coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

युभेन्ट्सद्वारा रोमा निराश

मिलान(एएफपी)– स्ट्राइकर मारियो मान्ड्जुकिचको निर्णायक गोलमा यु्भेन्ट्सले आइतबार एएस रोमालाई इटालियन सिरी ‘ए’ मा १–० ले निराश पारेको छ।

युभेन्ट्सले सिरी ‘ए’ मा अपराजित यात्रालाई १७ खेलसम्म निरन्तरता दिँदा रोमा भने निरन्तर खराब नतिजाबाट गुज्रिरहेको छ । ३४औं मिनेटमा मान्ड्जुकिचले हेडमा गरेको गोल युभेन्ट्सलाई स्पष्ट ३ अंक दिलाउन पर्याप्त बन्यो।

यस जितसँगै शीर्ष स्थानको युभेन्ट्सले दोस्रो स्थानको नेपोलीसँग अग्रता ८ अंकमा पुर्‍याएको छ । युभेन्ट्सको १७ खेलमा ४९ अंक छ भने समान खेलमा नेपोलीको ४१ अंक छ । नेपोलीले शनिबार एसपिएएललाई १–० ले हराएको थियो । ३३ अंक जोडेको इन्टर मिलान तेस्रो स्थानमा छ भने समान खेलमा २८ अंक जोडेको लाजियो चौथो र २७ अंकका साथ एसी मिलान पाँचाैं स्थानमा छन् । रोमा २४ अंकका साथ १०औं स्थानमा छ । रोमाले सेम्टेम्बरपछि सिरी ‘ए’ मा मात्र २ खेल जितेको छ।

खेलको अन्तिम मिनेटमा गोलकिपर रोबिन ओल्सेनले युभेन्ट्सका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको प्रहार विफल पार्नुका साथै डग्लस कोस्टाले गरेको गोललाई भिडियो सहायक रेफ्री (भिएआर)ले मान्यता नदिएपछि रोमा फराकिलो हारको संकटबाट भने जोगिएको थियो।

‘हामीले एकपछि अर्को उत्कृष्ट नतिजा ल्याइरहेका छाैं । हामी च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गर्यौं, त्यस्तै विन्टर च्याम्पियन पनि बन्न सफल भयाैं,’ युभेन्ट्सका प्रशिक्षक मासिमिलियानो एलेग्रीले भने । सिरी ‘ए’ मा क्रिसमसअघि लिगको शीर्ष स्थानमा बस्ने टोलीलाई विन्टर च्याम्पियन भन्ने गरिन्छ । डिसेम्बर २९ पछि सिरी ‘ए’ ले  साताको विश्राम लिनेछ।

‘हामीले अहिले केही पनि जितिसकेका छैनाैं,’ एलेग्रीले भने, ‘सबैभन्दा महत्वपूर्ण कुरा भनेको डिसेम्बर २९ अघि नेपोलीलाई फराकिलो अन्तरले पछि पार्नु हो ।’ यस सिजन जिनोवासँग मात्र अंक बाँडेको युभेन्ट्सले वर्षको अन्त्यअघि हुने दुई खेलका क्रममा एट्लान्टाको भ्रमण गर्नेछ भने अन्तिम खेलमा साम्पडोरियालाई आतिथ्यता प्रदान गर्नेछ।

प्रकाशित: १० पुस २०७५ ०३:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App