२० असार २०७७ शनिबार
खेल

विश्वकपले जगाएको आशा

स्याङ्जामा साहसिक हवाई खेल प्याराग्लाइडिङको ‘फस्ट एक्युरेसी वल्र्डकप’ (पिजिडब्लुसी) १५–१८ कात्तिकमा सम्पन्न भएको छ। गत वर्ष (१५–१८ कात्तिक) सम्पन्न अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रतियोगिताले वल्र्डकप आयोजना गर्ने ढोका खुलेको हो। दुई प्रतियोगिताको सफलतापूर्वक सम्पन्नपश्चात हवाई खेलकुदको इतिहासमा नयाँ आयाम थपेको छ। इतिहास रच्न स्याङ्जाली सफल भएका छन्।

वल्र्डकपले स्याङ्जामा हवाई पर्यटन र हवाई खेलको व्यापक सम्भावना छ, भन्ने सन्देश विश्वलाई दियो। स्याङ्जाले विश्व स्तरीय प्रतियोगिता गर्न सक्छ भन्ने सन्देश विश्वलाई दरोरूपमा दियो। स्याङ्जाको पहिचान विश्वमै ह्वात्तै बढ्यो। हवाई खेलको प्रशस्तरूपमा मार्ग खुलेको छ। हवाई खेल र हवाई पर्यटनसँग सम्बन्धितको मात्र नभई सबैको ध्यान दिनहुँ स्याङ्जा खिँच्ने सफल भएको छ।

स्वरेक महापुर मैदानमा प्याराग्लाइडिङको वल्र्डकप सफलतापूर्वक सञ्चालन भएसँगै संसारभर स्याङ्जा चिनिएको छ। स्वरेकमा ६ वर्ष पहिला सानोबाबु सुनुवारले प्याराग्लाइडिङ उडाएका थिए। उनले चार वर्षदेखि द बाबु एडभेन्चर इन्टरनेसनल स्कुल सञ्चालनमा ल्याएका छन्, जुन दक्षिण एसियाकै पहिलो प्याराग्लाइडिङ प्रशिक्षण केन्द्र हो।

स्याङ्जामा हवाई खेल सञ्चालनका लागि आफ्नै ‘एभिसन स्पोर्टस जोन’ अर्थात् आकाशे रंगशाला छ। यो आँधीखोला भ्यालीमा पर्छ। यो नेपालको मात्र होइन, दक्षिण एसियाकै एक मात्र र पहिलो हो। प्राविधिक हिसाबले पनि विश्वकै उत्कृष्ट रंगशाला हो। स्याङ्जामा आकाशे रंगशालाको जग गत वर्ष आयोजित अन्तर्राष्ट्रिय प्रतियोगिताले बसालेको हो। वल्र्डकपले त्यसलाई संस्थागत ग-यो। नेपाल सरकारलाई आकाशे रंगशाला घोषण गर्न बाध्य बनायो। यसको सही प्रवद्र्धन, प्रचार–प्रसार र सदुपयोग गर्न सकेमा राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण भूमिका हुनेछ। प्रचार–प्रसार गर्न सकियो भने हवाई खेलाडी मात्र नभई देशी तथा विदेशी पर्यटको घुइँचो स्वरेक, खिलुङ, मन्साङकोट र यसका आसपासको क्षेत्रमा लाग्नसक्छ।

प्याराग्लाइडिङसँगै स्याङ्जालीसँग ठूलो अवसर र चुनौती छ। अतिथि देवो भवः संस्कार पहिलो आवश्यकता हो। पाहुनालाई स्वागत सत्कारमा एकदम ध्यान दिनुपर्छ। ग्रामीण बस्तीका कारण ठुला–ठुला होटेल, लज, रेस्टुरेन्ट बन्ने सम्भावना तत्काल छैन। यसैले ग्रामीण भेगका बस्तीमा घरबास कार्यक्रमको अवधारणा स्याङ्जाली गरिहाल्नुपर्ने काम हो। स्याङ्जामा आउने विदेशी पाहुनाहरू विशेषगरी साहसिक पर्यटक हुन्छन्। उनीहरूलाई दिइने अतिथ्यता होमस्टेमा बाहेक अन्य ठाउँमा विरलै हुन्छ। होमस्टेहरू पनि फरक–फरक स्वाद दिने खालको हुन जरुरी छ।  सुन्तलाबारी होमस्टे, पित्लेक अर्गानिक होमस्टे जस्तै अब बन्ने होमस्टेको पहिचान र परिचय ठोस हुनुपर्छ। स्याङ्जा जनजातिको बसोबास भएको जिल्ला भएकाले साँस्कृतिक होमस्टे, भाषा–भाषी होमस्टे, लिपि होमस्टे आदि सञ्चालनमा ल्याउन सक्नुपर्छ।  

आकाशे रंगशाला खेलकुद क्षेत्रमा नयाँ नाम हो। यसको औपचारिक घोषणा गरिएको छैन। तर, मन्त्रिपरिषद्ले निर्णय गरिसकेको छ। रंगशाला बन्ने निर्णयले स्याङ्जाली खुसी छन् नै, त्यतिकै त्यसको संरक्षण, सम्बर्धन, प्रचार–प्रसार जिम्मेवारी पनि थपिएको छ।

वालिङ नगरपालिका प्रमुख दीलिपप्रताप खाँणका अनुसार आकाशे रंगशाला सञ्चालन, हवाई खेल, हवाई पर्यटनका लागि संघीय सरकारले प्रदेश तथा स्थानीय सरकारको संलग्नतामा प्रष्ट कार्यविधि ल्याउनुपर्ने बताउँछन्। उनले भने, ‘राज्यको मुख्य नारा समृद्धिको हो। समृद्धिको मुख्य हिस्सेदार पर्यटन हो। त्यसमा अझै साहसिक पर्यटन।’

हवाई खेल र हवाई पर्यटनको माध्यमबाट पर्यटनका विभिन्न आयाम सञ्चालन हुन सक्ने उनको दाबी छ। ‘जिल्लाको पहिचान प्याराग्लाइडिङ हो,’ उनले भने, ‘जिल्लामा पर्यटन भिœयाउने माध्यम प्याराग्लाइडिङ हो।’

विश्वमै उत्कृष्ट गन्तव्यका रूपमा लिइएको स्वरेक महापुर मैदान भिरकोट नगरपालिका–५ मा पर्छ। महापुर मैदान प्याराग्लाइडिङका लागि मात्र होइन, अन्य पर्यटकीय गन्तव्य बन्न सक्ने सम्भावना प्रचुर छ। स्वरेकको टाकुरामा रहेका धानको फाँटले जुम्ला सम्झाउँछ। खेतका फलेका पहेँलपुर धानले जुम्लाको मार्सी चामलको याद पूरा गराउँछ। समुद्री सतहदेखि करिब १६ सय मिटर उचाईमा रहेको महापुर मैदानमा कृत्रिम ताल बनाउन सकिन्छ। मैदान वरपरका बस्ती सिरकोट, छापा, ओकादी लगायतका बस्तीमा घरबास कार्यक्रम बनाउन पर्छ। स्वरेक मैदानलाई विश्वकै उत्कृष्ट गन्तव्य बनाउन आफूहरू दिनरात लागिपरेको भिरकोट नगरपालिका प्रमुख छायाँराम खनाल बताउँछन्। नगरपालिकाको मात्र नभएर सिंगो मुलुकको पहिचान स्वरेक मैदान भइसकेको अवस्थामा संरक्षण, सम्बर्धन र लगानी प्रदेश सरकार र संघीय सरकारको हुनुपर्ने उनको माग छ। उनले भने, ‘स्थानीय सरकारको लगानीले सम्भव छैन। प्रदेश र संघीय सरकारको लगानी हुनुपर्छ।’

‘समृद्ध नेपाल र सुखी नेपाली’ अभियानका लागि साहसिक पर्यटनमा लगानी गर्नु आवश्यकता रहेको उनी बताउँछन्। ‘राज्यले गरेको लगानीको संरक्षण गर्ने दायित्व स्थानीय सरकार र स्थानीय जनताको हो,’ उनले भने, ‘राज्यले लगानी गरोस्, स्थानीय तह संरक्षणको सारथि बन्नेछ।’

नेपालको सन्दर्भमा हवाई खेल अत्यन्त सम्भावित खेल हो। प्रकृतिले अदभूत पहाडहरू दिएको छ। साहसिक खेलका लागि नेपाल विश्वकै उत्कृष्ट गन्तव्य हो। विशेषगरी प्याराग्लाइडिङका लागि अत्यन्त उपयुक्त मानिन्छ। प्याराग्लाइडिङ नेपालको पहाडी क्षेत्र र हिमाली क्षेत्रमा जुनसुकै ठाँउबाट पनि गर्न सकिन्छ। ठूला पूर्वाधार आवश्यकता नपर्ने भएकाले यसको प्रसार–प्रसार मात्र गर्न सके साहसिक पर्यटनमा प्याराग्लाइडिङको सम्भावना अथाह छ।

जिल्ला पर्यटन समिति स्याङ्जाका पूर्वउपाध्यक्ष अनन्तकुमार श्रेष्ठले प्याराग्लाइडिङका लागि हिमाली र पहाडी भेकका बासिन्दाले अधिकत्तम फाइदा लिन सक्ने दाबी गर्छन्। ‘लागत कम आम्दानी बढी हुन्छ,’ उनले भने, ‘ग्रामीण भेगका जनस्तरलाई माथि ल्याउन डाँडाकाँडामा प्याराग्लाइडिङको सम्भावना खोजी गर्नु अपरिहार्य छ।’

प्याराग्लाइडिङ क्षेत्रको वृद्धि र विकास गर्न सकेमा विश्व स्तरका खेलाडी नेपालमै उत्पादन हुने उनको दाबी छ। खेल्न र मनोरञ्जनका लागि मात्र नभएर खेलाडीहरूको उत्पादन नेपालमै हुन सक्ने भएकाले सरकारले साहसिक खेल सम्बन्धी स्पष्ट ऐन, नियम, कार्यविधि ल्याउने पर्ने उनको भनाई छ। उनले भने, ‘गत वर्ष र यस वर्षको प्रतियोगिताले साहसिक खेलतर्फ युवाहरूको आकर्षण बढ्दो छ। नेपाल सरकारले उच्च प्राथमिकतामा राखेर अगाडी बढ्यो भने विश्व स्तरमै गोल्ड मेडल ल्याउने खेलाडी यही उत्पादन हुन्छ।’ खेलाडीले जितेको पदकले देशको पहिचान गराउने उनको दाबी छ।

स्वरेकमा ६ वर्ष पहिला सानोबाबु सुनुवारले प्याराग्लाइडिङ उडाएका हुन्। चार वर्षदेखि द बाबु एडभेन्चर इन्टरनेसनल स्कुल सञ्चालनमा ल्याएका छन्। स्कुल दक्षिण एसियाकै पहिलो प्याराग्लाइडिङ प्रशिक्षण केन्द्र अर्थात् स्कुल हो। स्कुलबाट उत्पादित पाइलटहरूको बाबु एड्भेन्चर क्लब छ। जसको नेतृत्व कृष्णजंग केसीले गरिरहेका छन्। स्वरेकलाई स्वर्गको टुक्राका रूपमा लिन्छन्, सुुनुवार। उनी भन्छन्, ‘विश्वका दर्जनौं मुलुकहरु घुमे। नेपाल स्वर्ग हो, त्यसमा स्वरेक महापुर मैदान।’

स्वरेक महापुर मैदानले आफुलाई सानोबाबु सुनुवार भनेर पहिचान गराएको उनले बताए। सुरुका दिनमा ग्लाइडर बोकेर हिँड्दा आश्चार्य मान्नेहरू आज साहसिक खेल प्याराग्लाइडिङको पक्षमा वकालत गर्नु नै आफ्नो सफलता ठान्छन्, उनी। आफू र प्याराग्लाइडिङलाई स्याङ्जालीले दिएको माया नै अन्तर्राष्ट्रिय प्रतियोगिता र वल्र्डकप भएको उनी सुनाउँछन्।

‘सानोबाबुलाई ठुलोबाबु बनाउनुभयो। संसारले चिन्ने अवसर मिल्यो,’ उनले भने, ‘प्याराग्लाइडिङमा स्याङ्जाका लागि अझै गर्नुछ।’ स्याङ्जाको स्वरेक महापुर मैदानबाट सुरु भएको उनको यात्रा साहसिक खेल प्याराग्लाइडिङमा स्वर्णिम अक्षरमा लेखिसकेका छन्। स्याङ्जालाई विश्वकै उत्कृष्ट प्याराग्लाइडिङको गन्तव्य, हवाई खेल र हवाई पर्यटनको हब बनाएर छाड्ने उनको संकल्प छ। उनले थपे, ‘स्याङ्जालाई विश्वले चिनिसकेको छ। यहाँको सम्भावनाको प्रचार, संरक्षण र सम्बद्र्धन गर्नु हाम्रो दायित्व हो।

क्लब अध्यक्ष केसीले स्वरेकलाई प्याराग्लाइडिङको गन्तव्य बनाउन भौतिक संरचना निर्माण गर्नुपर्नेमा जोड दिएका छन्। ‘गन्तव्यसम्म पुग्नका लागि सडक सञ्जालको आवश्यक छ,’ केसीले भने, ‘वालिङ र भिरकोटले स्वरेक जोड्ने सडक सञ्जाललाई उच्च प्राथमिकता राख्नुपर्छ।’

विकासको पहिलो खुड्किलो भनेको सडक भएकाले स्वरेक पुग्न अझै पनि सडकको समास्या रहेको उनले बताए। उनले भने, ‘बर्खामा हिलो, हिउँदमा धुलो हुन्छ। कसरी जान्छन्, पुग्छन् पर्यटक त्यहाँ ?’

नेपाल सरकारले स्वरेकलाई पर्यटकीय गन्तव्यका रुपमा घोषणा गरेको अवस्थामा त्यहाँ पुग्न सडक सञ्जाल व्यवस्थित हुन जरुरी देखिन्छ।

स्वरेक महापुर मैदानको चर्चा त्यसै चुलिएको होइन। धेरैको मेहनत, पसिना, त्याग र समर्पण छ। सानोबाबु सुनुवार, बुद्धि लामिछाने, अनन्तकुमार श्रेष्ठ, कृष्णजंग केसी, वडा अध्यक्ष लक्ष्मण अधिकारी, भिरकोट नगरपालिका र वालिङ नगरपालिकाको ठूलो लगानी छ। सुनुवारबाट स्याङ्जामा प्याराग्लाइडिङको आन्दोलन सुरु भएको हो। आज त्यसलाई संस्थागत गर्न भिरकोट नगरपालिका र वालिङ नगरपालिकाको भूमिका प्रशंसनीय छ।

राज्यले खेलकुद क्षेत्रमा छुट्टयाएको बजेट प्रशासनिक खर्च जस्तै छ। खेलाडी र पूर्वाधारलाई खासै प्राथमिकता राखेको छैन। बजेटको संरचना परिवर्तन गर्न जरुरी छ। स्थानीय, प्रदेश र संघीय सरकारले खेलकुद क्षेत्रमा छुट्टै बजेट व्यवस्था गर्न जरुरी छ। स्थानीय सरकार र प्रदेश सरकारको सहभागितामा संघीय सरकारले खेलकुदमा प्रशस्त बजेट छुट्टयाउन जरुरी छ। जसले खेलकुद क्षेत्रमा लागेका युवा र नयाँ पुस्ताले खेलकुदलाई भविष्यको रुपमा लिइयोस, हेरोस्।

खेलकुद क्षेत्रको ऐन, नियम, कार्यविधि स्पष्ट छैन। जसले गर्दा खेल क्षेत्र र खेलाडीको वृद्धि विकास हुन नसकेको प्रशस्त प्रमाणहरू छन्। स्थानीय स्तरदेखि खेलकुदको विभिन्न निकाय गठन गरी, राष्ट्रिय खेलकुद परिषद, युवा तथा खेलकुद मन्त्रालय र नेपाल सरकारले खेलकुद क्षेत्रका लागि स्पष्ट कार्यदिशा निर्माण गर्नु आजको आवश्यकता हो। नेपाली खेलाडीसँग अन्तर्राष्ट्रिय अनुभव विरलै छ÷हुन्छ। अवसर पाए नेपालीले जे पनि गर्न सक्छन् भन्ने उदाहरण छन्। तर, अवसर राज्यले सिर्जना गर्ने हो। खेलाडीलाई अनुभव र आत्मबल राज्यले नै दिने हो। खेलाडीलाई हामी गर्न सक्छौं भन्ने आत्मबल बढाउने हो। विदेशी प्रविधि र सीप सिक्न जरुरी छ। जस्ले राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा भाग लिन सजिलो हुन्छ। मनोवैज्ञानिक रूपमा खेलाडी तयारी हुन्छ।

प्रकाशित: ८ मंसिर २०७५ ०९:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App