४ वैशाख २०८१ मंगलबार
खेल

अस्ट्रेलियामा भारतलाई ऐतिहासिक शृंखला

सिड्नी – अन्तिम तथा चौथो टेस्ट पनि बराबर भएपछि विराट कोहलीको कप्तानीमा रहेको भारतले पहिलो पटक अस्ट्रेलियाको भूमिमा शृंखला हात पार्दैै इतिहास रचेको छ।

सिड्नी क्रिकेट मैदानमा अन्तिम तथा चौथो टेस्टको पाँचौं दिन पनि वर्षाले प्रभावित भएसँगै भारतले शृंखला २–१ ले आफ्नो बनाउँदै ७१ वर्षको टेस्ट इतिहासमा पहिलो पटक अस्ट्रेलियाको भूमिमा सफलता प्राप्त गरेको हो। सन् १९४७ देखि अस्ट्रेलिया भ्रमण गरेको भारतका लागि ऐतिहासिक जित दिलाउने विराट कोहली पहिलो कप्तानसमेत बने।

यसअघि कुनै पनि भारतीय कप्तानले अस्ट्रेलियाको भूमिमा टेस्ट शृंखला जित्न सकेका छैनन्। भारतले पहिलो टेस्ट ३१ रनले जित निकाल्दा दोस्रो टेस्टमा भने १ सय ४६ रनको हार बेहोरेको थियो। तर, तेस्रो टेस्टमा १ सय ३७ रनको जित निकाल्दै भारतले शृंखलामा २–१ ले अग्रता बनाएको थियो।

चौथो तथा अन्तिम टेस्टमार्पmत अस्ट्रेलियालाई शृंखला बराबरी गर्ने अवसर मिले पनि लगातार वर्षा बाधक बन्दा बराबरीमा टुंगिएको थियो। चौथो टेस्टमै भारतले ३१ वर्षपछि अस्ट्रेलियालाई फलोअनको सामना गर्न बाध्य बनाएसँगै शृंखला पनि जित्दै आफ्ना समर्थकलाई सबैभन्दा ठूला उपहार प्रदान गरेको थियो।

७१ वर्षको टेस्ट इतिहासमा भारतले पहिलो पटक अस्ट्रेलियाको भूमिमा सफलता प्राप्त गरेको हो।

त्यो सफलतासँगै भारतीय कप्तान विराट र अन्य खेलाडीले मैदानमा खुसीयाली मनाएका थिए। ‘१० वर्षमा मैले सबैभन्दा गर्विलो समयको महसुस गर्न पाएँ,’ भारतीय क्रिकेटका  कप्तान कोहलीले भने,‘हामी सबै खेलाडी एकदम खुसी छौं। विशेषत युवा खेलाडीको उत्कृष्ट प्रदर्शनले नै यो सफलता मिलेको हो। पक्कै पनि उनीहरूलाई राष्ट्रले विषेश सम्मान गर्नेछ।’
भारतका प्रशिक्षक रवि शास्त्रीले जितको मुख्य हकदार कप्तान विराटलाई दिँदै शृंखलाका लागि विराटले धेरै मिहिनेत गरेको बताए। ‘कप्तानको रूपमा पाँच वर्षअघि उनले अस्ट्रेलियाको भ्रमण गरेका थिए। जुन अहिले सफलता प्राप्त गरेका छन्,’ प्रशिक्षक शास्त्रीले भने,‘कुनै पनि क्रिकेटरले उनी जति लगाब राखेर टेस्ट क्रिकेट खेल्दैनन्।’

अस्ट्रेलियाका भरपर्दा कप्तान स्टेभन स्मिथ र डेविड वार्नरमाथि लागेको प्रतिबन्धको फाइदा उठाउँदै भारतले ऐतिहासिक सफलता प्राप्त गर्यो। भारतले अन्तिम टेस्टमा उत्कृष्ट ब्याटिङ गर्दा बलिङले साथ दिए पनि वर्षाका कारण जित भने निकाल्न पाएन।

यसअघि चौथो दिन आइतबार वर्षा र खराब प्रकाशले प्रभावित खेलमा अस्ट्रेलिया पहिलो इनिङमा ३ सय रनमा समेटिएपछि भारतले फलोअन दिएको थियो। वर्षाका कारण चार घण्टा ढिला २ सय ३६ रनमा ६ विकेट गुमाउँदै अस्ट्रेलियाले चौथो दिनको खेल सुरु गरेको थियो। भारतले ६ सय २२ रनमा ७ विकेट गुमाउँदा पहिलो इनिङ समाप्तिको घोषणा गर्यो।

सोही योगफललाई पछ्याएको अस्ट्रेलिया पहिलो इनिङको समाप्तिमा ३ सय २२ रनले पछाडि परेसँगै भारतले फलोअन दिने निर्णय लिएको थियो। त्यससँगै अस्ट्रेलिया घरेलु मैदानमा ३० वर्षपछि फलोअन सामना गर्न  बाध्य भयो। यसअघि सन् १९८८ मा इङ्ल्यान्डका कप्तान माइक गेटिङले अस्ट्रेलियालाई सिड्नीमै भएको टेस्टमा फलोअन दिएका थिए।

त्यसपछि अस्ट्रेलियालाई ३० वर्षपछि फलोअल दिने विराट कोहली भारतका पहिलो कप्तान बनेका थिए।  अस्ट्रेलियालाई फलोअन दिन भारतीय बलर कुलदीप यादवले उत्कृष्ट बलिङ गर्दै पाँच विकेट निकालेका थिए। ३१.५ ओभर बलिङ गरेका कुलदीपले ९९ रन खर्चिएका थिए।

मोहम्मद सामी र रवीन्द्र जडेजाले समान दुई विकेट लिँदा जसप्रीत बुमराहले एक विकेट हात पारेका थिए। दोस्रो इनिङमा ब्याटिङ गरेको अस्ट्रेलियाले बिनाविकेट ६ रन मात्र जोडेको छ। उसका ओपनरद्वय मार्कुस ह्यारिस २ र उस्मान ख्वाजा ४ रनमा नटआउट छन्। चिया ब्रेक हुनुअघि मैदानबाट बाहिरिएका मार्कुस र उस्मान खराब प्रकाशका कारण चौथो दिनको बाँकी खेल खेल्न फर्किएनन्। 

जुन पाँचौं दिन पनि वर्षाले प्रभावित गरेपछि खेल बराबरीमा टुंगिएको थियो।  ‘अस्ट्रेलियामा जित निकाल्नु निकै कठिन हुन्छ। त्यसैले कप्तान विराट र प्रशिक्षक शास्त्रीलाई बधाई दिन चाहन्छु,’ अस्टेलियाका कप्तान टिम पाइनेले भने, ‘साख जोगाउने अवसर पाएका थियौं। तर, तेस्रो र चौथो खेलमा निकै खराब प्रदर्शन गरेपछि हार बेहोर्यौं।’

प्रकाशित: २४ पुस २०७५ ००:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App