८ वैशाख २०८१ शनिबार
खेल

फुटबलका बादशाह 'मेस्सी'

काठमाडाैं - अर्जेन्टिना तथा बार्सिलोनाका फुटबल स्टार लियोनल मेस्सीले पुनः एकपटक आफु अझै फुटबलको स्टार नै रहेको प्रमाणित गरेका छन्। ३१ वर्षीय मेस्सीले शनिबार राती ला लिगा अन्तर्गत सेभिल्लासँग भएको खेल मात्रै जिताएनन् उनले करियरकै अर्को चमत्कारीक खेल कौशलसमेत प्रदर्शन गरे। बार्सिलोना २–१ ले पछि परेको अवस्थामा उनले ह्याट्रिक पुरा गर्दा त्यो उनको खेल जीवनकै ५० औं ह्याट्रिक बन्न पुग्यो। यो उनको ला लिगाको ३२ औं ह्याट्रिक हो। ला लिगामा सबैभन्दा पहिले उनले सन् २००७ को मार्चमा रियल मड्रिड विरुद्ध ह्याट्रिक पुरा गरेका थिए। ला लिगामा सबैभन्दा बढी ह्याट्रिक गर्ने रेकर्ड भने रियलका पूर्व खेलाडी क्रिस्टियानो रोनाल्डोको नाममा रहेको छ। ला लिगामा यो रेकर्ड रोनाल्डोको नाममा रहेपनि च्याम्पियन्स लिगमा सबैभन्दा बढी ह्याट्रिक पुरा गर्ने खेलाडीको सूचीमा मेस्सी अग्रस्थानमा रहेका छन्। उनले गत वर्षको सेप्टेम्बरमा च्याम्पियन्स लिग अन्तर्गत पीएसभीसँग भएको खेलमा ह्याट्रिक पुरा गर्दै यो रेकर्ड आफ्नो नाममा लेखाएका थिए।

मेस्सीले राष्ट्रिय टोलीबाट भने ६ ह्याट्रिक पुरा गरेका छन्, उनले पहिलो पल्ट सन् २०१२ मा स्विट्जरल्याण्ड विरुद्ध भएको मैत्रिपूर्ण खेलमा ह्याट्रिक पुरा गरेका थिए। उक्त खेलमा अर्जेन्टिना ३–१ ले विजयी भएको थियो। पछिल्लोपल्ट भने मेस्सीले सन् २०१८ को मे मा इक्वेडर विरुद्ध भएको मैत्रिपूर्ण खेलमा ह्याट्रिक गरेका थिए। उक्त खेलमा अर्जेन्टिना ४–० ले विजयी भएको थियो।

मेस्सीले सेभिल्ला विरुद्ध २८ गोल गरेका छन्। ला लिगाको इतिहासमा कुनै पनि एउटा टोली विरुद्ध एउटै खेलाडीले गरेको यो सबैभन्दा बढी गोल संख्या हो। जारी सिजनमा उनले ला लिगामा २५ गोल गरिसकेका छन् भने च्याम्पियन्स लिगमा ६ गोल गरेका छन्।
फुटबलका जादुगर खेलाडीका रुपमा छवि बनाएका बार्सिलोनाका स्टार मेस्सीले आफ्नो करियरमा ६५० औं गोलसमेत पुरा गरेका छन्। उनले सेभिल्ला विरुद्ध ८५ औं मिनेटमा गरेको गोल बार्सिलोनाका लागि ६ सय ६९ औं खेलमा गरेको ५ सय ८५ औं गोल हुन पुग्यो। बार्सिलोनाका तर्फबाट उनले गोलकालागि २२७ पल्ट एसिस्ट समेत गरेका छन्। वायाँ खुट्टामार्फत कलात्मक गोल गर्न सक्ने खुबी भएका उनले क्लब र अर्जेन्टिनाका लागि ५ सय ३७ गोल वायाँ खुट्टाबाट गरेका छन् भने उनले दायाँ खुट्टा मार्फत ८६ गोल गरेका छन्। उनी क्लबमा हुँदा बार्सिलोनाले ३३ ट्रफि जितेको छ।

मेस्सीले देशकालागि भन्दा पनि क्लबकालागि फुटबलमा महत्वपूर्ण योगदान दिइरहेका छन्। अर्जेन्टिका तर्फबाट खेल्दा खेलिएका अधिकांश प्रतियोगिताहरुमा उनी सफल हुन नसक्दा अर्जेन्टिनी समर्थकहरुबाट बेलाबखत उनको आलोचनासमेत हुने गरेको छ। अर्जेन्टिनाका तर्फबाट हालसम्म (फ्रेव्रुअरी २५,२०१९) खेलिएका १ सय २८ खेलमा उनले ६५ गोल गरेका छन्। यसलाई अनुपातमा हेर्ने हो भने यो ० दशमलव ५१ हुन आउँछ। यसै आँकडालाई क्लबका खेलमा रुपान्तर गरेर हेर्ने हो भने उनले बार्सिलोनाका लागि खेलेका कुल ६ सय ६९ खेलमा ५ सय ८५ गोल गरेका छन्। यसलाई गोल अनुपातमा हेर्ने हो भने ० दशमलव ८७ हुन आउँछ। तसर्थ माथिका आँकडालाई समेत विष्लेषण गरेर हेर्दा उनी क्लबका खेलमा बढी सफल भएका देखिन्छन्।

३१ वर्षको उमेरमा पुगिसक्दा समेत उनको जोस जाँगर उस्तै उर्जावान देखिन्छ। ला लिगाको जारी सिजनमा मात्रै उनले आफ्नो टोलीका लागि हालसम्म गरेका २५ गोलको सहयतामा बार्सिलोनाले दोस्रो स्थानको रियल मड्रिडसँगको दुरी १० अंकमा झार्न सफल भएको छ।
मेस्सीको खेल कौशल र क्षमताका कारण उनलाई फुटबलका बादशाह भनेर चिनिने म्याराडोनासँग समेत तुलना गरिन्छ। म्याराडोनाले नै उनलाई आफ्नो उत्तराधिकारी भएको बताएका थिए। म्याराडोना उनको खेल कौशलबाट निकै प्रभावित छन्। २०१८ मा रुसमा सम्पन्न विश्वकपमासमेत उनी मेस्सीको प्रशंसा गर्दै उनलाई समर्थन गर्न खेलमैदानमै पुग्ने गरेका थिए।

मेस्सी सानैदेखि फुटबलमा अब्बल खेल प्रदर्शन गर्थे। उनले सन् २००४ मा नै १७ वर्षको उमेरमा बार्सिलोनामा स्थान बनाउँदा ला लिगा खेल्ने सबैभन्दा सानो उमेरको रेकर्ड समेत आफ्नो नाममा लेखाए। फुटबलको सर्वोच्च निकाय फिफाले प्रदान गर्ने सर्वोत्कृष्ट वर्ष खेलाडी पुरस्कार बालोन डी'ओर ५ पटक जितेका उनले सबैभन्दा बढी उक्त उपाधि हात पार्ने खेलाडीकाे सूचीमा राेनाल्डाेसँग बराबरी गरेका छन्।

सन् २००७ मा नै उनले बालोन डी'ओरका फाइनल प्रतिष्पर्धामा आफ्नो स्थान बनाएका थिए। तर उक्त वर्ष उनी तेस्रो हुन पुगे। २००७ को उपाधि भने ब्राजिलका रिकार्डो काकाले जितेका थिए भने दोस्रो स्थानमा क्रिस्टियानो रोनाल्डो आएका थिए। त्यसयताका अधिकांश वर्षहरुका उपाधिमा मेस्सी र रोनाल्डोबीच नै प्रतिष्पर्धा चलेको छ। सन् २००८ मा दोस्रो स्थानमा चित्त बुझाएका मेस्सीले सन् २००९ मा भने २२ वर्षको उमेरमा पहिलो पल्ट बालोन डी'ओरको उपाधि चुमेका थिए। सन् २००८ मा भने रोनाल्डोले उनलाई पछि पार्दै अवार्ड आफ्नो पोल्टामा पारेका थिए। त्यसपछि सन् २००८ को बदला लिँदै मेस्सीले २००९ मा रोनाल्डोलाई नै पछि पार्दै उपाधि जिते। त्यसयपछि उनले पुनः लगातार तीन पल्ट बालोन डी'ओरको उपाधि जिते। २००९ मा रोनाल्डोलाई पछि पारेका उनले २०१० मा भने स्पेनका आन्द्रेस इनियस्टालाई पछि पारे भने २०११, २०१२ र २०१५ मा पुनः रोनाल्डोलाई नै पछि पारे। बालोन डी'ओरको उपाधिका लागि सन् २००७ यता यी दुईबीच निकै प्रतिष्पर्धा भयो। गत वर्ष २०१८ को उपाधि भने क्रोएसिया तथा मड्रिडका खेलाडी लुका मोड्रिचले हात पार्दै धेरै वर्ष अघिदेखिको उनीहरुको उपाधिमाथिको एकाधिकार तोडे।
ला लिगाका सर्वाधिक गोलकर्ता मेस्सीको जन्म २४ जुन १९८७ मा अर्जेन्टिनाको रोसारियोमा भएको थियो। फुटबलप्रेमी परिवारमा जन्मिएका मेस्सीको सानैदेखि फुटबलप्रति झुकाव बढ्न थाल्यो। उनी ४ वर्षको उमेरमै स्थानीय ग्रान्डोली क्लबमा अनुबन्धित भए। जहाँ उनका बुबा नै प्रशिक्षक थिए। त्यसपछि उनी ६ वर्षको उमेरमा रोसारियो क्लब गए। त्यहाँ रहँदा उनले करिब ५ सय गोल गरे। शारीरिक विकासका लागि आवश्यक पर्ने हार्मोनको कमीका कारण समस्यामा परेका मेस्सीको उपचार बार्सिलोना क्लबले गरीदिने भएपछि उनी १३ वर्षको उमेरमा स्पेन गए। उपचार गरीदिएवापत मेस्सीले बार्सिलोना एकेडेमीमा रहनुपर्ने थियो। यो उनका लागि सुवर्ण अवसर समेत बन्न पुग्यो। एकेडेमीमा उत्कृष्ट प्रदर्शन गरेका मेस्सीले १७ वर्षकै उमेरमा सन् २००४ मा बार्सिलोनाका तर्फबाट डेब्यु खेल खेले। सन् २००४ मा अर्जेन्टिनाको यू–२० खेलेका मेस्सीले सन् २००५ मा नै सिनियर राष्ट्रिय टोलीमा स्थान बनाए। उनले सिनियर टोलीबाट पहिलो अन्तर्राष्ट्रिय खेल परागुवे विरुद्ध खेले। उक्त खेलमा उनले १ गोल गर्नुका साथै २ गोलका लागि एसिस्ट गरे। अर्जेन्टिनाका लागि सर्वाधिक गोलकर्ताका रुपमा रहेका मेस्सी अन्तर्राष्ट्रिय खेलमा डेब्यु गर्ने सबैभन्दा कान्छा उमेरका खेलाडी समेत हुन्। उनी अर्जेन्टिनाका लागि फिफा विश्वकपमा सहभागी हुने र गोल गर्ने सबैभन्दा कान्छा खेलाडी समेत बने। उनले सन् २००६ मा सम्पन्न फिफा विश्वकपमा सहभागिता जनाएका थिए। सन् २०११ यता कप्तानका रुपमा अर्जेन्टिना फुटबललाई सम्हालेका उनले आफ्नो टोलीलाई तीन पटक विभिन्न प्रतियोगिताको फाइनल सम्मको यात्रा तय गराएका छन्। अर्जेन्टिनाले मेस्सीको कप्तानीमा सन् २०१४ को विश्वकप फुटबल र २०१४ तथा २०१५ को कोपा अमेरिकाको फाइनलमा स्थान बनाएको थियो।
मेस्सीले सन् २०१६ मा अन्तर्राष्ट्रिय खेलबाट सन्यासको घोषणा गरेका थिए। कोपा अमेरिका फुटबलको फाइनलमा पराजित भएपछि मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका थिए। तर, अर्जेन्टिनी राष्ट्रपति तथा उनका करोडौं समर्थकको आग्रहमा उनले सन्यास फिर्ता लिँदै सन् २०१८ को  विश्पकप फुटबल छनोट खेल्ने निर्णय गरेका थिए। सन् २०१८ काे रुस विश्वकप फुटबलको समूह चरणमा समेत अर्को चरण प्रवेशका लागि संघर्ष गरेको अर्जेन्टिना शिर्ष १६ अन्तर्गत फ्रान्ससँग भएको खेलमा ४–३ को हार व्यहोर्दै वाहिरिदा मेस्सीले आफ्नो कप्तानीमा अर्जेन्टिनालाई ३२ वर्षपछि उपाधि दिलाउने सपना चकनाचुर भएको थियो।
(एजेन्सीकाे सहयाेगमा)

 

प्रकाशित: १३ फाल्गुन २०७५ १२:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App