दुबई – दुबईमा जारी एसिया कप फुटबलमा शुक्रबार चीन र दक्षिण कोरियाले एक खेल अगावै नकआउट चरणमा स्थान बनाउँदा साबिकको विजेता अस्ट्रेलियाले भने अन्तिम १६ प्रवेश गर्न लिगको अन्तिम खेल जित्नुपर्ने भएको छ।
युनाइटेड अरब इमिरेट्समा भएको खेलमा नकआउट चरणमा स्थान सुरक्षित गर्न समूह ‘सी’ को चीनले फिलिपिन्सलाई ३–० ले पराजित गर्दा सोही समूहको अर्को खेलमा दक्षिण कोरियाले किर्गिस्तानमाथि १–० को जित निकाल्न सफल भएको हो। चीन र दक्षिण कोरियाले समूह ‘सी’ अन्तर्गत लिगका दुई खेलमै स्पष्ट जित निकाल्दै अन्तिम १६ स्थान बनाउन सफल भएका हुन्।
चीन ६ अंकका साथ समूहको शीर्ष स्थानमा रहँदा समान अंक रहेको दक्षिण कोरिया दोस्रो स्थानमा रहेको छ। समूह विजेताको टुङ्गो लाग्न यी दुईबीचको खेल हुन बाँकी छ। यहीं समूहमा लगातार दुई खेलमा पराजयसँगै फिलिपिन्स र किर्गिस्तानको नकआउटमा पुग्ने सम्भावना सकिएको छ। प्रतिस्ठाका लागि यी दुई टोली भिड्न बाँकी छ।
शुक्रबार भएको खेलमा चीनलाई जित दिलाउन लि ऊले ४१औं मिनेटमा गोल गर्दै खाता खोलेका थिए। उनले जुनमिन हाओवको पासमा गोल गर्न सफल भएका थिए। अधिकांश समय बलमा पकड जमाए पनि चीनले पहिलो हाफमा एक गोल मात्र गर्न सफल भएको थियो। पहिलो हाफको अग्रतापछि उच्च मनोबलमा रहेको चीनले ६३औं मिनेटमा दोस्रो गोल गर्यो।
जुनमिन हाओको पासमा लि ऊले नै गोल गर्दै अग्रता दोब्बर पारेका हुन्। हावी बनेको फिलिपिन्सले खेलमा फर्किन केही प्रयास गरे पनि सफल हुन सकेन। अग्रता कम बनाउन अगाडि बढेको मौकामा चीनका डाबाओ युले खेल सकिन १० मिनेट बाँकी रहँदा तेस्रो गोल गर्दै जित निश्चित गरे। वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरेका डाबाओले हेडरमार्फत जाली चुमाउन सफल भएका थिए।
बाँकी समयमा फिलिपिन्स खेलमा फर्किन प्रयास गरे पनि सफल हुन सकेन र लगातार दोस्रो खेलमा नतिजा सुम्पिँन बाध्य बन्यो। यस्तै एसिया कपअन्र्तगत शुक्रबारै सम्पन्न अर्को खेलमा सोही समूहको दक्षिण कोरिया पनि लगातार जित निकाल्दै नकआउट चरणमा प्रवेश गरेको हो। किर्गिस्तानमाथि १–० को जित निकाल्न दक्षिण कोरियाका मिन जाइ किमले ४१औं मिनेटमा गरेको गोल नै निर्णायक बनेको थियो।
पहिलो हाफको लयलाई दोस्रो हाफमा पनि कायम राखेको दक्षिण कोरियाले बाँकी गोल थप्न सकेन। साँघुरो जितसँगै दक्षिण कोरिया समूहको एक खेल अगावै अन्तिम १६ मा प्रवेश गर्यो। किर्गिस्तान चीनसँगको पहिलो खेलमा २–१ ले पराजित भएको थियो। समूह ‘बी’ अन्तर्गत पहिलो खेलमा पराजयपछि दबाबमा रहेको साबिकको विजेता अस्ट्रेलियाले शुक्रबारै सम्पन्न अर्को खेलमा प्यालेस्टानमाथि ३–० को जित निकाल्न सफल भयो।
अर्को चरण प्रवेशका लागि अस्ट्रेलियालाई समूहको अन्तिम खेल सिरियाविरुद्ध जित्नैपर्ने दबाब परेको छ। प्यालेस्टाइनविरुद्ध जित निकाल्न अस्ट्रेलियाका जामी माक्लारेनले १८औं गोलका खाता खोलेका थिए भने अवेर माबिले दुई मिनेटपछि दोस्रो र अपोस्टोलोस गियानौले अन्तिम मिनेटमा तेस्रो गोल गरेका थिए।
प्रतियोगिताअन्र्तगत शनिबार भएको खेलमा इरानले भियतनामलाई २–० ले पराजित गर्यो। लिगमा दोस्रो सफलता हात पारेको इरान जितसंगै अन्तिमा १६ मा प्रवेश गर्न सफल भएको छ। यो सँगै अन्तिम १६ मा प्रवेश गर्ने चौथो टोलीको टुङ्गो लागेको हो। यसअघि समूह ‘बी’ बाट जोर्डनले पनि लगातार दुई खेलमा जित निकाल्दै एसिया कपको अन्तिम १६ मा प्रवेश गर्ने पहिलो टोली बन्न सफल भएको थियो।
प्रकाशित: २९ पुस २०७५ ००:०३ आइतबार