६ वैशाख २०८१ बिहीबार
खेल

सन्दीपको टोलीलाई दोस्रो सफलता

काठमाडौं – नेपाली स्पिनर सन्दीप लामिछानेको टिम मेलबर्न स्टार्सले मंगलबार मेलबर्न रेनेगडेसमाथि सात विकेटको जित निकाल्दै बिग ब्यास लिगमा दोस्रो सफलता आत्मसात् गरेको छ।

डर्बी टोली रेनेगडेसविरुद्धको जित निकाल्दै स्टार्स लिगको तेस्रो स्थानमा उक्लिएको छ। लगातार दोस्रो जित निकालेको स्टार्सले ४ खेलमा ४ अंक जोडेको छ। समान ४ खेलमा अपराजित एक मात्र टोली होबर्ट हुरिक्यान्स ८ अंकसहित शीर्ष स्थानमा रहँदा एक खेल बढी खेलेको दोस्रो स्थानको सिड्नी सिक्सर्सले ६ अंक बटुलेको छ।

मेलबर्न क्रिकेट ग्राउन्डमा रेनेगडेसले प्रस्तुत गरेको १ सय ४९ रनको लक्ष्य सन्दीपको टोली स्टार्सले तीन विकेट गुमाउँदै १३ बल बाँकी छँदा पूरा गरेको थियो। स्टार्सको जितमा मार्कुस स्टोनिसले अविजित ७८ रनको योगदान दिए। १८औं ओभरमा बलिङ गर्न आएका केन रिर्चाडसनको पाँचौं बलमा छक्का प्रहार गर्दै स्टोनिसले स्टार्सलाई सानदार जित दिलाएका थिए।

ओपनर स्टोनिसले आक्रामक ब्याटिङ गर्दै ४९ बलमा समान ४ चौका र छक्का प्रहार गरेका थिए। उनले पहिलो विकेटका लागि बेन डंकसँग ६७ रनको साझेदारी गरेका थिए। ७.६ ओभरमा क्यामरुन बोयसको बलमा आउट हुनुअघि डंकले ३२ रन बनाएका थिए। उनको इनिङमा तीन चौका मात्र समावेश थियो।

त्यसपछि ब्याटिङ गर्न आएका निक लार्किन ३ रनमै पवेलियन फर्केपछि सन्दीपको टोली स्टार्सको इनिङ धरमराएको थियो। तर, तेस्रो विकेटका स्टोनिसले कप्तान ग्लेन म्याक्सवेलसँग मिलेर ६५ रनको साझेदारी गर्दै स्टार्सलाई जिततर्फ उन्मुख गराए। यद्यपि, जितनजिक पुगेपछि म्याक्सवेल ३३ रन बनाएर पवेलियन फर्किए।

२२ खेलेको उनको इनिङमा समान एक चौका र छक्का समावेश छ। चौथो नम्बरमा ब्याटिङ गर्न आएका सेब गोच १ रनमा नटआउट रहँदा स्टोनिसले इनिङ सम्हाल्दै १३ बल बाँकी छँदै जित दिलाए। रेनेगडेसको बलिङमा क्यामरुन बोयसले दुई विकेट लिए। किफायती बलिङ गरेका बोयसले चार ओभरमा २३ रन मात्र खर्चिए।

अर्का बलर उस्मान सेनवारीले पनि चार ओभरमा किफायती बलिङ गर्दै २३ रन मात्र खर्चिए पनि विकेट लिन सकेनन्। रेनेगडेसका अन्य बलरमाथि भने स्टार्सका ब्याट्सम्यान हाबी भए। त्यसअघि पहिलो ब्याटिङ गरेको रेनेगडेसले पूरा ओभर खेल्दै ९ विकेटको क्षतिमा १ सय ४८ रन बनाएको थियो।

टोलीका  लागि डेनियल क्रिस्टियनले ३२ रन र साम हार्परले ३० रन बनाउँदा म्याकेन्जी हार्भेले २१ रनको योगदान दिए। स्टार्सका बलर हाबी हुँदा रेनेगडेस मध्यम योगफलमै सीमित भयो। स्टार्सका लागि ड्वाने ब्राभोले ३ विकेट तथा स्कट बोलान्ड र स्टोनिसले समान दुई विकेट निकाल्दै रेनेगडेसको इनिङ ध्वस्त पारेका थिए।

स्पिनरद्वय सन्दीप लामिछाने र एडम जाम्पाले भने समान एक विकेट निकाले। चार ओभर बलिङ गरेका सन्दीपले ३१ रन खर्चिएका थिए। सन्दीपले १०.५ ओभरमा रेनेगडेसका कप्तान टम कुपरलाई १० रनमा क्लिन बोल्ड गरेका थिए।

प्रकाशित: १८ पुस २०७५ ०४:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App