९ मंसिर २०८१ आइतबार
image/svg+xml
खेल

आँसु झार्दै विदा भए शक्ति गौचन

तस्बिर : एन्ड्रियु

काठमाडाैं - नेपाली क्रिकेट टोलिका प्रमुख सदस्य शक्ति गौचनले आफ्नो जीवनको अन्तिम खेल खेलेका छन्। पोखरा राइनोज विरुद्ध एभरेष्ट प्रिमियर लिगमा खेलिएको खेल उनको करियरको अन्तिम खेल बनेको छ। उनले शनिबारको खेलसँगै क्रिकेटका सम्पूर्ण फर्म्याटबाट सन्यास लिएका छन्।

त्रिवि क्रिकेट मैदानमा अन्तिम खेल खेल्दै विदा भएका गौचनले आफुलाई सम्हाल्न नसक्दा खेल मैदानमै अाँसु खसाल्न पुगे। उनी विदा हुँदै गरेको क्षणले उपस्थित सबैलाई भावुक बनाएको थियो। उनी सहभागी टोली पोखरा राइनोज र चितवन टाइगरका खेलाडीले उनलाई काधमा राख्दै मैदान वरपर घुमाएका थिए। सो क्रममा उनले नेपालको झण्डा काधमा बोक्दै अाँसु झार्दै दर्शकलाई अभिवादन गरेका थिए।

१९ वर्षे खेलाडीको जिवनबाट टाढा भएपनि उनले आफु यो क्षेत्रसँग सधै साथ रहने बताएका छन्। शक्तिले अब आफ्नो लक्ष्य नेपाललाई टेष्ट राष्ट्रको मान्यता दिलाउनु रहेको बताए। उनले भने 'हामिले अहिले एक दिवसीय राष्ट्रको मान्यता पाएका छौ, यो ठुलो उपलब्धि हो, अब मेरो सपना र लक्ष्य भनेको नेपाललाई आगामी १० वर्ष भित्रमा टेष्ट राष्ट्रको मान्यता दिलाउनु हो। त्यसको लागि म हरेक क्षेत्रबाट लागि पर्ने छु।' उनले सम्पूर्ण नेपाली क्रिकेट प्रेमिलार्इ धन्यवाद व्यक्त गरे। अन्तिम खेलमा शक्तिले ४ अाेभरमा २५ रन दिए। उनले विकेट भने प्राप्त गर्न सकेनन्।

३४ वर्षीय गाैचनले नेदरल्याण्डस् विरुद्ध जीवनकाे अन्तिम अन्तर्राष्ट्रिय खेल खेलेका थिए। सन् २००२ मा सिंगापुरमा भएको एसीसी ट्रफीमा सिनियर टोलीमा डेब्यू गरेका शक्ति ब्याटिङमा पनि पोख्त खेलाडीको रुपमा चिनिन्छन्। उनले इटालीविरुद्ध २००५ मा भएको विश्वकप छनोटमा १०६ रन बनाएका थिए। शक्ति अन्तर्राष्ट्रिय क्रिकेटमा ह्याट्रिक लिने पहिलो नेपाली खेलाडी पनि हुन। त्यसअघि उनले सन् २००१ मा अन्डर –१७ बाट क्रिकेट करियर सुरु गरेका थिए।  शक्तिले २००२ मा न्युजिल्याण्डमा भएकाे अन्डर नाइन्टिन विश्वकप खेलेका थिए।

शक्तिको जन्म सन् १९८४ अप्रिल २२ मा रुपन्देहीमा भएको थियो। रुपन्देहीमा जन्मिएपनि शक्तिले क्रिकेटको सुरुवात भारतको कोलकाताबाट गरेका थिए। शक्तिले कोलकातामा बुवासँग बस्दा क्रिकेट सिकेका हुन्।  

 

प्रकाशित: २९ मंसिर २०७५ १०:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App