coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

विशाल शरीरका बडिबिल्डर नेपाल आउने

काठमाडौं – विश्वको सबैभन्दा ठूलो र बाटुलो शरीर भएका चर्चित प्रोफेसनल बडिबिल्डर ४१ वर्षे रोली विङ्कलार नेपाल आउनेछन्।  ‘द बिस्ट र सामुराई’ उपनामबाट चर्चित डच बडिबिल्डर रोली १४ फेब्रुअरीमा नेपाल आउन लागेका हुन्। उनी आइएफबिबी प्रोफेसनल लिग नेपाल बडिबिल्डङ च्याम्पियनसिप २०१९ मा ‘गेस्ट पोजर’ का रूपमा नेपाल आउन लागेका हुन्। आइएफबिबी लिग नेपालको आयोजनामा हुने उक्त च्याम्पियनसिप आगामी फागुन ३ र ४ गते प्रज्ञा प्रतिष्ठानको हलमा हुनेछ। 

मिस्टर ओलम्पियाको प्रो. क्वालिफायरसमेत रहेको च्याम्पियनसिप नेपाली खेल इतिहासकै ठूलो प्रतियोगितामध्ये एक हो। उक्त च्याम्पियनसिपका लागि आउने रोली ४ दिनसम्म नेपाल बस्ने आयोजकका अध्यक्ष सानु गुरुङले जानकारी दिए। रोलीको हातको पाखुरा मात्र २४ इन्च, थाई २८ इन्च र शरिर तौल १ सय ३० केजी छ। 

‘रोलीलाई नेपालमा स्वागत गर्न पाउँदा हामीलाई गर्व लागेको छ। उनी विश्व चर्चित बडिबिल्डर हुन। विश्वभरि उनको समर्थक छन्,’ आइएफबिबी लिग नेपालका अध्यक्ष सानु गुरुङले भने, ‘यसले विश्वमा नेपाल पनि बडिबिल्डरहरूको देश भनेर चिनाउन मद्दत पु-याउनेछ।’

यस च्याम्पियनसिप अमेरिकामा आयोजना हुने शारीरिक सुगठनको विश्वकप ‘मिस्टर ओलम्पिया’ को छनोट चरण पनि हो। नेपालमा पहिलो पटक हुन लागेको मिस्टर ओलम्पियाका लागि ‘प्रो क्वालिफायर’ को रूपमा रहेको च्याम्पियनसिपमा सयभन्दा बढी विदेशी बडिबिल्डरले चुनौती प्रस्तुत गर्नेछन्। 
कुल ४ वटा विधामा ‘प्रो कार्ड’ जित्न सयभन्दा बढि विदेशी बडिबिल्डरले प्रतिस्पर्धा गर्नेछन्। अमेरिका, बेलायत, फ्रान्स, इटाली, चीन, जापान, रुस, भारत, साउदी अरेबिया, पाकिस्तान र बंगलादेशलगायत २० राष्ट्रका खेलाडीले मेन्स फिजिक, मेन्स क्लासिक–फिजिक, मेन्स बडिबिल्डिङ र महिलातर्फको ‘ओमन फिजिक’ मा चुनौती प्रस्तुत गर्नेछन्। 

नेपालको तर्पmबाट भने नाम तय भइनसकेको आयोजक संस्था आइएफबिबी लिग नेपालका अध्यक्ष सानुले जानकारी दिए। रोली र अन्य अन्य बडिबिल्डरको आगमनले नेपालको पर्यटनमा समेत सकारात्मक प्रभाव पर्ने आयोजकले जनाएको छ। 

सरकारले सन् २०२० मा ‘भिजिट–नेपाल’ मार्फत २० लाख पर्यटक भित्र्याउने उद्देश्य राखेकाले यस प्रतियोगिता ‘माइलस्टोन’ बन्न सक्नेछ। चर्चित बडिबिल्डर रोली र अन्य देशका बडिबिल्डरका लाखौं ‘फलोअर’ हुने गर्दछन्। उनीहरूलाई नेपालको चिरपरिचित स्थानमा घुमाउन सकिएको खण्डमा यसले विश्वभरि नेपालको पर्यटन क्षेत्रको प्रचारप्रसार हुनेछ। आइएफबिबी लिग नेपाल संस्थामा बडिबिल्डिङका बादशाह मानिने हलिउड स्टार तथा अमेरिकास्थित क्यालिफोर्निया राज्यका पूर्वगर्भनर आर्नोल्ड स्वेज्नेगर आबद्ध छन्। आर्नोल्ड ७ पल्टका ‘मिस्टर ओलम्पिया’ विजेतासमेत हुन्।  

प्रकाशित: ३ माघ २०७५ ०४:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App