२७ श्रावण २०७७ मंगलबार
खेल

महिला टी–२० विश्वकप छनोट : नेपालद्वारा कुवेत पराजित, रुविनाको ह्याट्रिक विकेट

काठमाडौं – आइसीसी महिला टी–२० विश्वकपको एसिया क्वालिफायर अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले कुवेतलाई ३० रनले पराजित गरेको छ। नेपालले प्रस्तुत गरेको ११७ रनको लक्ष्य पछ्याएको कुवेत २० ओभरमा ९ विकेटको क्षतिमा ८६ रनमा समेटियो।

कुवेतका लागि कप्तान मार्याम ओमरले सर्वाधिक २९ बनाइन्। ३६ बलको सामना गरेकी ओमरले ३ चौंका प्रहार गरिन्। त्यस्तै प्रियादा मुरलीले ३७ बलमा १४ तथा सब्रिन जाकी र मरिआम्मा हेइदरले समान १२–१२ रनको योगदान दिए।

मार्याम असरफ ४ र खादिजा खालिल १ रनमा आउट भएको इनिङमा ४ जना ब्याट्सम्यान शून्य रनमा आउट भएका थिए। कुवेतलाई सस्तैमा समेटन नेपालकी कप्तान रुविना क्षेत्रीले ह्याट्रिक विकेट लिइन्। उनले अन्तिम ओभरको अन्तिम ३ बलमा लगातार विकेट लिएकी थिइन्। ४ ओभर बलिङ गरेकी रुविनाले १७ रन खर्चिन्। करुना भण्डारीले ४ ओभरमा १२ रन दिँदै समान ३ विकेट नै लिइन्। त्यस्तै नेरी थापा र कविता कुँवरले एक–एक विकेट हात पारे।

यसअघि थाइल्याण्डको बैंककस्थित एसियन इन्टिच्युड अफ टेक्नोलोजी मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११६ रन बनाएको थियो।

नेपालका लागि बिन्दु रावलले २८ रनको नटआउट पारी खेलिन्। ४९ बलको सामना गरेकी बिन्दुले १ चौंका प्रहार गरेकी थिइन्। कप्तान रुविना क्षेत्रीले २२ रन जोडिन्।  उनले १३ बलमा ३ चौंका प्रहार गरिन्। त्यस्तै नेरी थापाले १९ बलमा ३ चौंकाको मद्दतमा १९ र काजोल श्रेष्ठले १६ बलमा २ चौंकाको सहायतामा १८ रनको योगदान दिइन्।

सीता राना मगर र सरिता मगर शून्य रनमा पेवेलियन फर्किको इनिङमा इन्दु बर्मा र रोमा थापाले समान ७–७ रन बनाए। नेपालले ४६ रन हुँदा ५ विकेट गुमाएको थियो। तर, छैटौं विकेटका लागि बिन्दु र नेरीले ३७ रनको साझेदारी गर्दै नेपालको इनिङ उकासेका थिए। बलिङतर्फ कुवेतकी मार्याम ओमर र प्रियादा मुरलीले समान २–२ तथा अम्ना तारिक  र मदेहा जुबेरीले १–१विकेट लिए। 

 

प्रकाशित: १५ फाल्गुन २०७५ १२:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App