७ वैशाख २०८१ शुक्रबार
खेल

हिटिङ पौडी पोखरीले बाह्रै महिना प्रशिक्षण

कालोपुलको बेस्ट भेन्यु हिटिङ पौडी पोखरीमा अभ्यास गर्दै खेलाडी । तस्बिर : विजय गजमेर/नागरिक

काठमाडौं – जाडोको महिनामा यसै पनि बिहानबेलुका खेलाडीको प्रशिक्षण कमै हुन्छ। त्यसमा पनि स्विमिङको प्रशिक्षण कम हुनु स्वाभाविक नै हो। पछिल्ला वर्षमा जाडो महिनामा स्विमिङका खेलाडी प्रशिक्षण बन्द गर्न बाध्य नै थिए।

उनीहरूले ६ महिना गरेको प्रशिक्षणकै भरमा १२ महिना उच्च प्रविधियुक्त स्थानमा प्रशिक्षण गरिरहेका विदेशी खेलाडीसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्थ्यो। यस्तो अवस्थामा नतिजामा फरक नहुने त कुरै भएन। खेल सकिएपछि सबैको गुनासो हुन्थ्यो, ६ महिना मुस्किलले प्रशिक्षण गरेर कहाँबाट आउँछ राम्रो नतिजा। अधिकांश पौडी खेलाडीको एउटै गुनासो हुने गर्छ, ‘६ महिना प्रशिक्षण गरेर कसरी पदकको आशा गर्नु ?’

सातदोबाटोस्थित राष्ट्रिय खेलकुद परिसरको पौडी प्रशिक्षण केन्द्र गत वैशाखदेखि मर्मत सुरु गरेकाले खेलाडीहरू प्रशिक्षणविहीन थिए। उक्त पौडी पोखरी आगामी मार्चमा मात्र तयार हुने आफूहरूलाई जानकारी दिएको नेपाल पौडी संघका महासचिव जगतमान श्रेष्ठले उल्लेख गरेका छन्। त्यसबीच खेलाडी प्रशिक्षणविहीन हुने भएपछि उनीहरूको स्तर पनि कम हुने पक्का थियो।

तर, पछिल्ला समयमा संघले ३० खेलाडीलाई समावेश गरेर कालोपुलमा विशेष प्रशिक्षण सुरु गरेको छ। गर्मीमा ६ महिना मात्र प्रशिक्षण गर्दै आएका खेलाडीले अब भने जाडोमा पनि नियमित प्रशिक्षण गर्न पाएका छन्। कालोपुलमा रहेको बेस्ट भेन्युमा हिटिङ पौडी पोखरी सञ्चालनमा आएपछि पौडीका खेलाडीले नियमित प्रशिक्षण गर्न पाएका हुन्।

हिटिङ पुलमा लाग्ने खर्च पौडी संघले पाँच हजार र अभिभावकले पाँच हजार रुपैयाँ तिर्दै आएका छन्।

पौडीका मुख्य प्रशिक्षक शंकर कार्की र आठौं सागमा स्वर्ण विजेतासमेत रहेकी नयना शाक्यले प्रशिक्षण गराइराखेका छन्। छनोट भएका ३० खेलाडीलाई विशेष प्रशिक्षणमा राखिएको छ। एसियाडपछि लामो समयसम्म प्रशिक्षणबिनै रहनुपर्ने अवस्था भए पनि खेलाडीलाई हिटिङयुक्त प्रशिक्षणमा राखिएकाले उनीहरूको स्तर पनि सुधार हुने आशा गर्न सकिन्छ।

हीरारत्न हललाई ब्याङ्क्वेटमा परिणत गरी छेउमा हिटिङ पौडी पोखरी निर्माण गरिएको छ। नेपाली खेलाडीलाई लक्षित गरी गत मंसिरदेखि अत्याधुनिक प्रविधियुक्त हिटिङ पौडी पोखरी सञ्चालनमा ल्याइएको बेस्ट भेन्युका सञ्चालक राजेन्द्र प्रजापतिले जानकारी दिए। उनले आफ्ना छोरा मिराज प्रजापति पनि पौडीको राष्ट्रिय खेलाडी भएकाले उसकै सल्लाहअनुसार हिटिङ पोखरी सञ्चालनमा ल्याएको बताए।

‘मेरो छोरा पनि पौडी खेलाडी भएकाले उनीहरूको समस्या देखेर हिटिङ पोखरी निर्माण गरिएको हो’ राजेन्द्रले भने ‘अब खेलाडीले जाडोमा कठ्याङ्ग्रिएर बस्नु पर्दैन।’ तीन करोडको लगानीमा निर्माण भएको अत्याधुनिक हिटिङ पौडी पोखरी २५ मिटरको छ। साढे चार फिट गहिराइको पोखरीमा ६ लेन छ।

हिटिङ पोखरीमा पौडन मासिक १५ हजार रुपैयाँ खर्चनुपर्दछ। खेलाडीका लागि भने १० हजारमा यो सुविधा लिन सकिने सञ्चालक राजेन्द्रले बताए। पौडीका प्रमुख प्रशिक्षक शंकर कार्कीले पुसदेखि हिटिङ पुलमा खेलाडीको प्रशिक्षण सुरु गरिएको बताए। ‘हिटिङ पोखरीमा पुस ५ गतेदेखि प्रशिक्षण सुरु गरिएको हो,’ कार्कीले भने, ‘राष्ट्रिय टिमको विशेष प्रशिक्षणमा रहेका शुभम् श्रेष्ठ र टिसा शाक्यलगायत राष्ट्रिय तथा जुनियर खेलाडी प्रशिक्षण गरिरहेका छन्।’ यु–१४ की राष्ट्रिय खेलाडी समिराशोभा थापाले पहिले ६ महिना मात्र पौडी खेल्दै आएकोमा हिटिङ पुलमा लगातार पौडी खेल्न थालेपछि  सुधार आइरहेको बताइन्।

‘पहिले ६ महिना खेल्ने र ६ महिना त्यत्तिकै बस्नुपथ्र्यो। यसले गर्दा आफ्नो पर्फमेन्समा नै असर पथ्र्यो। हिटिङ पुलमा प्रशिक्षण गर्न थालेपछि टाइमिङमा पनि सुधार आएको छ,’ उनले भनिन्। यसै गरी राष्ट्रिय खेलाडी अनुभव सुब्बाले लगातार पौडी खेल्दा टाइमिङमा सुधार भइरहको बताए।

‘पहिले जाडो मौसममा घरमै बस्नुपथ्र्यो’ उनले भने ‘अहिले नियमित रूपमा प्रशिक्षण गर्न पाइरहेको छ। यसले आफ्नो टाइमिङमा पनि सुधार आएको छ।’ उनले सर्वसाधारणका लागि लक्षित गरी एउटा मात्र हिटिङ पुल सञ्चालनमा रहेकाले आगामी दिनमा अरु पौडी पोखरी पनि सञ्चालनमा आउनुपर्ने बताए।

यसैगरी उमेरसमूहकै खेलाडी उपास्ती महर्जन, अनुष्का पोखरेललगायतका खेलाडीले पनि जाडो मौसममा पनि प्रशिक्षण गर्न पाउँदा टाइमिङमा सुधार आउनुका साथै स्ट्रोक पनि राम्रो भइरहेको बताए। मुख्य प्रशिक्षक कार्कीले हिटिङ पुल सञ्चालनमा आएदेखि नियमित प्रशिक्षण हुँदै आएकोले खेलाडीको प्रदर्शनबाट खुसी रहेको बताए।

उनले आगामी दिनमा खेलाडीहरूले अझ राम्रो प्रर्दशन गर्ने आशा व्यक्त गरे। एसियाली खेलकुदपछि अन्य खेलका खेलाडीको नियमित प्रशिक्षण नभइरहेको अवस्थामा पौडी संघको विशेष पहलमा विभिन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएका ३० खेलाडीलाई प्रशिक्षणमा समावेश गरिएको उनले जानकारी दिए।

ती खेलाडीले हरेक दिन साँझ तीन घण्टा प्रशिक्षण गरिरहेका छन्। हिटिङ पुलमा लाग्ने खर्च पौडी संघले पाँच हजार र अभिभावकले पाँच हजार रुपैयाँ तिर्दै आएका छन्। खर्चभन्दा पनि जाडो समयमा खेलाडीले प्रशिक्षण गर्न थालेपछि उनीहरूको स्तरमा वृद्धि हुने पौडीका मुख्य प्रशिक्षक कार्कीले उल्लेख गरेका छन्।

प्रकाशित: १५ माघ २०७५ ०४:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App