१५ चैत्र २०८० बिहीबार
खेल

टी-२० सिरिजकाे पहिलाे खेलमा युएईसँग नेपाल पराजित

काठमाडाैं - शीर्ष क्रमका ब्याट्सम्यानले पुनः एक पटक निराशाजनक प्रदर्शन गरेपछि नेपालले बिहीबार पहिलो ट्वान्टी–२० खेलमा संयुक्त अरब इमिरेट्स (युएई) लाई २१ रनको नतिजा सुम्पिएको छ।

आइसिसी क्रिकेट एकेडेमीको मैदानमा युएईले प्रस्तुत गरेको १ सय ५४ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै मात्र १ सय ३२ रन बनाउन सक्यो। नेपालले यस खेलबाट रोहितकुमार पौडेल, अविनाश बोहरा र सन्दीप जोरालाई अन्तर्राष्ट्रिय ट्वान्टी–२० क्रिकेटमा डेब्यु गराएको थियो। नेपालका सन्दीप जोराले सर्वाधिक ५३ रनको योगदान गर्दा सोमपाल कामीले २७ र कप्तान पारस खड्काले २५ रन जोडे।

पहिलो ओभरको पहिलो बलमै ओपनर प्रदीप ऐरीलाई युएईका मोहम्मद नाविदले एलबिडब्लुको सिकार बनाएपछि नेपालले गतिलो सुरुआत गर्न सकेन। पारस र ज्ञानेन्द्र मल्लले दोस्रो विकेटका लागि ३१ रनको साझेदारी गर्दै नेपालको इनिङ उकास्ने प्रयास गरेका थिए। १० बलमा ७ रन जोडेका ज्ञानेन्द्रलाई सुल्तान अहमदले विकेटकिपर गुलाम साबेरबाट क्याच गराएका थिए। थप ५ रन जोड्दा अलराउन्डर दीपेन्द्रसिंह ऐरी पनि मात्र ४ रन जोड्दै पवेलियन फर्किएपछि नेपाल दबाबमा परेको थियो।

दीपेन्द्रलाई अमिर हायातले अहमदबाट क्याच गराए। २५ बलमा ४ चौका प्रहार गरेका पारस थप १२ रन जोड्दा जाहुर खानको बलमा पवेलियन फर्किएका थिए। एक इनिङबाट सन्दीपले सम्हालिएको प्रदर्शन गर्दै नेपालको इनिङ उकास्ने प्रयास गरे पनि अर्को इनिङबाट उनले गतिलो साथ नपाउँदा टोलीले निरन्तर विकेट गुमाएको थियो। रोहितकुमार पौडेल र करण केसी पनि समान ४ रनमा पवेलियन फर्किएपछि नेपालको इनिङ थप धरमराएको थियो। रोहितलाई खानले सैबर अनवरबाट क्याच गराएका थिए भने करणलाई  सुल्तान अहमदले कट एन्ड बोल्ड गरेका थिए।

८९–६ को स्थितिमा ब्याटिङका लागि आएका सोमपालसँग सन्दीपले ३९ रनको साझेदारी गरे पनि त्यो नेपाललाई हारबाट जोगाउन पर्र्याप्त भएन। ४६ बल खेलेका सन्दीपले ३ चौका र १ छक्का प्रहार गरे। यससँगै सन्दीप अन्तर्राष्ट्रिय ट्वान्टी–२० क्रिकेटमा पुरुषतर्फ डेब्यु खेलमै अर्धशतक पूरा गर्ने विश्वकै कान्छा खेलाडी बनेका छन्। उनले १७ वर्ष १ सय ३ दिनमै यो उपलब्धि हात पारेका हुन्। त्यस्तै सोमपालले १९ बलमा १ चौका र १ छक्काको मद्दतमा २७ रनको योगदान गरे।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५३ रनको योगदान गरेका थिए। दोस्रो ओभरको पहिलो बलमा युएईका ओपनर अस्फाक अहमदलाई वसन्त रेग्मीबाट क्याच गराउँदै नेपाललाई पहिलो सफलता दिलाएका थिए। १९ रन जोड्दा विकेटकिपर साबेरलाई दोस्रो विकेटका रूपमा गुमाएको युएईले थप २४ रन जोड्दा अर्का ओपनर सिपी रिजवानलाई तेस्रो विकेटका रूपमा गुमायो। ८ रन जोडेका साबेरलाई सोमपालले सन्दीपबाट क्याच गराएका थिए भने २२ रन जोडेका रिजवानलाई वसन्तले पवेलियनको बाटो देखाएका थिए।

चौथो विकेटका लागि म्यान अफ दी म्याच अनवरले मोहम्मद उस्मानसँग ६१ र पाँचाैं विकेटका लागि मोहम्मद बुटासँग ३० रनको साझेदारी गर्दै युएईलाई सम्मानजनक योगफलतर्फ डोर्याएका थिए। अनवरले ३८ बलमा ५ चौका र २ छक्काको मद्दतमा ५९ रन बनाउँदा उस्मानले २४ बलमा १ चौका र २ छक्काको मद्दतमा ३० रनको योगदान गरे। यता १५ बलको सामना गरेका बुटाले १ चौका  र १ छक्काको मद्दतमा १५ रन जोडे। नेपालका वसन्त  र सन्दीप लामिछानेले समान २ तथा सोमपाल र अविनाशले समान १ विकेट लिए। तीन खेलको शृंखलाअन्तर्गत दोस्रो खेल शुक्रबार हुनेछ ।

प्रकाशित: १७ माघ २०७५ १२:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App