१५ चैत्र २०८० बिहीबार
खेल

एकदिवसीय क्रिकेट : नेपाल दोस्रो खेल खेल्दै, युएईमाथि जित्नैपर्ने दबाव

काठमाडौं – युएई भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले शनिबार घरेलु टोलीसँग दोस्रो एक दिवसीय खेल खेल्दैछ। आइसीसी क्रिकेट एकेडमीमा हुने खेल नेपाली समय अनुसार बिहान ११ः१५ बाट सुरु हुनेछ।

पहिलो खेलमा शुक्रबार युएईसँग ३ विकेटको पराजय भोगेको नेपाललाई एक दिवसीय श्रृखंला जित्ने आशा कायम राख्न आजको खेलमा जित्नैपर्ने दबाब छ। आजको खेलमा पराजित भएमा नेपालले एक खेल अगावै सिरिज गुमाउने छ।

कमजोर ब्याटिङ प्रदर्शनले निरन्तरता पाएसँगै नेपालले पहिलो खेलमा शुक्रबार युएईसँग ३ विकेटले पराजित भएको थियो। नेपालले प्रस्तुत गरेको १ सय १४ रनको झीनो लक्ष्य युएईले ३२.१ ओभरमा ७ विकेटको क्षतीमा पूरा गरेको थियो। नेपालले यस खेलबाट विनोद भण्डारी, पवन सर्राफ र ललित राजवंशीलाई एकदिवसीय क्रिकेटमा डेब्यु गराएको थियो।

सामान्य लक्ष्य पछ्याएपनि युएई १९.२ ओभरमा ७३–७ को स्थितिमा आएपछि खेल नेपालको पक्षमा ढल्किने देखिएको थियो। तर आठौं विकेटका लागि अमिर हायात र इमरान हैदरले अविजित ४३ रनको साझेदारी गरेसँगै युएईले जितका साथ तीन खेलको एकदिवसीय शृंखलामा १–० को अग्रता लिएको हो। ४२ बल खेलेका हायातले १ चौका र १ छक्काको मद्दतमा अविजित २४ रन जोड्दा ३९ बलमा हैदरले १८ रनको योगदान गरे। त्यस्तै गुलाम सब्बिरले ४८ बलमा ३ चौकाको मद्दतले ३० रनको योगदान गरे।

५ रन जोड्दा करण केसीले युुएईका ओपनर अस्फाक अहमदलाई बोल्ड गर्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए। युएइले थप ७ रन जोड्दा अर्का ओपनर चिराग सुरीलाई गुमाएको थियो। सुरीलाई सोमपाल कामीले विकेटकिपर विनोद भण्डारीबाट क्याच गराएका थिए। साइमन अनवारी, मोहम्मद उस्मान र फराद नवाज पनि सस्तैमा पवेलियन फर्किएपछि युएइमाथि दबावमा परेको थियो।

नेपालका करण केसी, सन्दीप लामिछाने र कप्तान पारस खड्काले समान २ तथा सोमपाल कामीले १ विकेट लिए पनि युएईको जित रोक्न सकेनन्। यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ३३.५ ओभरमा सबै विकेट गुमाउँदा १ सय १३ रनको योगफल तयार पारेको थियो।

नेपालका सोमपालले सर्वाधिक ३० रन जोड्दा आरिफ शेखले २५, पारसले २० र सन्दीपले १५ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन्। पहिलो ओभरको चौथो बलमा ओपनर ज्ञानेन्द्र मल्ललाई गुमाएको नेपालले १६ रन जोड्दा अर्का ओपनर विनोद भण्डारी पनि आउट भए।

पारसले तेस्रो विकेटका लागि सोमपालसँग २४ रनको साझेदारी गर्दै नेपालको इनिङ उकास्ने प्रयास गरेका थिए। तर ३६ बलमा २ चौका प्रहार गरेका पारस क्याच आउट भएपछि नेपाल ४४–३ को स्थितिमा आएको थियो। त्यसपछि ब्याटिङका लागि आएका खाता नखोल्दै दिपेन्द्रसिंह ऐरी रन आउट भएपछि नेपाल थप दबावमा पर्यो।

पाँचौं विकेटका लागि सोमपाल र आरिफले २४ रनको साझेदारी गर्दैै थप इनिङ उकास्ने प्रयास गरेका थिए। युएईका हैदरको बलमा एलबिडब्लुको शिकार हुनुअघि सोमपालले ४७ बलमा ३ चौका प्रहार गरेका थिए। त्यसपछि ब्याटिङका लागि आएका पवन ४ रन करण ३ रन र  वसन्त रेग्मी रनको खाता नखोल्दै पवेलियन फर्किएका थिए।

तर, दशौं नम्बरमा ब्याटिङ गर्न आएका सन्दीपले १५ रन बनाउँदै नेपालको इनिङ उकास्ने प्रयास गरे। अमिर हायातको बलमा आउट भएका सन्दीपले २७ बल खेले पनि कुनै पनि बाउन्ड्री प्रहार गर्न सकेनन्। युएईको बलिङमा अमिर र मोहम्मद नाविदले समान ३ विकेट तथा इमरान हैदरले दुई तथा कदिर हैदरले एक विकेट लिँदै नेपालको इनिङ ध्वस्त पारेका थिए।

प्रकाशित: १२ माघ २०७५ ०५:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App