१६ चैत्र २०८० शुक्रबार
खेल

थ्री स्टार आहा रारा गोल्डकपको फाइनलमा

एपिएफका सन्ताेष कटुवालकाे ट्याकल छिचोल्दै बल अगाडि बढाउने प्रयासमा अनिल गुरुङ (निलो जर्सी)।    तस्बिर : उमेश/नागरिक

पोखरा : झरीले रुझेको मैदान हिलाम्यसँगै चिप्लो उस्तै। खेलाडी आफैं पनि नियन्त्रण हुन कठिनाई थियो। बुधबार बिहानैदेखि परेको पानीले पोखरा रंगशालामा १७औं संस्करणको आहा रारा गोल्डकपको सेमिफाइनलमा रुस्लान थ्री स्टारले विभागीय टोली एपिएफलाई अन्तत् पेनाल्टी सुटआउटमार्फत पन्छायो।    

पेनाल्टी सुटआउटमा पराजित गर्दै रुस्लान थ्री स्टार १७औं संस्करणको आहा रारा गोल्डकपको फाइनल प्रवेश गर्दा मनकामना केबलकार पोखरा कपको उपविजेता सशस्त्र प्रहरी बलको सेमिफाइनलबाट यात्रा टुंगिएको छ। एपिएफलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले पराजित गर्दै थ्री स्टारले फाइनल सुरक्षित गर्याे। 

खराब मैदानकै असरले होला, त्यसअघिको निर्धारित समय गोलरहित टुंगिएको थियो। बुधबार विहानैदेखि परेको पानीले रुझेको मैदानमा प्रतिस्पर्धाको पहिलो सेमिफाइनलको निर्धारित समयको खेलपछि दुवै टोलीको सहमतिमा सीधै पेनाल्टी सुटआउट गरिएको थियो। 

मैदान हिलाम्मे भएपछि थप समयमा खेल लम्ब्याउन उपयुक्त नदेखिएपछि हानिएको पेनाल्टीमा एपिएफ अभागी बन्यो। दुई पेनाल्टीलाई चुकाएपछि फाइनलसम्म यात्रा लेखाउने अवसर गुम्यो। पहिलो पेनाल्टीमा थ्री स्टारका रन्जित धिमालले गोल गरे। एपिएफको पहिलो पेनाल्टी सुदीप सिख्राकार हान्न आए। तर उनको प्रहार क्रसबार ठोक्किएर आउट भयो।

मैदान हिलाम्मे भएसँगै थप समयमा खेल लम्ब्याउन उपयुक्त नदेखिएपछि हानिएको पेनाल्टीमा एपिएफ अभागी बन्यो। एपिएफले दुई पेनाल्टीलाई चुकाएपछि फाइनलसम्म यात्रा लेखाउने अवसर गुमायो।  

थ्री स्टारको दोस्रो पेनाल्टीमा बुद्धराज लिम्बुको प्रहारलाई वैकल्पिक गोलकिपरको रूपमा मैदान छिरेका रोमन रसाइलीले बचाए। त्यससँगै एपिएफको आशा जीवितै रह्यो। तर, तेस्रोमा सुनील बलले गोल गरेपछि थ्रीस्टारले पेनाल्टीमा अग्रता बनायो। यता, एपिएफका आशिष लामाले पनि गोल फर्काए। थ्रीस्टारका रूपेश केसीले चौथो पेनाल्टी हाने। 

उनले एपिएफका गोलकिपर रसाइलीलाई कुनै मौका नै दिएनन्। एपिएफका सन्तोष कुटवालले पनि गोल गरेपछि पेनाल्टी सुटआउट रोमाञ्चक बन्ने देखियो। त्यसपछि आएका एपिएफएका विक्की लामाले बार च्याप्दै हानेको पेनाल्टी प्रहार  बाहिरिएपछि थ्री स्टार जितको संघारमा पुग्यो।

थ्रीस्टारका अनन्त तामाङले पेनाल्टी गोल गरेपछि फाइनल यात्रा तय हुँदा एपिएफले चिसो मैदानमा सेमिफाइनलबाट चिस्सिँदै पोखराको यात्रालाई टुङ्ग्यायो। झरीले भिजेको मैदानमा दुवै टोलीको अपेक्षाकृत खेल दर्शकले हेर्ने अवसर भने पाएनन्। आफैं नियन्त्रण हुन कठिनाई भएको अवस्थामा निर्धारित ९० मिनेटमा दुवैले गोलरहित खेल्दै टुङ्ग्याएका थिए। 

केही अवसर सिर्जना गरे पनि गोलको खडेरी तोड्न भने दुवै टोलीले सकेनन्। खेलको १४औं मिनेटमा सुनील बलको क्रसलाई मार्टिनले प्रहार गर्न नसक्दा एपिएफका डिफेन्डरले क्लियर गरेका थिए। मार्टिनले एपिएफका गोलकिपरको हातबाट फुत्किएको बललाई पोस्टको दिशा दिनबाट चुके। रूपेश केसीले हानेको पावर सट बल पनि एपिएफका गोलकिपरले पन्च गर्दै सेभ गरे। 

थ्री स्टारले कर्नरको अवसर पायो। दोस्रो हाफमा भने एपिएफले सुधारिएको खेल प्रस्तुत गर्दै प्रतिस्पर्धात्मक बनायो। ६०औं मिनेटमा आशिष तामाङको बललाई थ्री स्टारका गोलरक्षक एलन न्यौपानेले पन्च जोगाए। प्रदीप लामाले कर्नरबाट मिलाइदिएको पासलाई आशिषले सुपयोग गर्दै प्रहार गरेका थिए।

थ्री स्टारका फरवार्ड मार्टिनले अतिरिक्त समयमा गोल गर्ने सुनौलो अवसरलाई गुमाए। उनले हानेको बल एपिएफका डिफेन्डर रमेश दंगालको खुट्टामा छुँदै बाहिरियो। जुन थ्री स्टारको अन्तिम अवसर पनि थियो। त्यसपछि रेफ्रीले निर्धारित समय टुंगिएको संकेत गरिदिए। 

थ्री स्टारका अनन्त तामाङ म्यान अफ दी म्याच घोषित हुँदै नगद ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। सहारा क्लबको आयोजना तथा हिमश्री फुड्सको मुख्य प्रायोजनमा सञ्चालित प्रतियोगिताको बिहीबार त्रिभुवन आर्मीले डाउफिन्स फुटबल क्लब क्यामरुनसँग खेल्नेछ। 

प्रकाशित: १६ फाल्गुन २०७५ ०४:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App