काठमाडौं – उपाधि दाबेदार मानिएको ललितपुरे टोली थ्री स्टारले आइतबार हिमालयन शेर्पामाथि २–० को जित निकाल्दै तेस्रो स्थान पक्का गरेको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा भएको खेलमा थ्री स्टारका लागि रञ्जन विष्ट र बुद्धराज लिम्बुले समान एक/एक गोल गर्दै टोलीको तेस्रो स्थान पक्का गरे। यससँगै थ्री स्टार रेलिगेसन नहुने लिगमा तेस्रो भएको छ। यसअघि दुई खेलअगावै मनाङ अंक समीकरणबाट विजेता बनिसकेको छ भने संकटाले थ्री स्टारलाई हराउँदै एक खेलअगावै दोस्रो स्थान पक्का गरेको छ। उपाधि लक्ष्यका साथ लिगको सुरुआत गरेको थ्री स्टारका लागि लिगको अन्तिम खेलको २८औं मिनेटमा बुद्धराज लिम्बुले गोल गर्दै टोलीलाई अग्रता दिलाए।
रञ्जनको थ्रो बललाई बुद्धले वन इन वनमा जाली चुमाए। यता सम्मानजनक स्थानका लागि लिगमा सुखद अन्त्य गर्ने लक्ष्यमा रहेको हिमालयन शेर्पाले भने केही राम्रा अवसरलाई सदुपयोग गर्न सकेन। पहिलो हाफमा १–० को नतिजा सुम्पिएको हिमालयन शेर्पाले दोस्रो हाफमा पनि राम्रो खेल्दै गोल फर्काउने प्रयास गरे पनि असफल रह्यो। हिमालयन शेर्पा बराबरी गोल फर्काउन अगाडि बढेको मौकामा खेल सकिन एक मिनेट बाँकी रहँदा रक्षक रञ्जित धिमालले दिएको लामो पासलाई रञ्जनले कुशलतापूर्वक नियन्त्रणमा लिँदै जाली चुमाउँदा थ्री स्टारको विजय निश्चित भएको थियो।
विजयी थ्री स्टारले तालिकामा २६ अंक जोड्दै लिगको समापन गरेको छ। पराजित हिमालयन शेर्पाको १७ अंक भएको छ। हिमालयन शेर्पाले तालिकाको सातौं स्थानमा रहँदै लिगको अन्त्य गरेको छ।
यस्तै लिगअन्तर्गत आइतबारै सम्पन्न अर्को खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले मच्छिन्द्रमाथि ३–० जित निकाल्दै लिगमा चौथो स्थान ओगट्न सफल भएको छ। आर्मी थ्री स्टारभन्दा एक अंकले पछि पर्दै चौथो स्थानमा चित्त बुझाएको हो।थ्री स्टार आइतबार हिमालयन शेर्पासँग पराजित भई त्रिभुवन आर्मीले विजयी नतिजा निकालेको भए ललितपुरे क्लब चौथो र आर्मी तेस्रो हुने थिए।
विभागीय प्रतिद्वन्द्वीलाई ३–० को नतिजा सुम्पिएको मच्छिन्द्र क्लब अंक घटुवा क्षेत्रमा परेको छ। लिगका सबै खेल खेलिसकेको मच्छिन्द्रले तालिकामा ७ अंक मात्र जोडेको हो। मच्छिन्द्र पुछारबाट दोस्रो स्थानमा छ भने एक खेल कम खेलेको न्युरोड टिम (एनआरटी) पुछारमा छ। एनआरटीको ६ अंक छ। एनआरटीले अन्तिम खेल ब्रिगेड ब्वाइजसँग खेल्न बाँकी छ।
हलचोकस्थित एपिएफ क्लबको मैदानमा भएको खेलमा आर्मीलाई जिताउन कप्तान भरत खवासले दुई तथा टंक बस्नेतले एक गोल गरे। आर्मीले २८औं मिनेटमा टंकको गोलबाट अग्रता लिएको थियो। पहिलो हाफमा लिएको अग्रतापछि उच्च मनोबल बनाएको आर्मीले ६२औं मिनेटमा कप्तान भरत खवासको गोलबाट अग्रता दोब्बर पारेको थियो। भरतको कडा प्रहार मच्छिन्द्रका गोलकिपर दीप कार्कीले रोक्न नसक्दा आर्मी २–० ले अगाडि बढेको हो। एकपछि अर्को काउन्टर गरेको आर्मीका लागि कप्तान भरतले ७४औं मिनेटमा टोलीका लागि तेस्रो गोल गरे। मच्छिन्द्रले बाँकी समयमा खेलमा फर्किने प्रयास गरे पनि बलियो आर्मीविरुद्ध चल्न सकेन र ३–० को नतिजा सुम्पिन बाध्य भयो।
लिगमा सोमबार उपविजेता बनिसकेको संकटा र विभागीय टोली एपिएफबीच एन्फा मुख्यालयमा खेल हुँदै छ।
प्रकाशित: २३ पुस २०७५ ०२:४७ सोमबार