१६ चैत्र २०८० शुक्रबार
खेल

क्रिकेट प्रतियोगिता आयोजना गर्न पूर्वाधार अभाव

सुर्खेत – पछिल्लो समय क्रिकेट खेलप्रति आमनेपालीको आकर्षण बढ्दै गए पनि यहाँ पूर्वाधार अभावमा प्रतियोगिता गर्न समस्या हुने गरेको छ। कर्णाली प्रदेशका १० जिल्लामध्ये चार जिल्लामा क्रिकेट संघका जिल्ला समिति गठन छन्। वर्षमा एक–दुई पटक मात्रै यहाँ क्रिकेटका गतिविधि हुने गरेका छन्।

कर्णाली प्रदेशको राजधानी सुर्खेतमै क्रिकेट प्रतियोगिता गर्नका लागि स्थान अभाव छ। जिल्ला क्रिकेट संघले क्रिकेट रंगशाला निर्माणका लागि वीरेन्द्रनगर नगरपालिका, उपत्यका नगर विकास समिति र कर्णाली प्रदेश सरकारसँग पटकपटक जमिन माग्दै ज्ञापनपत्र बुझाएको छ।

‘अहिलेसम्म जमिनको टुङ्गो लागेको छैन,’ संघका जिल्ला अध्यक्ष श्रीधर केसीले भने, ‘जमिन भए हामी आफैं रंगशाला निर्माणमा जुट्ने थियौं।’ क्रिकेट रंगशाला नहुँदा कहिलेकाहीं हुने प्रतियोगिता फुटबल मैदानमा सञ्चालन गर्नुपर्ने बाध्यता छ। अहिलेसम्म सुर्खेतमा सबैभन्दा ठूलो राशिको कर्णाली प्रिमियर लिग (केपिएल) सम्पन्न भइसकेको छ। क्रिकेट संघले रंगशाला निर्माणका लागि कालिन्चोक, घण्टाघर र नगरपालिका दक्षिणतर्फको जमिन माग गरेको थियो।

प्रदेश सरकारले क्रिकेट रंगशाला निर्माणका लागि छुट्टै स्थान र योजना बनाएको छैन। सामाजिक विकास मन्त्री दल रावल प्रदेश सरकारले बनाउन लागेको बहुउद्देश्यीय रंगशालाभित्रै क्रिकेट खेल्न र हेर्न मिल्ने स्थान बनाइने बताउँछन्। ‘चालू आर्थिक वर्षको बजेटमा प्रदेश राजधानीमा बहुउद्देश्यीय रंगशाला निर्माणका लागि सात करोड बजेट छुट्याएका छौं, संघीय सरकारले पनि दुई करोड विनियोजन गरेको छ,’ मन्त्री रावलले भने, ‘यही बजेटबाट बन्ने बहुउद्देश्यीय रंगशालाभित्रै क्रिकेट खेल्न मिल्ने मैदान र दर्शकका लागि स्थान छुट्याउँछौं।’

नेपालले क्रिकेटमा ठूलो फड्को मारेको बताउँदै मन्त्री रावलले स्थान तय गरेर आगामी आर्थिक वर्षको बजेटमा क्रिकेट मैदानलाई समावेश गरिने बताए।  ‘छोटो समयमै नेपालले अन्तराष्ट्रिय क्रिकेटमा फड्को मारेको छ, यसले पनि हामीलाई प्रदेश स्तरको क्षेत्रीय–अन्तर्राष्ट्रिय क्रिकेट मैदान आवश्यक छ भन्ने बोध गराएको छ,’ विभागीय मन्त्री रावलले भने, ‘अर्को वर्षको बजेटमार्फत छुट्टै क्रिकेट रंगशाला निर्माणका लागि बजेटको व्यवस्था गर्छौं।’ उनले क्रिकेट रंगशाला निर्माणका लागि अहिलेदेखि नै जमिनको खोजी गर्ने बताए। ‘स्थानीय तह र नगर विकास समितिसँग सहकार्य गरेर जमिनको खोजी गर्छाैं’ उनले भने, ‘जमिन प्राप्त भएपछि आवश्यक बजेट छुट्याउँछौं।’

सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत प्रदेश राजधानी सुर्खेतमा बहुउद्देश्यीय रंगशाला र हिमाली जिल्ला हुम्लाको सिमीकोटमा उच्च हिमाली खेलकुद रंगशाला निर्माण गर्ने तयारी गरेको छ। उच्च हिमाली खेलकुद रंगशालाका लागि चार करोड रुपियाँ प्रदेश सरकारले छुट्याएको छ। दुईवटै रंगशालाको विस्तृत सम्भाव्यता अध्ययनको काम सुरु गरिएको छ। 

 

प्रकाशित: १५ फाल्गुन २०७५ ०१:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App