१६ चैत्र २०८० शुक्रबार
खेल

उपाधिमा थाइल्यान्डको वर्चस्व

पुरुष एकल विजेता थाइल्यान्डका कुनलाभूल भितिदसरन (दायाँ) र उपविजेता मलेसियाका टेक झी सो। तस्बिर सौजन्य : राखेप

काठमाडौं – थाइल्यान्डका कुनलाभूत भितिदसरन र चनानचिदा जुचारोइन शनिबार योनेक्स सनराइज नेपाल इन्टरनेसनल सिरिजमा च्याम्पियन भएका छन्।

शनिबार हलचोकस्थित सशस्त्र प्रहरी बलको कभर्डहलमा भएको प्रतियोगिताको पुरुष एकलतर्फ भितिदसरन र महिला एकलमा जुचारोइन च्याम्पियन हुँदै थाइल्यान्डलाई एकलमा दुवै सफलता दिलाए। थाइल्यान्डले एकलसँगै पुरुष डबल्स र मिक्सतर्फ को उपाधिसमेत जित्यो।

पुरुष एकलको फाइनलमा भितिदसरनले मलेसियाका टेक झी सोलाई २०–२२, २२–२० र २१–९ ले हराउँदै उपाधि आफ्नो बनाएका हुन्। महिला एकलतर्फ जुचारोइनले निकै प्रतिस्पर्धात्मक फाइनलमा म्यानमारकी थेट हटारलाई २१–१८, १०–२१ र २१–१७ ले हराउँदै उपाधि आफ्नो बनाइन्।

पुरुष डबल्समा पनि थाइल्यान्डकै सुपक जोमकोह र वाचिरावित सोठोनको जोडीले उपाधि आफ्नो बनायो। सुपक र वाचिरावितको जोडीले फाइनलमा आफ्नै देशका रीत सरापत र पनाचाई वारासाक्तायाननको जोडीलाई २१–११ र २१–१५ ले स्तब्ध बनायो।

महिला डबल्सको उपाधि भने भारतीय जोडी अर्पना बलान र श्रुति केपीले जित्न सफल भए। अर्पना र श्रुतिको जोडीले फाइनलमा दक्षिण एसियाली प्रतिद्वन्द्वी श्रीलंकाकी थिलिनी प्रमोदिका र काविदी सिरिमाननागेलाई २१–१६ र २१–१३ ले पराजित गर्यो।

मिक्स डबल्सको उपाधि पनि थाइल्यान्डका सुपक जोमकोह र सुपिसरा पाइवसामप्रानको जोडीले जित्न सफल भयो। सुपक र सुपिसराको जोडीले फाइनलमा आफ्नै देशका पनाचाई वारासाक्तायानन र पिचायानिन उङ्काको चुनौती १९–२१,२१–१५ र २१–१४ ले पन्छायो।

प्रकाशित: २३ मंसिर २०७५ ०४:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App