६ वैशाख २०८१ बिहीबार
खेल

नेपाली टाेलीकाे अलराउण्ड प्रदर्शनमा युएई १ सय ४५ रनले पराजित, साेमपालले लिए ५ विकेट

काठमाडाैं - नेपाली टाेलीकाे अलराउण्ड प्रदर्शनमा युएई एकदिवसीय श्रृङ्खलाको दोश्रो खेलमा १ सय ४५ रनले पराजित भएको छ। पहिलो खेलमा फितलो ब्याटिङका कारण ३ विकेटको हार व्यहोरेको नेपालले शनिबार सम्पन्न खेलमा ब्याटिङ र बलिङ् दुवैमा राम्रो प्रदर्शन गरेपछि ३ खेलको एकदिवसीय सिरिज १-१ को बराबरीमा ल्याउन सफल भयो।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले युएईलाई जितका लागि २ सय ४३ रनको लक्ष्य दिएको थियो। लक्ष्य पछ्याउने क्रममा युएईका ब्याट्सम्यान नेपालको बलिङसामु धेरै टिक्न नसक्दा नेपाल महत्वपूर्ण जित निकाल्न सफल भयो। शनिबारको खेलमा नेपाल पराजित भएको खण्डमा युएईले सिरिज आफ्नो पक्षमा पार्ने थियो। अव एकदिवसीय सिरिज कस्ले जित्ने भन्ने टुङ्गो अन्तिम खेलमा मात्रै लाग्ने भएको छ।

२ सय ४३ रनको लक्ष्य पछ्याएको युएई १९ दशमलव ३ ओभरमा ९७ रनमा अलआउट भयो। नेपालको जितमा सोमपाल कामीले ५ तथा सन्दीप लामिछानेले ४ विकेट लिए। सोमपालले ६ दशमलव ३ ओभरमा १ मेडन राख्दै ३३ रन खर्चिएर ५ विकेट लिए। यस्तै लामिछानेले ४ ओभरमा १ मेडन राख्दै २४ रन खर्चिएर ४ विकेट लिए। युएईका मोहम्मद उस्मानले सर्वाधिक २६ रन बनाए।

यसअघि ब्याटिङ गरेको नेपालले रोहित कुमार पौडेलको उत्कृष्ट अर्धशतकीय पारीमा निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४२ रन बनाएको थियो। नेपालका लागि रोहितकुमार पौडेलले ५५ रनको अर्धशतकिय पारी खेले।  उनले ५८ बलमा ७ चौंका प्रहार गरे। युवा ब्याट्सम्यान रोहितको यो एकदिवसीय क्रिकेटको पहिलो अर्धशतक हो। रोहितले छैटौं विकेटका रुपमा आरिफ शेखसंग मिलेर ८२ रनको साझेदारी गरे। आरिफ ४९ बलमा २९ रन जाेड्दै पवेलियन फर्किए।

ओपनर ज्ञानेन्द्र मल्ल र बिनोद भण्डारीले पहिलो विकेटका रुपमा ६१ रनको राम्रो साझेदारी गर्दै नेपाललाई बलियो सुरुवात दिलाएका थिए। १६ औं ओभरमा आउट हुनुअघि बिनोदले ४६ बलमा २ चौकाको मद्धतमा २१ रन जोड्दा अर्का ओपनर मल्लले पनि ६१ बलमा ४ चौंकाकाे सहायतामा ४४ रनको योगदान दिए। एकदिवसीय क्रिकेटमा नेपालका ओपनरले गरेको यो सर्वाधिक ठूलो साझेदारी हो।

त्यस्तै कप्तान पारस खड्काले २१, करण केसीले ११ बलमा १ चौंका र २ छक्काको सहायतामा १८, सन्दीप लामिछानेले नटआउट १४ र दिपेन्द्रसिंह ऐरीले १० रनको योगदान दिए। पवन सर्राफ ८ र सोमपाल कामीले २ रनको योगदान दिँदा ललित राजवंशी ३ रनमा नटआउट रहे। युएईका लागि अमिर हयात र इमरान हेइदरले समान ३/३ तथा मोहम्मद नाभिद, जाहोर खान र अस्फाक अहमदले एक/एक विकेट लिए।

प्रकाशित: १२ माघ २०७५ ११:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App