८ वैशाख २०८१ शनिबार
खेल

महिला फुटबल टोलीको बिदाइ

काठमाडौं – अखिल नेपाल फुटबल संघले भारतमा माघ २४ गतेबाट हुने प्रतियोगितामा सहभागी हुने २३ सदस्यीय नेपाली महिला फुटबल टोलीलाई आइतबार बिदाइ गरेको छ।

एन्फा मुख्यालय सातदोबाटोमा आयोजित एक कार्यक्रमबीच अध्यक्ष कर्माछिरिङ र दक्षिण कोरियाली फुटबल संघ (केएफए) का अध्यक्ष चुङ मोङ–ग्युले टोलीलाई बिदाइ गरेका हुन्। नेपाली टोलीले झापामा एक साताको प्रशिक्षणपछि भारत प्रस्थान गर्नेछ। कार्यक्रममा केएफले एन्फालाई ८ सय ९७ जोर जुत्ता हस्तान्तरण गरेको थियो।

‘सर्वप्रथम म ओलम्पिक छनोट २०२० मा गरेको उत्कृष्ट प्रदर्शनका लागि नेपाली महिला टोलीलाई बधाई दिन चाहन्छु,’ चुङ मोङ–ग्युले भने, ‘टोलीले पहिलो चरणमा जस्तै दोस्रो चरणमा पनि उत्कृष्ट प्रदर्शन गर्दै अन्तिम चरणमा स्थान बनाउनेमा म आशावादी छु। आशा छ फाइनलमा कोरिया र नेपालको भेट हुनेछ।’ एन्फा अध्यक्ष शेर्पाले केएफएको सहयोगले नेपाली टोलीको हौसला थप बढेको बताए।

‘महिला टोलीले अन्तर्राष्ट्रिय स्तरमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका छन्,’ शेर्पाले भने, ‘यस्तै प्रदर्शनले आगामी दिनमा पनि निरन्तरता पाउनेमा हामी आशावादी छाैं।’ प्रतियोगिताका लागि एन्फाले शुक्रबार २३ सदस्यीय नेपाली महिला फुटबल टोलीको घोषणा गरेको थियो।

विराटनगरको सहिद रंगशालामा फागुन २८ गतेबाट हुने पाँचाैं साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली महिला राष्ट्रिय टोलीले भारतमा चार राष्ट्र सम्मिलित अभ्यास खेल्न लागेको हो। नेपाली टोलीको कप्तानी निरु थापाले गर्नेछिन् भने टोली प्रशिक्षकमा हरि खड्का रहेका छन्।

साफ च्याम्पियनसिप र ओलम्पिक छनोटअन्तर्गत दोस्रो चरणको तयारीस्वरूप भारतले आयोजना गर्न लागेको प्रतियोगितामा नेपाल सहभागी हुन लागेको हो। साफ र ओलम्पिक छनोटको लक्ष्य राखेर नेपाली राष्ट्रिय महिला टोलीले विगत दुई महिनाबाट अभ्यास गरिरहेको छ।

विराटनगरको सहिद रंगशालामा फागुन २८ गतेबाट पाँचौं साफ च्याम्पियनसिप सुरु हुँदै छ। उपाधिविहीन नेपाल पहिलो पटक घरेलु मैदानमा साफ उपाधि राख्ने लक्ष्यसहित निकै मिहिनेतका साथ अभ्यास गरिरहेको छ। समूह ‘ए’ मा रहेको नेपालले पाकिस्तान, बंगलादेश र भुटान छन्। यसअघि यही संस्करण श्रीलंकामा आयोजना हुने भनिए पनि आयोजकले अन्तिम समयमा आयोजना नगर्ने जनाएको थियो। पहिलो पटक घरेलु मैदानमा हुन लागेको प्रतियोगिता जित्ने नेपालको उद्देश्यमा रहेको छ।

प्रकाशित: १४ माघ २०७५ ०३:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App