coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

पाकिस्तानको माग अस्वीकार

दुबई – दुईपक्षीय शृंखलाको सम्झौता भंग गरेबापत पाकिस्तानले भारतसँग माग गरेको क्षतिपूर्ति मंगलबार अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले अस्वीकार गरेको छ।

‘शृंखला आयोजना गर्न मौखिक र लिखित रूपमा आएको पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) को माग खारेज भएको छ,’ आइसिसीले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ‘अपिल स्वीकार्य भएन, ’ आइसिसीले विज्ञप्तिमा भनेको छ।

यसअघि पाकिस्तान र भारतबीच २०१५ देखि २०२३ सम्म छ दुईपक्षीय शृंखला आयोजना गर्न सम्झौता भएको थियो । जसमा पाकिस्तान चार प्रतियोगिता आयोजना गर्न सहमत भएको थियो । तर प्रस्तावलाई भारतले अस्वीकार गरेको थियो।

पिसिबीले यसबापत ७ करोड अमेरिकी डलर क्षतिपूर्ति माग गरेको हो । पाकिस्तानी सरकारसँगको तिक्तताका कारण भारतले पाकिस्तानसँग शृंखला नखेल्ने जनाएको थियो । सम्झौतामा ६ भ्रमणको क्रममा १४ टेस्ट, ३० एकदिवसीय र १२ ट्वान्टी–२० प्रतियोगिता हुने उल्लेख भएको थियो।

सम्झौताले पाकिस्तानलाई आइसिसीमा  भारत, अस्ट्रेलिया र इङ्ल्यान्ड जस्तै वर्चस्व कायम गर्न मद्दत पुग्ने आकलन गरिएको थियो । तर भारतले शृंखला भंग गरेपछि पाकिस्तानको विश्व क्रिकेटमा पुनरागमन गर्ने योजना असफल बनेको हो।

२००८ मा भएको मुम्बई हमलापछि भारतले पाकिस्तानसँगको शृंखला अस्वीकार गर्दै आएको छ । २००८ मा भएको मुम्बई हमलामा १ सय ६० भन्दा बढी सर्वसाधारणको ज्यान गएको थियो । २००७ मा पाकिस्तानले भारत भ्रमण गरेयता यी दुई टोलीले कुनै पनि दुईपक्षीय पूरा शृंखला खेलेका छैनन्।

२०१२ को डिसेम्बरदेखि २०१३ को जनवरीसम्म पाकिस्तानले भारतको भ्रमण गर्दै दुई ट्वान्टी–२० र तीन एकदिवसीय खेल खेलेको थियो । त्यसयता यी दुई टोलीबीच कुनै पनि पूरा शृंखला सम्पन्न हुन सकेको छैन।

प्रकाशित: ५ मंसिर २०७५ ०४:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App