१५ चैत्र २०८० बिहीबार
खेल

पारसकाे शतकमा नेपालले जित्याे पहिलाे एकदिवसीय सिरिजकाे उपाधि

काठमाडाैं - पारस खड्काको सानदार शतकमा नेपालले युएई विरुद्धको एकदिवसीय श्रृङ्खला २-१ ले आफ्नो पक्षमा पारेको छ। अन्तिम तथा तेस्रो खेलमा युएईलाई ४ विकेटले पराजित गर्दै नेपालले एकदिवसीय श्रृङ्खला आफ्नो पक्षमा पारेको हो। यसअघि भएको पहिलो खेलमा ३ विकेटले पराजित भएको नेपालले त्यसपछिको खेलमा उत्कृष्ट पुनरागमन गर्दै युएईलाई १ सय ४५ रनले पराजित गरेको थियो।

नेपालको जितमा पारस नायक रहे। उनले तेस्राे तथा अन्तिम खेलमा सर्वाधिक १ सय १५ रन बनाए। उनले १ सय ९ बलको सामना गर्दै १५ चौका १ छक्काको मद्दतमा १ सय १५ रन जोडेका हुन्। खड्का एकदिवसीय क्रिकेटमा शतक बनाउने नेपालको पहिलो ब्याट्सम्यान समेत भएका छन्। उनले नेदरल्याण्ड्स विरुद्धको खेलमा ५१ रन बनाएका थिए। यस्तै उनी एकदिवसीयमा सबैभन्दा धेरै रन बनाउने खेलाडी समेत बनेका छन्। यसअघि सन् २०१८ मा युएईसँगै भएको  डिभिजन-२ को फाइनलमा समेत पारसले शतक प्रहार गरेका थिए। उनले उक्त खेलमा ११२ रन बनाएका थिए।
खड्का कदिर अहमदको बलमा एलबिडब्लु आउट भए। ओपनिङ व्याट्सम्यानका रुपमा आएका विनोद भण्डारी ९ रनमा आउट भएपछि उनले नेपालको पारी सम्हालेका थिए। उपकप्तान ज्ञानेन्द्र मल्लले ३१ तथा साेमपाल कामिले अविजित २६ रन बनाउँदा यसअघिकाे खेलमा अर्धशतक प्रहार गरेका राेहित पाैडेलले १६ रन बनाए। युएईका इमरान हैदर र अस्फाक अहमदले समान २/२ विकेट लिए।

यसअघि आइसिसी एकेडेमी दुबईमा टस हारेर पहिले ब्याटिङ गरेकाे घरेलु टोली युएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ५४ रन जोडेपछि नेपालले सिरिज जित्न २ सय ५५ रनको लक्ष्य पाएको थियाे।

खराव सुरुवात गरेको युएईका मध्यक्रमका व्याट्सम्यानले सम्हालिएको प्रदर्शन गर्दा युएई सम्मानजनक योगफल तर्फ उन्मुख भएको थियो। ओपनिङ व्याट्सम्यान अस्फाक अहमद र चिराग सुरीलाई शुन्य रनमा गुमाएको युएईले पाँचौ विकेटकालागि सिपी रिजवान र सैमान अनवरबीच एक सय रनको पार्टनरसिप भएपछि सम्मानजनक योगफल तयार पारेको थियो। युएईका अनवरले सर्वाधिक ८७ रन बनाए। यस्तै रिजवानले ४५ रन बनाउँदा मोहम्मद बुटा ५९ रनमा अविजित रहे। नेपालका पारस खड्का र करण केसीले समान २/२ विकेट लिए। नेपालले एकदिवसीय मान्यता पाएपछि यसअघि नेदरल्याण्ड्ससँग खेलेकाे पहिलाे सिरिज १-१ काे बराबरीमा सकिएकाे थियाे।

प्रकाशित: १४ माघ २०७५ १३:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App