१५ चैत्र २०८० बिहीबार
खेल

‘ए’ डिभिजन लिग २०७५ : कीर्तिमान रच्नबाट चुक्यो मनाङ

काठमाडौं – फ्रेन्ड्स क्लबलाई नतिजा सुम्पिँएसँगै च्याम्पियन मनाङ मर्स्याङ्दी क्लब मंगलबार सहिद स्मारक ‘ए’ डिभिजन लिगमा अपराजित रहँदै इतिहास रच्नबाट चुकेको छ। ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा लिगको अन्तिम खेलमा लगातार १३औं जितको खोजिमा रहेको मनाङ फ्रेन्ड्ससँग १–० ले निरास बनेपछि इतिहास रच्नबाट चुकेको हो।

रेलिगेसन नरहने प्रावधानसहित पाँच वर्षपछि आयोजना लिगमा साबिकको विजेता मनाङ मस्र्याङ्दीले दुई खेल अगावै उपाधि रक्षा गरिसकेको थियो। केही नियमित खेलाडीबिना नै मैदान उत्रिएको मनाङले अन्तिम खेलमा उत्कृष्ट प्रदर्शन दोहोर्याउन नसक्दा पराजित लिगमा एक मात्र हार बेहोर्यो।

यद्यपि, खेलअवधिमा मनाङले गोल गर्ने धेरै मौका बुने पनि अग्रपंक्तिका खेलाडीले सदुपयोग गर्न सकेनन्। कमजोर मानिएको फ्रेन्ड्सले रक्षात्मक बन्दै यादगार खेल प्रदर्शन गर्यो। अधिकांश समय बलमा पकड जमाएको मनाङका अञ्जन विष्टसँगै फरवार्ड अफिज ओलावाले अवसर सदुपयोग गर्न असफल रहे।

पहिलो हाफमा विदेशी खेलाडी अफिज ओलावाले हेडरमार्फत गोल गर्दै जाली चुमाए पनि उक्त गोललाई रेफ्रिले अफसाइडको संकेत दिएका थिए। दोस्रो हाफमा आक्रामक देखिएको मनाङले ४७औं मिनेटमा राम्रो अवसर खेर फाल्यो। पेनाल्टीबक्सको दायाँ भागबाट हेमन गुरुङले प्रहार गरेको फ्रिकिक अनमार्क रहेका कमल श्रेष्ठ हेड गर्न चुक्दा मनाङ अग्रता लिने अवसरबाट वञ्चित भएको थियो।

त्यसको केही मिनेटपछि नै अफिजले मैदानको मध्यभागबाट लिएको बललाई फ्रेन्ड्सका गोलकिपर रोमन रसाइली अगाडि बढेको मौकामा सदुपयोग गर्न सकेनन्। रोमनको घुँडामा लागेको बल फर्किएपछि अञ्जनले खाली पोस्टमा एयर बल प्रहार गरे पनि पोस्टभन्दा निकै माथिबाट बाहिरिएको थियो। जितको लयलाई निरन्तरता दिन एक पछि अर्को आक्रमण गरेको मनाङका लागि सुजल श्रेष्ठले ७६औं मिनेटमा दिएको लामो पासमा स्ट्राइकर अञ्जन विष्ट फेरी चुके।

थपिएको समयमा फ्रेन्ड्सले पाएको फ्रिकिक मनाङलाई महँगो साबित भयो। फ्रेन्ड्सका अनिल मर्हजनले पेनाल्टीबक्सको दायाँ भागबाट प्रहार गरेको फ्रिकिकमा अनमार्क रहेका विकास लामाले हेडरमार्फत जाली चुमाउँदा मनाङ अन्तिम खेलमा स्तब्ध बनेको हो। अन्तिम खेलमा पराजय भोगे पनि लिगमा उत्कृष्ट प्रशिक्षक घोषित भएका मनाङका प्रशिक्षक सुमन श्रेष्ठले पाएका राम्रा अवसरलाई सदुपयोग गर्न नसक्दा पराजित हुने परेको बताए।

‘पहिलो हाफबाट नै हामीले गोलका लागि निकै प्रयास गर्यौं। तर सदुपयोग गर्न नसक्दा सबै खेलमा जित हात पार्दै कीर्तिमान बुन्ने अवसर गुमायौं,’ प्रशिक्षक श्रेष्ठले भने, ‘अघिल्ला खेलमा जस्तो खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्। बढी आत्मविश्वासी पनि देखियौं। सहज सम्झेर खेल्दा पहिलो हाफ यत्तिकै बित्यो। दोस्रो हाफमा केही राम्रा अवसर पाए पनि सदुपयोग भएनन्। अन्तिमतिर दबाब दिन खोजे पनि ढिला भयो।’

यस्तै मनाङका कप्तान विराज महर्जनले अन्तिम खेलको पराजयले टोलीलाई पाठ सिकाएको बताए। ‘खेलमा हामी बढि आत्मविश्वासी देखियौं। सबैले आफ्नो ठाँउबाट राम्रो खेल्यौं। तर केही राम्रा अवसर खेर गए,’ कप्तान महर्जनले भने, ‘कीर्तिमान बनाउने उद्देश्य थियो। तर खेलमा हारको पनि महत्व हुन्छ। किनभने यसले पाठ सिकाउँछ।’

अन्तिम खेलमा पराजित भए पनि यसअघि नै उपाधि विजेता बनेको मनाङले लिगको ट्रफीसँगै नगद ५० लाख रुपैयाँ पुरस्कार जित्यो। यस सिजन उत्कृष्ट प्रदर्शन गर्दै थ्री स्टार र पुलिस जस्ता क्लबलाई हराएको संकटा भने उपविजेता बन्दै नगद ३५ लाख हात प्राप्त गर्यो। यस्तै उपाधि दाबेदार मानिएका थ्री स्टार र आर्मी भने क्रमशः तेस्रो र चौथो भयो।

लिगअन्र्तगत मंगलबारकै अर्को खेलमा तालिकाको पुछारमा रहेको न्युरोड टिम (एनआरटी) र ब्रिगेड ब्वाइज (बिबिसी)ले गोलरहित बराबरी खेल्दै अंक बाँड्दा एनआरटी अंक घटुवाको शिकार बनेको छ। अर्को सिजन हुने लिगमा एनआरटीले माइनस २ अंकबाट लिगको खेल्नुपर्ने भएको छ।

मंगलबार हलचोकमा सम्पन्न खेलपछि बराबरीमा रोकिएको एनआरटी ७ अंक जोड्दै अन्तिममा रहँदा २ अंक घटुवाको क्षेत्रमा परेको हो। यसअघि नै घटुवाको क्षेत्रमा परेको मच्छिन्द्र तालिकाको पुछारबाट दोस्रो स्थानमा अटाउँदा अर्को सिजनमा माइनस १ अंकबाट लिगको सुरुआत गर्नुपर्ने भएको छ। उता बिबिसीले भने तालिकामा एक अंक थप्दै १० अंकसहित लिगको अन्त्य गर्यो। १२औं स्थानमा रहँदै लिगको अन्त्य गरेको बिबिसीले लिगमा चौथो बराबरी खेल्दै लिगको समापन गरेको हो।

बिबिसीले फेयर प्लेको अवार्ड हात पार्न सफल भयो। विधागत उत्कृष्टमा मनाङले तीन, आर्मी र थ्री स्टारले समान एक उत्कृष्ट विधामा पुरस्कार हात पारे। उत्कृष्ट पाँचैले एक–एक थान पल्सर मोटरबाइक हात पार्न सफल भए। मंगलबारका खेलसँगै सहिद स्मारक ‘ए’ डिभिजन लिगको पनि समापन भएको छ। असोज ३ गतेदेखि राउन्ड रोबिन लिगमा सञ्चालन भएको प्रतियोगितामा कुल ९१ खेल भएका थिए।

कसले कति पाए

क्लब                                पुरस्कार रकम
मनाङ (च्याम्पियन)               ५० लाख, शहिद स्मारक ‘ए’ डिभिजन लिग ट्रफी
संकटा (दोस्रो)                       ३५ लाख
थ्री स्टार (तेस्रो)                     २५ लाख
आर्मी (चौथो)                       १५ लाख
एपीएफ (पाँचौ)                     १० लाख
पुलिस (छैटौं)                        ५ लाख

विधागत उत्कृष्ट
उत्कृष्ट विधा      खेलाडी                 क्लब    
गोलकिपर       विशाल श्रेष्ठ          मनाङ मर्स्याङदी
रक्षक             रञ्जित धिमाल       थ्री स्टार
मिडफिल्डर      हेमन गुरुङ            मनाङ मर्स्याङदी
स्ट्राइकर         भरत खबास           त्रिभुवन आर्मी क्लब
प्रशिक्षक         सुमन श्रेष्ठ             मनाङ मर्स्याङदी
मणि विक्रम शाह  स्मृती उदीयमान खेलाडी    विकास खवास    त्रिभुवन आर्मी क्लब

क्रमश, विशाल श्रेष्ठ, सुमन श्रेष्ठ, हेमन गुरुङ, भरत खवास र रञ्जित धिमाल

उदीयमान खेलाडी विकास खवास

प्रकाशित: २५ पुस २०७५ ००:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App