसम्म नेपालमै पहिलो पटक आयोजना हुन लागेको अन्तर्राष्ट्रिय महिला फुटबल गर्ने अवसर विराटनगरले प्राप्त गरेको एन्फाका प्रवक्ता तथा साफ महिला च्याम्पियनसिपका प्रचारप्रसार संयोजक किरण राईले बताए।

प्रतियोगितामा घरेलु नेपाली टोली उच्च मनोबलसहित मैदान ओर्लंदै छ । साफ राष्ट्रमध्ये शक्तिशाली भारतलाई तीन साताअघि उसकै भूमिमा पराजित गरेकाले टोलीको मनोबल उच्च छ ।

प्रतियोगिताका लागि नेपाली खेलाडी पूर्ण रूपले तयार रहेको नेपाली टोलीका मुख्य प्रशिक्षक हरि खड्काले बताए । अभ्यासका क्रममा खड्काले भने, ‘टोली घरेलु मैदानको पूरै फाइदा लिँदै उपाधि उचाल्ने दाउमा छ ।’ तीन साताअघि भारतमा आयोजित हिरो गोल्डकपमा उपविजेतामा चित्त बुझाएको नेपाली टोली साफका लागि कडा रूपमा मिहिनेत गरिरहेको छ । ‘हाम्रो टोली मानसिक र शारीरिक रूपमा प्रतिस्पर्धा गर्न सक्षम छ,’ खड्काले भने, ‘यसमा प्रदेश १ का फुटबलप्रेमीको साथले टोलीलाई थप हौसला मिल्नेछ।’ 

गोर्खालीपन र भिड्न सक्ने टोलीको शैलीलाई मैदानमा कायम राख्ने बताउँदै खड्काले भुटान र बंगलादेशविरुद्धका लिग जित्दै  सेमिफाइनल पुग्नका लागि रणनीति बनाइरहेको बताए । सुरुआती दुई खेलपछि अंक हेर्दै भारतका विषयमा केन्द्रित हुने उनको भनाइ थियो।

नेपाल टोलीकी कप्तान निरु थापाले पनि घरेलु मैदानमा शतप्रतिशत नतिजा दिन आफूहरू तयार रहेको बताइन् । मैदानको तयारीलाई लिएर हर्षित थापाले विगत साफका तीता अनुभवलाई बिर्संदै यस पटक इतिहास रच्नेतर्फ टोली केन्द्रित रहेको बताइन्। मिहिनेतको फल प्राप्त हुने र त्यसका लागि टोली पूर्ण रूपमा तयार रहेको कप्तान थापाले दाबी गरिन्।

यसअघि नेपालले समूहचरणमा भिड्ने भुटान र बंगलादेशसँग पछिल्लो समय ५ खेलमा हारको सामना गर्नुपरेको छैन । बंगलादेशसँग भएका पछिल्ला ५ खेलमा नेपालले ४ खेलमा जित र एकमा बराबरीको गरेको छ भने भुटानविरुद्ध पछिल्ला ५ खेलमा जित हासिल गरेको छ । प्रतियोगितामा सहभागी हुन भारत, बंगलादेश, श्रीलंका, भुटान र माल्दिभ्सका टोली आइतबार बेलुकासम्म विराटनगर आइसक्नेछन्।

९ वर्षअघिबाट सुरु भएको साफ महिला फुटबलमा हालसम्म भारतले चारै पटक उपाधि जितेको छ नेपाल तीन पटक उपविजेता भएको छ । एक पटक बंगलादेश उपविजेता भएको छ। 

‘पहिलो पटक हुन लागेको अन्तर्राष्ट्रिय प्रतियोगितामा सबै पक्षले सहयोग गर्दै आएको र अझ यसलाई बढी प्रभावकारी बनाउन सबैले यसकोे प्रचारप्रसार गर्नुपर्छ,’ राईले भने, ‘हामीले खेलको प्रचारप्रसार विभिन्न माध्यमबाट गर्दै आएका छौं । प्रदेश १ मा मात्रै खेलको प्रचारप्रसारलाई सीमित नबनाई देश तथा अन्तर्राष्ट्रिय स्तरमा समेत प्रचार गर्दै आएका छौं ।’  यहाँ हुन लागेको खेलले नयाँ खेलाडीमा उत्साह थप्ने र नयाँ खेलाडीसमेत आउने राईको भनाइ थियो । उनले सुरक्षा व्यवस्था चुस्तदुरुस्त पारिएको बताए।

‘हामीले खेललाई सुरक्षित र भयरहित बनाउन सबै सुरक्षा निकायसँगको सहकार्यमा सुरक्षा रणनीति बनाएका छौं । दर्शक र मैदान सुरक्षाका लागि प्राइभेट सुरक्षाका साथै नेपाल प्रहरी र सशस्त्र प्रहरीसमेत तैनाथी हुन्छन् । खेलाडीलाई प्रहरीको स्कटिङ तथा बस्ने होटलमा समेत प्रहरीको सुरक्षा व्यवस्था मिलाएका छौं,’ राईले थपे, ‘दर्शक तथा प्रतियोगिताका अन्य पाहुनाको सवारीसाधन पार्किङका लागि ट्राफिक प्रहरीसँग सहकार्यमा त्यसको व्यवस्था मिलाएका छौं ।  रंगशालाको प्यारापिट र शौचालयलगायतका संरचना महिला तथा पुरुषमैत्री बनाएका छौं ।’ १० हजार दर्शकले प्यारापिटमा बसेर खेल हेर्न सक्ने राईले बताए। 

प्रहरीले विराटनगरमा हुन लागेको अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको सुरक्षाका लागि मदिरा बिक्री र सेवनमा कडाइ गर्न थालेको छ । प्रतियोगिता नजिकिँदै गर्दा सुरक्षाव्यवस्था मजबुत बनाइएको छ । मोरङका प्रहरी प्रमुख एसपी मनोजकुमार केसीलप्रतियोगिताका लागि विशेष सुरक्षा व्यवस्था मिलाएको बताए।

अन्तर्राष्ट्रिय प्रतियोगिता भएकाले विशेष सुरक्षा व्यवस्था मिलाएको केसीको भनाइ थियो । ‘प्रतियोगिताका लागि विशेष सुरक्षा रणनीति तयार पारेका छौं,’ केसीले भने, ‘सुरक्षामा कुनै कमीकमजोरी नहोस् भन्दै विराटनगर र आसपासका क्षेत्रमा सुरक्षाकर्मीले निगरानी बढाउन थालेका छन् । सुरक्षाकै कारण नेपालको छवि नबिग्रोस् भनेर सुरक्षा निकाय संवेदनशील छ।’

खेलाडी, अफिसियल, पाहुना बस्ने स्थान तथा खेलाडी टोलीले आवश्यक अभ्यास गर्ने स्थान र दर्शकको समेत सुरक्षामा ख्याल पुर्याइएको केसीले बताए । ‘विशेष गरेर प्रतियोगिता आयोजना स्थल र नगरक्षेत्रको सुरक्षामा ध्यान दिएका छौं,’ केसीले भने, ‘राजमार्ग र सहायक मार्गमा सुरक्षाकर्मीको विशेष टोली खटाएर सुरक्षा निगरानी बढाएका छौं ।’ अन्य सुरक्षा निकायसँग सुरक्षासम्बन्धी समन्वय मिलाएको केसीको दाबी थियोे। 

प्रकाशित: २६ फाल्गुन २०७५ ०३:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App