२८ श्रावण २०७७ बुधबार
खेल

अव्यवस्थित बन्दै राष्ट्रिय खेल

अफ्ठयारो स्थानबाट सर्भिस गर्दै पश्चिमाञ्चलकी मञ्जु गुरुङ । तस्बिर : विजय गजमेर/नागरिक

काठमाडौं – एक समय, नेपालमा कमै मात्र महिला भलिबल प्रतियोगिता हुन्थे। वर्षमा हुने एक–दुई प्रतियोगिता नै नेपाली महिला भलिबल खेलाडीका लागि महोत्सवजस्तै हुन्थ्यो।

तर, पछिल्लो समयमा महिला भलिबल प्रतियोगिता अत्याधिक बढेका मात्र छैनन्, एउटा प्रतियोगिता नसकिँदै अर्को प्रतियोगितामा सहभागी हुनुपर्ने बाध्यता छ। तर प्रतियोगिताको स्तर भने बढ्नुको साटो लगातार घटिरहेको छ। अव्यवस्थित रूपमा सञ्चालन भएका प्रतियोगिताले खेलाडीलाई घाटा भइरहेको छ।

विदेशतिर एक खेल खेलेपछि कम्तीमा दुई दिनसम्म खेलाडीले आराम पाउँछन्। त्यो समयमा हरेक खेलअघि र पछिका रणनीति बनाइन्छ। खेलाडीले पनि प्रशिक्षणमा आफ्नो गल्ती सुधार्ने अवसर पाउँछन्। नेपालमा भने अवस्था फरक छ। नेपाली खेलाडीले ७ महिना प्रतियोगिताबाट टाढा रहनुपर्छ भने दुई–तीन महिना भने भ्याइनभ्याइ हुन्छ।

सशस्त्र प्रहरी बल एपिएफकी खेलाडी रेश्मा भण्डारीले आरामबिना लगातार प्रतियोगिता हुँदा खेलाडीको प्रदर्शनमा समेत असर पर्ने  बताइन्। ‘एउटा प्रतियोगिता खेलिसकेपछि कम्तीमा एक हप्ता आराम दिनुपर्छ,’  रेश्माले भनिन्,‘अनि मात्र स्तरीय प्रदर्शन गर्न सकिन्छ।’

पछिल्लो समय आयोजकले नाफा आर्जन गर्ने उद्देश्यले आयोजित प्रतियोगिता खेलाडीका लागि घातक बन्दै आएका छन्। उनीहरूले कलिलै उमेरमा खेलकुदबाट बिट मार्नुपर्ने अवस्था सिर्जना हुन थालेको छ। लगातारको प्रतियोगिता, अव्यवस्थित खेलमैदानका कारण खेलाडीले चोट बोकिरहेका छन्।

त्यसको उदाहरण हुन्, नेपाल पुलिस क्लबकी ओपन स्पाइकर कामना विष्ट। कामनालाई नेपाली महिला भलिबलको उदीयमान खेलाडी मात्र होइन, राष्ट्रिय टोलीको पनि महŒवपूर्ण सदस्यका रूपमा हेरिने गथ्र्याे। तर, पछिल्ला समय चोटका कारण कामनाले दर्शकका रूपमा प्रतियोगिता नियालिरहनुपरेको छ।

२०७३ सालमा पर्वतमा सम्पन्न प्रथम दिदीबहिनी कप भलिबल प्रतियोगितादौरान घाइते भएकी कामनाले चोट बोकेको दुई वर्ष भयो। लामो समय बितिसक्दा पनि उनको चोट अझै ठीक हुन सकेको छैन। खुला मैदान र खाल्टाखुल्टी भएको कोर्टमा खेल्दा असन्तुलनका कारण कामनाले खुट्टामा चोट बोकेकी थिइन्।
चोटले केही असहज भए पनि त्यसलाई सुरुमा सामान्य रूपमा लिएर उनले युवा जोसले प्रतियोगिता खेलिन्। तर, त्यही जोस उनका लागि घातक बन्यो। विगत एक वर्षदेखि उनी कोर्टबाहिर छिन्। भर्खर १९ वर्ष भए पनि उनको खेलजीवनमा ठूलो धक्का लागेको छ। कामना एक उदाहरण मात्र हुन्।

पछिल्ला समय सञ्चालन भएका प्रतियोगिताका शैली र अवस्थाले धेरै खेलाडी मारमा परिररहेका छन्। आर्मीका प्रशिक्षक कपिलकिशोर श्रेष्ठ तालिमभन्दा पनि लगातार खेल्दा खेलाडीमा समस्या आइरहेको बताउँछन्। ‘प्रतियोगिता धेरै हुनु राम्रो हो। यसले खेलाडीले पनि सिक्ने अवसर पाउँछन्,’ आर्मीका प्रशिक्षक श्रेष्ठले भने, ‘तर, अव्यवस्थित रूपमा सञ्चालन भएका प्रतियोगिता खेलाडीका लागि उल्टै घातक बनिरहेका छन्।’

उनी एकपछि अर्को प्रतियोगिता खेल्नुअघि समय ग्याप हुनुपर्ने बताउँछन्। ‘एउटा खेलपछि खेलाडीलाई किन हा¥यौं वा कसरी जित्यौं भन्ने तालिमबाट निर्धारण गर्नुपर्ने हुन्छ। अनि मात्र खेलाडीको स्तर सुध्रिन सक्छ।’ अहिले नयाँबसपार्कस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रमा डबल लिग महिला भलिबल प्रतियोगिता सञ्चालन भइरहेको छ।

यो पनि अन्य प्रतियोगिताजस्तै निकै अव्यवस्थित छ। जहाँ खेलाडीले खेल्ने कोर्ट र बाँसको चिराले बनाएको प्यारापिट निकै नजिक छ। खेलाडी बल उठाउन दौडँदा उनीहरूले हरेक दिन समस्या परिरहेको छ।  रेश्मा भण्डारीले कोर्टको खाली स्थान निकै कम हुँदा खेल्न निकै अफ्ठ्यारो हुने बताउँछिन्।

‘अप्ठ्यारो संरचनाका कारण कतिपय उठाउन सकिने बल पनि छोडिदिन्छौं,’ रेश्माले भनिन्। महिला भलिबल प्रतियोगिता सीमित हुँदा ढोरपाटन लिग नेपाली खेलाडीका लागि ऊर्जा बन्ने गर्दथ्यो। तर, पछिल्ला समय आयोजकले खेलको स्तरभन्दा पनि मुनाफालाई ध्यान दिएपछि प्रतियोगिताको साख पनि घट्दै गएको छ।

ढोरपाटन भलिबलबाटै लोकप्रियता कमाएको न्यु डायमन्ड एकेडेमीले यस वर्ष लिग नै खेलेन। न्यु डायमन्डले प्रतियोगिता नखेल्नुका कारणमध्ये लगातार प्रतियोगिता सञ्चालन हुनु, खेल व्यवस्थापनको स्तर खस्किँदै जानु पनि एक हो। जुन हाल सञ्चालन भइरहेका खेलको नतिजाले पनि साबित गर्दछ।

यस पटक ढोरपाटनमा सहभागिता जनाएका दुई क्लबको नतिजा धेरै पटक यस्तो रह्यो, २५–२, २५–३ र २५–२। यस वर्ष भएका आठवटै प्रतियोगितामा सहभागिता जनाएको विभागीय टोली एपिएफले  उत्कृष्ट प्रदर्शनबाट भन्दा पनि विपक्षीको नेगेटिभ स्कोरमै जित हासिल गरिरहेको छ। यस्तो हुनुको कारण लगातारको प्रतियोगिता र खेलाडीको थकान एवम् र चोट नै हो।

आर्मीका प्रशिक्षक श्रेष्ठ ठूला भनिएका प्रतियोगिता पनि अव्यवस्थित सञ्चालन गरिएको बताउँछन्। ‘हामीकहाँ इन्डोर कभर्डहल नहुँदा खुला मैदानमा खेल्नुपर्छ,’ श्रेष्ठ भन्छन् ‘यसले प्रतियोगितालाई पनि अव्यवस्थित बनाउँछ भने खेलाडीले पनि चोट बोक्ने गर्दछन्।’ प्रशिक्षक श्रेष्ठ यस्तै प्रतियोगिताले खेलाडीको स्तर बढाउनेभन्दा पनि घटाउने काम गरेको स्विकार्छन्।

‘हाम्रा कयौं खेलाडीले चोट बोकिरहेका छन्,’ आर्मीका प्रशिक्षक श्रेष्ठ भन्छन्, ‘अन्य टोलीमा पनि यस्तै समस्या छ। रिकभरी टाइम नहुँदा खेलाडीले चोट बोक्नु परिरहेको छ।’ नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले भलिबलको नियमभन्दा बाहिर र अव्यवस्थित रूपमा सञ्चालन भएका प्रतियोगिताका आयोजकलाई सचेत गराउने बताए।

‘एकै पटक प्रतियोगिता गर्दा व्यवस्थापनमा केही कमीकमजोरी भएको हुन सक्छ’ महासचिव चन्दले भने ‘अव्यवस्थित रूपमा सञ्चालन भएका प्रतियोगिताका आयोजकलाई संघले सचेत गराउँछ।’ महासचिव चन्द इन्डोर हल नहुँदा मौसमका कारणले सबै प्रतियोगिता एकै पटक गर्न बाध्य भएको बताउँछन्।

‘भलिबल इन्डोर गेम भए पनि हामीकहाँ कभर्डहल छैन। त्यसले गर्दा खुला मैदानमा खेल्नु परिरहेको छ,’ उनले भने ‘वर्षाको समयमा खुला मैदानमा खेल्न नसकिने हुँदा मंसिरपछि लगातार प्रतियोगिता गर्नुको विकल्प छैन।’ उनले राष्ट्रिय स्तरका प्रतियोगिताका लागि संघले समय मिलाए पनि राष्ट्रिय खेलकुद परिषद्ले कतिपय प्रतियोगिता बीचमा घुसाउँदा समस्या परेको बताउँछन्।

‘सबै प्रतियोगिता निश्चित समयमै भएका छन्। राखेपले केही प्रतियोगिता बीचमा घुसाउँदा समस्या आएको हो,’ उनले भने।  महासचिव चन्दले आगामी वर्षदेखि  राष्ट्रिय, राष्ट्रियस्तर र स्थानीय सबै प्रतियोगितालाई वर्गीकरण गरी क्यालेन्डर निर्माण गरिने प्रतिबद्धता व्यक्त गरे।

यस वर्ष भएका आठवटै प्रतियोगितामा सहभागिता जनाएको विभागीय टोली एपिएफले पनि उत्कृष्ट प्रदर्शनबाट भन्दा पनि विपक्षीको नेगेटिभ स्कोरमै जित हासिल गरिरहेको छ। यस्तो हुनुको कारण लगातारको प्रतियोगिता एवं खेलाडीको थकान र चोट नै हो।

प्रकाशित: २० माघ २०७५ ०९:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App