८ वैशाख २०८१ शनिबार
खेल

न्युजिल्यान्डमा भारतलाई शृंखला

न्युजिल्याण्डविरुद्ध ब्याटिङ गर्दै भारतीय कप्तान विराट कोहली । तस्बिर : एएफपी

वेलिङ्टन –  विराट कोहलीको कप्तानीमा रहेको भारतले घरेलु टोली न्युजिल्यान्डविरुद्धको तेस्रो एकदिवसीय क्रिकेटमा ७ विकेटको जित निकाल्दै पाँच खेलको शृंखला ३–० ले आफ्नो पक्षमा पारेको छ। माउन्ट माउन्गानेउमा सोमबारको तेस्रो खेलमा न्युजिल्यान्डले प्रस्तुत गरेको २ सय ४४ रनको लक्ष्य भारतले कप्तान कोहली र रोहित शर्माको अर्धशतकको मद्दतमा ४३औं ओभरमै पूरा गर्दै शृंखला आफ्नो बनायो।

चौथो विकेटका लागि अम्बाती रायडु र दिनेश कार्तिकले ७७ रनको अविजित साझेदारी गर्दै भारतलाई जित दिलाएका थिए। रायडु ४४ रन र कार्तिक ३८ रनमा अविजित रहे। रायडुले ४२ बलमा पाँच चौका र एक छक्का प्रहार गरे। कार्तिकको इनिङमा पनि पाँच चौका र एक छक्का समावेश थियो। भारतले पहिलो विकेटका रूपमा शेखर धवनलाई २८ रनमै गुमाएको थियो।

ट्रेन्ट बोल्टको बलमा आउट हुनुअघि धवनले आक्रामक ब्याटिङ गर्दै २७ बलमा ६ चौका प्रहार गरे। अर्का ओपनर रोहित शर्माले ७७ बलमा ६२ रन बनाए। २८.५ ओभरमा दोस्रो विकेटका रूपमा आउट भएका शर्माले तीन चौका र दुई छक्का हिर्काए। तेस्रो विकेटका रूपमा कप्तान कोहलीले ६० रन बनाउँदा ६ चौका र एक छक्का प्रहार गरेका थिए।

कोहलीले तेस्रो विकेटका लागि रोहितसँग १ सय १३ रनको सोझदारी गर्दै भारतको जितको आधार बनाएका थिए। यद्यपि, चौथो विकेटका लागि रायडु र कार्तिकले अविजित ७७ रनको साझेदारी भारतलाई ७ ओभरअगावै जित दिलाएका थिए। न्युजिल्यान्डको बलिङमा बोल्टले तीन र मिचेल सान्टनेरले एक विकेट लिए पनि अन्य बलर निराश बने।

घरेलु बलरमाथि सहज रूपमा हाबी हुँदै भारतीय ब्याट्सम्यानले सहजै सफलता प्राप्त गरेका थिए। यता, भारतले यस वर्ष विदेशी भूमिमा लगातार शृंखला आफ्नो बनायो। यसअघि भारतले अस्ट्रेलियाविरुद्ध पनि शृंखला आफ्नो बनाएको थियो। लगातार शृंखला आफ्नो बनाउँदै भारतले विश्वकपको तयारी राम्रो गरी रहेको संकेत गरेको छ।

उक्त खेलमा भारतका पार्ट टाइम बलर रायडु खराब बलिङ एक्सनका कारण दुई हप्ताका लागि प्रतिबन्धमा परेका छन्। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्ड ४९ ओभरमा २ सय ४३ रनमा समेटिएको थियो। उसका लागि रोस टेलरले ९३ र टम लाथमले ५१ रनको मजबुत इनिङ खेलेका थिए।

एक समय न्युजिल्यान्डको खातामा ५९ रन हुँदा तीन विकेट गुमिसकेको थियो। तर, चौथो विकेटका लागि टेलर र लाथमले १ सय १९ रनको साझेदारी गर्दै घरेलु टोलीको इनिङ उकासेका थिए। यद्यपि, त्यसपछि राम्रो साझेदारी बन्न नसक्दा ठूलो स्कोर भने बन्न सकेन। कप्तान केन विलियम्सनले २८ रनबाहेक अन्यले खासै उल्लेखनीय प्रदर्शन गर्न सकेनन्।

भारतको बलिङमा मोहम्मद सामीले ३ विकेट तथा भुवनेश्वर कुमार, युजभेन्द्र चाहाल र हार्दिक पांड्याले समान दुई विकेट लिँदै न्युजिल्यान्डको इनिङ मध्यम स्कोरमै रोकेका थिए। भारतले ह्यामिल्टनमा चौथो एकदिवसीय क्रिकेट बिहीबार खेल्नेछ। जितपछि भारतका कप्तान कोहलीले पछिल्ला दुई खेलमै आफ्नो टोलीमा निकै सुधार आएको बताए।

‘हामीसँग एकपछि अर्को शृंखला नजिक रह्यो,’ भारतका कप्तान कोहलीले, ‘अस्ट्रेलिया भ्रमणको लयलाई यहाँ पनि दोहोर्याउन सफल भयौं। ब्याटिङ र बलिङ दुवैले साथ दिएपछि शृंखलामा सहज रूपमा ३–० ले अगाडि छौं।’ न्युजिल्यान्डका कप्तान विलियम्सनले भारतसँगको हारपछि राम्रो पाठ सिकेको बताए। ‘उनीहरूका बलरले पनि उत्कृष्ट प्रदर्शन गरे,’ न्युजिल्यान्डका कप्तान विलियम्सनले भने, ‘भारतका बलरले हामीलाई गल्ती गर्न बाध्य बनाए। ब्याट्सम्यानले पनि तारिफयोग्य प्रदर्शन गरे।’

प्रकाशित: १५ माघ २०७५ ०४:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App