१५ चैत्र २०८० बिहीबार
खेल

आर्मीको अपराजित यात्रा यथावत्

पुलिसकी उषा भण्डारीको सट रोक्ने प्रयासमा श्रीगाउँका खेलाडी। तस्बिर : नागरिक

काठमाडौ – नेपाल आर्मीले १४औं रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल प्रतियोगितामा अपराजित यात्रालाई अगाडि बढाउँदै शीर्ष स्थानको अग्रता कायमै  रहेको छ।

नयाँबसपार्कस्थित ढोरपाटन क्लबको खेलमैदानमा मंगलबार  भएको खेलमा आर्मीले सेबमाथि सोझो सेटमा जित निकाल्दै अपराजित यात्रा यथावत् राख्न सफल भएको हो। उक्त खेलमा आर्मीले सोझो सेटमा जित निकाले पनि सेबले निकै चुनौती प्रस्तुत गरेको थियो। आर्मीले पहिलो सेट ३१–२९ ले रोमाञ्चक रूपमा आफ्नो बनाएको थियो। 

त्यसपछिको सेटमा सेबले चुनौती प्रस्तुत गरे पनि आर्मीले दोस्रो सेट २५–१९ ले र तेस्रो सेट २५–२० ले आफ्नो बनाउँदै सोझो सेटमै जित आत्मसात् गर्यो। त्यो जितसँगै आर्मी ४ खेलबाट १२ अंकसहित शीर्षमा यथावत् छ। अर्को विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफले पाँचौं दिन दोहोरो जित निकाल्दै शीर्ष स्थानको आर्मीमाथि दबाब कायमै राख्यो।

साबिकको विजेतासमेत रहेको एपिएफले ३ खेलबाट ९ अंक बनाउँदै दोस्रो स्थानमा अग्रता बनाएको छ। एपिएफले पहिलो खेलमा सेबलाई २५–८, २५–१४ र २५–१८ को सोझो सेटमा हराउँदै दिनको सुखद सुरुआत गरेको थियो। दोस्रो खेलमा पनि एपिएफले थाहा नगरपालिकालाई २५–७, २५–११ र २५–१२ को सोझो सेटमा पराजित गर्दै आफ्नो लयलाई निरन्तरता दियो।

अर्को विभागीय टोली नेपाल पुलिसले श्रीगाउँ खेलकुद विकास समिति दाङलाई २५–८, २५–९ र २५–८ को सोझो सेटमा हराउँदै २ खेलबाट ६ अंक जोडेको छ। माघ १९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको प्रतियोगिताको विजेताले ३ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछ।

दोस्रो हुने टोलीले २ लाख रुपैयाँ, तेस्रो हुनेले १ लाख रुपैयाँ, चौथो हुने टोलीले ६० हजार रुपैयाँ, पाँचौं हुनेले ४० हजार रुपैयाँ, छैटौं हुनेले ३० हजार रुपैयाँ र सातौं हुने टोलीले २० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन्। विधातर्फ उत्कृष्ट खेलाडी, उदीयमान खेलाडी, वर्ष खेलाडी, प्लेयर अफ दि सिरिज र एक जना दर्शकले १–१ थान स्कुटर पाउनेछन्।

प्रकाशित: ९ माघ २०७५ ०४:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App