१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

राष्ट्र गौरव क्रिकेटर

नेपाल क्रिकेट संघ (क्यान) विवादमा छ। तर, त्यो विवादबीच पनि खेलाडीले आत्मविश्वास उचो बनाइरहेका छन्। एकपछि अर्को सफलता चुमेर तिनले सिंगै मुलुकलाई गौरवान्वित तुल्याइरहेका छन्। क्यान २०७३ वैशाखदेखि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को निलम्बनमा छ। तैपनि खेलस्तर सुधारभन्दा पनि नाफा आर्जन गर्ने उद्देश्यले ट्वान्टी–२० को फरम्याटमा सञ्चालन भएका खेलकै भरमा भए पनि नेपाली क्रिकेटरले गत वर्ष मार्च १५ देखि एक दिवसीय मान्यता दिलाउँदै ऐतिहासिक सफलता पनि दिलाएका छन्।

संयुक्त अरब इमिरेट्स (युएई)विरुद्धको तीन खेलको एक दिवसीय शृंखला २–१ जित्दा नेपाली खेलाडीले गरेको अविश्वासिलो प्रदर्शन त्यसैको पछिल्लो उदाहरण हो। एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले हात पारेको यो ऐतिहासिक सफलता हो। आइसिसीबाट एक दिवसीय राष्ट्रको मान्यता पाएपछि नेपालले पहिलो पटक एक दिवसीय शृंखला जितेको हो। शृंखलाअन्तर्गत पहिलो खेल हारेको नेपालले लगातार दुई खेलमा जित हात पार्दै शृंखला आफ्नो हातमा पार्न सफल हुनु निकै खुसीको कुरा हो।

यो ऐतिहासिक सफलतामा कप्तान पारस खड्कालगायत थुप्रै खेलाडीले महत्वपूर्ण भूमिका निभाएका छन्। शृंखलामा १–० ले पछाडि रहेको अवस्थामा पनि नेपाली क्रिकेटरले समालिँदै दोस्रो र सोमबारको तेस्रो तथा निर्णायक खेलमा चार विकेटको रोमाञ्चक जित दिलाएका छन्। उक्त खेलमा कप्तान पारस खड्काले महत्वपूर्ण एक सय १५ रनको शतकीय इनिङ खेलेका थिए। नेपालले गत वर्ष एक दिवसीय राष्ट्रको मान्यता पाएपछि नेपाली खेलाडीले बनाएको यो पहिलो शतक हो। नेपाली खेलाडीले केही अर्धशतक बनाए पनि एक दिवसीयमा शतक भने बनाउन सकेका थिएनन्।

यसअघि नेपालले नेदरल्यान्ड्ससँग दुई खेलको शृंखला खेलेको थियो। जुन शृंखला १–१ को बराबरी भएको थियो। सोमबार नेपालले ऐतिहासिक शृंखला जित्नुअघि शनिबार नै अर्का खेलाडी रोहितकुमार पौडेलले संसारभर चर्चा बटुलेका छन्। भारत तथा पाकिस्तानका द्विग्गज खेलाडी सचिन तेन्दुलकर र शाहिद अफ्रिदीले कम उमेरमा बनाएको अर्धशतकको कीर्तिमानलाई रोहितले तोडेका थिए। ५८ बलमा ५५ रन बनाउँदा उनी १६ वर्ष एक सय ४६ दिनका भएका थिए। उनले अर्धशतक बनाउँदा पाकिस्तानका अफ्रिदीले सन् १९९६ मा १६ वर्ष दुई सय १७ र भारतका तेन्दुल्करले १६ वर्ष दुई सय ४६ दिनमा बनाएको कीर्तिमान तोडेका थिए।

नेपालमा अन्तर्राष्ट्रिय स्तरको सुविधासम्पन्न क्रिकेट रंगशालासमेत नहुनु विडम्बनाको विषय हो। तसर्थ सरकारले नेपाली क्रिकेटको श्रीवृद्धि गर्न र थप सफलताको आधार बनाउन आवश्यक सम्पूर्ण कदमहरू चाल्न ढिला नगरोस्।

आइसिसीबाट घरेलु क्रिकेटको नेतृत्वदायी निकाय नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमा रहँदा त्यसको प्रत्यक्ष÷परोक्ष प्रभाव खेलाडीमा पर्नु स्वाभाविकै हो। हरेक ठूला प्रतियोगिताको तयारीमा परेको असर समेत कसैबाट छिपेको छैन। अन्य राष्ट्रका खेलाडी संधै व्यस्त रहँदा हाम्रा खेलाडी भने घरभित्रै पनि उपयुक्त तयारीबाट वञ्चित हुनुपर्ने बाध्यता हाम्रो कटु यथार्थ हो। अभिभावक गुमाएको नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिनुपर्दा केही साता अगाडि मात्र आएका विदेश (आइसिसी) को तयारीको भरमा सफलता चुम्नुपर्छ र दिलाएका पनि छन्।

घरेलु संरचना ध्वस्त भएकाले नेपाली खेलाडीले अन्तर्राष्ट्रिय स्तरमा ब्याटिङमा निकै समस्या भोग्दै आएका छन्। तर, युएई भ्रमणको पहिलो खेलबाहेक अन्यमा परिपक्वता देखाए। त्यसमा पनि पारस र युवा खेलाडीको भूमिका झनै सह्रानीय छ। क्रिकेट अन्तर्राष्ट्रिय जगतमा नेपालले ठूलै सफलता पाउने सम्भावना भएको खेल हो। तैपनि यो खेल सरकारको प्राथमिकतामा पर्न सकेको छैन। देश विभिन्न समस्याले जेलिएको स्थितिमा तीन करोड नेपालीलाई खुसी बाँड्दै आएको क्रिकेटलाई सरकारले प्राथमिकतामा राख्नु जरुरी छ। नेपालले चार वर्षका लागि आइसिसीको मान्यता पाएको छ। यो ऐतिहासिक अवसरलाई कसरी सदुपयोग गर्ने भन्ने स्पष्ट योजना र कार्यदिशा नेपाली क्रिकेटसँग छैन।

नाफा आर्जन गर्ने उद्देश्यका केही प्रतियोगितामा सहभागी भएर सन्तुष्ट हुनु परिरहेको छ। एकदिवसीय मान्यतालाई कसरी जोगाइराख्ने र यसपछि टेस्ट राष्ट्रको मान्यता र विश्वकप कसरी खेल्ने भन्ने योजना हामीसँग छैन। विश्वकप खेल्ने सपनालाई साँच्चै विपनामा बदल्न अहिलेदेखि नै तयारी थाल्नुपर्ने हो, तर विडम्बना हाम्रा खेलाडीले यो अवसर पाउन सकेका छैनन्। अहिले हामीले जेजति उपलब्धि हासिल गरिरहेका छौँ, ती सबै खेलाडीको व्यक्तिगत ल्याकतमा भएका हुन्। चाहे कप्तान पारस खड्का हुन् या सोमपाल कामी, सन्दीप लामिछाने र रोहितकुमार पौडेल नै किन नहुन् उनीहरूको व्यक्तिगत प्रदर्शनमा राष्ट्रले सफलता हासिल गरिरहेको छ। त्यसैले नेपाली टिमले आफूलाई अझ परिस्कृत र उत्कृष्ट बनाउन गर्नुपर्ने तयारीहरू थुप्रै छन्। नेपालमा अन्तर्राष्ट्रिय स्तरको सुविधासम्पन्न क्रिकेट रंगशालासमेत नहुनु विडम्बनाको विषय हो। तसर्थ सरकारले नेपाली क्रिकेटको श्रीवृद्धि गर्न र थप सफलताको आधार बनाउन आवश्यक सम्पूर्ण कदमहरू चाल्न ढिला नगरोस्।

प्रकाशित: १६ माघ २०७५ ०३:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App