७ वैशाख २०८१ शुक्रबार
खेल

नेपाललाई ऐतिहासिक टी-२० अन्तर्राष्ट्रिय शृंखला

तस्बिर साैजन्य : रमन शिवाकाेटी

काठमाडाैं - नेपालले पहिलो पटक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज जित्दै इतिहास रचेको छ। युएई विरुद्धको टी-२० सिरिज नेपालले २-१ ले आफ्नो पक्षमा पारेको हो। यो सँगै नेपालले युएई विरुद्धका दुबै सिरिज आफ्नो पक्षमा पारेको छ। यसअघि नेपालले एकदिवसीय सिरिज समेत २-१ ले आफ्नो पक्षमा पारिसकेको छ।

आइतबार युएई स्थित आइसिसी एकेडेमीमा खेलिएको अन्तिम तथा निर्णायक खेलमा नेपालले युएईलाई १४ रनले पराजित गर्यो। अन्तिम ओभरमा खेल जित्न २० रनकाे आवश्यकता रहेकाे अवस्थामा नेपालका लागि बलिङ गर्न आएका ललित राजवंशीले सुरुका दुर्इ बलमा लगातार विकेट लिएपछि नेपाल लगभग जित नजिक पुगेकाे थियाे। उनले ओभरकाे पहिलाे बलमा रिजवान र अमिर हयातलाइ आउट गरे। उनी ह्याट्रिक गर्न बाट भने चुक्न पुगे।

वर्षाले प्रभावित हुँदा १०  ओभरमा झारिएकाे खेलमा नेपालले दिएकाे १ सय ५ रनकाे विजयी लक्ष्य पछ्याएकाे घरेलु टाेली युएईले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै ९० रन मात्रै जाेड्न सकेपछि नेपालले ऐतिहासिक श्रृङ्खला आफ्नाे पक्षमा पार्न सफल भएकाे हाे। नेपालकाे जितमा करन केसी, अविनाश बाेहरा र ललित राजवंशीले समान २/२ विकेट लिए। उत्कृष्ट सुरुवात गरेपनि युएईका मध्येक्रमका व्याट्सम्यान चल्न नसक्दा घरेलु टाेलीले श्रृङ्खला बचाउन सकेन। युएईका शैमान अनवरले ३०, घुलाम सब्बरले २५ तथा मुहम्मद बुटाले ११ रन बनाउनु बाहेक अन्य खेलाडीले दाेहाेराे अंक समेत छुन सकेनन्।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेकाे नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १ सय ४ जाेडेकाे थियाे। कप्तान  पारस खड्काले १४ बलमा २९ रन जाेडे। यस्तै सन्दीप जाेराले ११ बलमा २८ तथा विनाेद भण्डारीले २१ रन बनाए। युएईका लागि माेहम्मद नाविद र सुल्तान अहमदले समान २/२ विकेट लिए।

नेपालले यसअघि २ ट्वान्टी–२० शृंखला खेलेपनि कुनै पनि शृंखला भित्र्याउन सकेको थिएन। २०१४ मा श्रीलंकामा भएको हङकङविरुद्धको ४ खेलको ट्वान्टी–२० शृंखला नेपालले १–० ले गुमाएको थियो। सुरुआती तीन खेल वर्षाले रद्द भएको थियो भने अन्तिम खेलमा नेपाल २ विकेटले स्तब्ध भएको थियो। त्यस्तै २०१५ मा नेपालले नेदरल्यान्ड्सविरुद्ध ४ खेलको ट्वान्टी–२० शृंखला खेलेको थियो। जहाँ सुरुआती तीन खेल गुमाएको नेपालले अन्तिम खेलमा सुखद नतिजा ल्याए पनि अन्ततः शृंखला  ३–१ ले गुमाएको थियो।

बिहीबार पहिलो ट्वान्टी–२० खेलमा युएईलाई २१ रनको नतिजा सुम्पिएको नेपालले शुक्रबार ४ विकेटको जित हात पार्दै तीन खेलको शृंखला १–१ को बराबरीमा ल्याएको थियो।

प्रकाशित: २० माघ २०७५ १२:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App