१६ चैत्र २०८० शुक्रबार
खेल

अभिषेकको ह्याट्रिकमा नेपालको लगातार दोस्रो जित

काठमाडौं – अभिषेक रिजालले ह्याट्रिक गर्दा नेपालको यु–२१ फुटबल टोलीले भारतमा जारी दोस्रो डाक्टर टिएओ नर्थ इस्ट इन्टरनेसनल यु–२१ गोल्डकप प्रतियोगितामा भारतको टोली मनिपुरमाथि शनिबार ३–१ को जित निकालेको छ।

दोस्रो खेलमा त्रिपुरामाथि प्राप्त ८–० को फराकिलो जितपछि उच्च मनोबलमा रहेको नेपालको युवा टोलीले पहिलो हाफमा २–० को अग्रता लिएको थियो। साइ रंगशालमा शनिबार भएको खेलमा अभिषेक रिजालले १९औं मिनेटमा नेपाललाई सुरुआती अग्रता दिलाएका थिए।

अनिल महर्जनको पासलाई सदुपयोग गर्दै अभिषेकले विपक्षी मनिपुरको पोस्टमा गोल गर्न सफल भएका थिए। ३०औं मिनेटमा अभिषेकले नै हेडरमार्फत गोल गर्दै नेपाली टोलीको अग्रता दोब्बर पारे। उनदे एरिक विष्टको क्रस पासलाई सदुपयोग गर्दै नेपालको अग्रता दोब्बर पारेका हुन्।

पहिलो हाफको अग्रतापछि उच्च मनोबलमा रहेको नेपाली टोलीले पहिलो हाफको लयलाई निरन्तरता दिन सकेन। केही रक्षात्मक देखिएको नेपाल घरेलु टोलीको आक्रामक खेललाई रोक्नमा नै व्यस्त बन्यो। ५४औं मिनेटमा मनिपुरका लागि सङ्पुले गोल गर्दै अग्रता छोट्याएका थिए। त्यसपछि आक्रामक देखिएको नेपाली युवा टोलीले ७८औं मिनेटमा तेस्रो गोल गर्यो।

बल अगाडि बढाउने क्रममा मनिपुरका गोलकिपरले नेपालका धीरज श्रेष्ठलाई पेनाल्टी बक्सभित्र खराब फाउल गरे पनि नेपाली युवा टोलीले पेनाल्टीको अवसर पाएको थियो। पेनाल्टी विवाद ४ मिनेटपछि मात्र साम्य भएको खेलमा ८२औं मिनेटमा अभिषेकले पेनाल्टीबाट गोल गर्दै नेपालको अग्रता ३–१ पुर्याउँदै जित सुनिश्चित गरे।

यससँगै अभिषेकले मनिपुरविरुद्ध ह्याट्रिक पूरा गर्दा प्रतियोगितामा दोस्रो ह्याट्रिक गरे। यसअघि अभिषेकले त्रिपुरामाथि ८–० को फराकिलो जित निकाल्दा चार गोल गरेका थिए। जारी प्रतियोगितामा अभिषेकले ७ गोल पुर्याएका छन्। तीन खेलबाट दोस्रो जित हात पारेको नेपालको तालिकामा ६ अंक भएको छ। प्रतियोगितामा आइतबार नेपालले चौथो खेल मिजोरमसँग खेल्नेछ।

प्रकाशित: १२ फाल्गुन २०७५ ०५:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App