८ वैशाख २०८१ शनिबार
खेल

आफ्नै खर्चमा तयारी

प्रशिक्षणपश्चात बाहिरा फुटबल खेलाडीहरू। तस्बिर : नागरिक

काठमाडौं - ‘सबल खेलाडीजस्तै देशका लागि केही गर्न चाहन्छौं। हामीसँग पनि क्षमतावान् खेलाडी छन्, जसले खेलकौशल मार्फत विदेशी भूमिमा देशको झन्डा फहराउन सक्छन्,’ थाइल्यान्डमा हुने एसिया प्यासिफिक अन्तर्राष्ट्रिय बहिरा फुटसल च्याम्पियनसिपको तयारीमा रहेकी बहिरा खेलाडी लक्ष्मी महर्जनले यस्तो दुखेसो पोखिन्।

लक्ष्मीसहित खेलाडी टोली आगामी १५ फेब्रुअरीदेखि २५ सम्म एसिया प्यासिफिक बहिरा स्पोर्ट्स फेडेरेसनको आयोजनामा थाइल्यान्डको बैंककमा हुने च्याम्पियनसिपको तयारीका लागि बाफलमा प्रशिक्षण गरिरहेकी छन्। तर, प्रशिक्षणका क्रममा दोभासेको सहाराले तयारीबारे प्रश्न गर्दा लक्ष्मीले आफूहरूलाई सबल खेलाडीको तुलनामा किन बेवास्ता गरियो भन्दै प्रतिप्रश्न गरिन्।

लक्ष्मीले सबल खेलाडीजस्तै आफूहरू पनि नेपालको नाम र झन्डा बोकेर खेले पनि राज्यबाट बहिरा खेलाडीका लागि बेवास्ता हुँदै आएको आरोप लगाइन्। ‘हामी आठ जना व्यक्तिगत खर्चमा प्रतियोगिताका लागि तयारी गरिरहेका छौं,’ संकेत दोभासे प्रकाश महर्जनको सहारा लिँदै लक्ष्मीले भनिन्, ‘हामीहरूले त्यहाँ प्रतियोगिता जित्दा देशकै नाम जपिन्छ। हामी र सबल खेलाडीले पाउने पदक एकै किसिमका हुन्छन् भने पाउने अधिकारमा चाहिँ किन विभेद ?’

बहिरा महिला फुटबल टोली गत पुस १६ गतेदेखि आफ्नै खर्चमा बाफलको युनाइटेडले फुटसलमा दैनिक रूपमा प्रशिक्षण गरेका थिए। आठ खेलाडीलाई एन्फा एकेडेमीका पहिलो ब्याचका खेलाडी विक्रम महर्जनले प्रशिक्षण दिइरहेका छन्। विक्रम नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान विराज महर्जनका आफ्नै दाइ हुन्। बहिरा खेलाडीसँग देशका लागि खेलेर पदक जित्ने ठूलो लक्ष्य रहेकाले साथ दिएको विक्रमले बताए। ‘उनीहरू कयौं महिनादेखि आफ्नै खर्चमा मिहिनेत गरिरहेका छन्,’ प्रशिक्षक विक्रमले भने, ‘खेलप्रति उनीहरूको लगाव देखेर प्रशिक्षण गराएँ।’ प्रशिक्षक विक्रमले भने टाढाटाढा दुईवटा बस परिवर्तन गरेर खेलाडीले दैनिक रूपमा प्रशिक्षण गरेको जानकारी दिए।

‘बिहान पढेर ट्रेनिङ गर्न आउँछन्। ट्रेनिङ पश्चात् दिउँसो काम गर्नसमेत पुग्छन्। उनीहरूको दैनिकी यसरी नै चलेको छ,’ विक्रमले भने, ‘तर पनि थकान छैन। प्रशिक्षणमा उत्तिकै बल लगाउँछन् र मिहिनेत गर्छन्। त्यसैले सबल खेलाडीलाई भन्दा यिनीहरूलाई प्रशिक्षण गर्दा निकै आनन्द आउँछ।’ बहिरा फुटबल टोलीको अन्तर्राष्ट्रिय प्रतियोगितामा भने दोस्रो सहभागिता हो। यसअघि जापानमा भएको फुटबल प्रतियोगितामा महिला टोलीले उत्कृष्ट प्रदर्शन गर्दै तेस्रो स्थान प्राप्त गरेको थियो। यसपटक पनि शीर्ष दुईभित्र रहने लक्ष्य रहेको नेपाली टोलीकी कप्तान लक्ष्मीले बताइन्। नेपालले आफ्नो लिगमा चार राष्ट्रसँग प्रतिस्पर्धा गर्नेछ। शीर्ष दुईमा रहने राष्ट्रले स्विट्जरल्यान्डमा हुने विश्व च्याम्पियनसिपमा सहभागिता जनाउन पाउनेछ।

नेपाली टोलीकी कप्तान लक्ष्मीले आफ्नो टोलीले एक महिनादेखि तयारी गरेकाले प्रतियोगितामा राम्रो नतिजा हासिल गर्ने बताइन्। आफूहरूसँग व्यक्तिगत खर्चमा तयारी गरिरहेकाले प्रतियोगिताका दौरान फिजियो नहुने भएकाले केही समस्या उत्पन्न सक्ने लक्ष्मीले बताइन्। ‘हामीले कयौं क्षेत्रमा सहयोगका लागि अनुरोध गर्‍यौं,’ उनले भनिन्, ‘तर पाउन सकेनौं। राष्ट्रिय खेलकुद परिषद्मा पनि धेरै पटक धायौं, सुनुवाई भएन।’‘तर, पनि हाम्रो लक्ष्य रोकिन्न,’ दृढ संकल्प बोकेकी लक्ष्मीले भनिन्, ‘जेजति सक्छौं त्यसैबाट खेल्छौं र सफलता पनि प्राप्त गर्नेछौं। हामी कुनै किमिसको डाइटबिना तयार भएका खेलाडी हौं। तर, पनि हामीसँग विशेष किसिमको जोस छ। त्यसैबाट बलियो राष्ट्रविरुद्ध चुनौती प्रस्तुत गर्नेछौं।’ उक्त प्रतियोगिताका लागि खेलाडीहरू शुक्रबार नै  थाइल्यान्डतर्पm प्रस्थान गरिसकेका छन्।

कप्तान लक्ष्मीले बलियो राष्ट्र जापान, चीन, थाइल्यान्ड र इन्डोनेसियाविरुद्ध चुनौती प्रस्तुत गर्न आफूहरू पूर्ण रूपले तयार भएको बताइन्। प्रशिक्षक विक्रमले पनि खेलाडीले राम्रो तयारी गरेकाले नतिजा राम्रो आउनेमा आशावादी रहेको बताए। आठ सदस्यीय टोलीमा मनिका राई, वर्षा गुरुङ, ब्रिन्दा राना, विष्णु महर्जन, संगीता बस्नेत, रेनुका श्रेष्ठ र श्रद्धा श्रेष्ठ छन्। व्यवस्थापकमा आयुश शाक्य र इनिमा महर्जन छन्।

‘हामी आठ जना व्यक्तिगत खर्चमा प्रतियोगिताका लागि तयारी गरिरहेका छौं। हामीहरूले त्यहाँ प्रतियोगिता जित्दा देशकै नाम जपिन्छ। हामी र सबल खेलाडीले पाउने पदक एकै किसिमका हुन्छन् भने पाउने अधिकारमा चाहिँ किन विभेद ?’

प्रकाशित: ४ फाल्गुन २०७५ ०३:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App